कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बेलायतले किन गर्दै छ विदेशी विद्यार्थीलाई कडाइ ?

लन्डन — बेलायत सरकारले विदेशी विद्यार्थीलाई पुनः कडाइ गर्ने भएको छ । बेलायती गृहमन्त्री सुएला ब्रेभरम्यानले केही दिनअघि विद्यार्थीका लागि अध्यागमन सुधारसम्बन्धी अनुदार नीति प्रस्ताव गरेकी हुन् । 

बेलायतले किन गर्दै छ विदेशी विद्यार्थीलाई कडाइ ?

बेलायती पत्रिका ‘द टाइम्स’ का अनुसार होम सेक्रेटरीले डिग्री पूरा गर्ने विदेशी विद्यार्थीले पाउँदै आएको ‘पोस्ट स्टडी वर्क’ को अवधि अहिले कायम रहेको दुई वर्षबाट घटाएर ६ महिनामा ल्याउने प्रस्ताव गरेकी छन् । पढाइ पूरा भएको छ महिनाभित्र कुनै लाइसेन्सबाहक कम्पनीबाट स्पोन्सरसिप नपाएको अवस्थामा विद्यार्थीहरू आफ्नै मुलुक फर्किनुपर्नेछ ।

त्यस्तै, अध्ययनका लागि आउने विद्यार्थीले आफ्ना ‘डिपेन्डेन्ट’ बेलायत ल्याउन सक्ने सुविधामा पनि कडाइ गर्ने नीति गृहमन्त्रीको नयाँ प्रस्तावमा समावेश छ । प्रस्तावित नीतिअनुसार रिसर्च बेस्ड पोस्ट ग्य्राजुएट कोर्समा आउने विद्यार्थीले मात्रै डिपेन्डेन्ट ल्याउन पाउनेछन् । विद्यावारिधि वा कम्तीमा दुईवर्षे अवधिको रिसर्च बेस्ड पोस्ट ग्य्राजुएट कोर्समा आउने विद्यार्थीबाहेक अरूले डिपेन्डेन्ट सुविधा पाउने छैनन् ।

छोटो अवधिको कोर्समा आउने विद्यार्थीले पनि डिपेन्डेन्ट ल्याउने सुविधाका कारण अध्यागमन दुरुपयोग भएको ठहर सरकारको छ । गृह मन्त्रालयले अहिले शिक्षा मन्त्रालयसँगको समन्वयमा नयाँ नीति कार्यान्वयनमा लैजाने तयारी गरिरहेको छ । तर, पोस्ट स्टडी वर्कको अवधि घटाउँदा विदेशी विद्यार्थीमाझ रहँदै आएको बेलायतप्रतिको आकर्षण घट्न सक्ने भन्दै शिक्षा मन्त्रालय भने नीति परिवर्तनको विपक्षमा रहेको जनाइएको छ । प्रधानमन्त्री ऋषि सुनकको सरकार भने विदेशी विद्यार्थीको संख्या घटाउने रणनीतिमा दृढ रहेको बताइन्छ । बेलायत सरकारले सन् २०३० सम्म मात्रै विदेशी विद्यार्थीको संख्या ६ लाख पुर्‍याउने लक्ष्य राखेकोमा गत वर्ष नै त्यो संख्या ६ लाख ८० हजार पुगेको सरकारी तथ्यांकले देखाएको छ ।

बेलायत सरकारले झन्डै १० वर्षअघि पनि दुईवर्षे पोस्ट स्टडी वर्क सुविधा हटाएको थियो । जसका कारण त्यसपछिका कैयौं वर्ष बेलायतप्रति विदेशी विद्यार्थीको आकर्षण ह्वात्तै घटेको थियो । तर सन् २०२१ मा यो सुविधा पुनः ल्याइएपछि संसारभरबाट विद्यार्थीहरू बेलायत आउने क्रम उल्लेख्य रूपमा बढेको छ ।

पछिल्लो समय नेपालबाट पनि हजारौं विद्यार्थी अध्ययनका लागि बेलायत आइरहेका छन् । नेपालका विद्यार्थी एकै पटक ओइरिँदा उनीहरूलाई काम र बस्ने कोठासमेत सहजै पाउन सकस भएको छ । गृहमन्त्रीको प्रस्तावअनुसार पोस्ट स्टडी वर्कको अवधि ६ महिनामा घटाइने र डिपेन्डेन्टमा पनि कडाइ गरिने हो भने त्यसको सिधा असर नेपाली विद्यार्थीमा पनि पर्ने एक कन्सल्टेन्ट बताउँछन् । गृहमन्त्रीले प्रस्ताव गरेको नयाँ नीति कहिलेबाट कार्यान्वयन गर्ने सरकारको लक्ष्य छ भन्ने बताइएको छैन ।

प्रकाशित : माघ १५, २०७९ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?