अस्ट्रेलियामा रेडियोधर्मी पदार्थ राखिएको क्याप्सुल हरायो- विश्व - कान्तिपुर समाचार

अस्ट्रेलियामा रेडियोधर्मी पदार्थ राखिएको क्याप्सुल हरायो

कान्तिपुर संवाददाता

काठमाडौँ — अस्ट्रेलियामा रेडियोधर्मी पदार्थ रेडियोएक्टिभ सिजियम-१३७ ले भरिएको एउटा क्याप्सुल हराएको छ । अग्नि नियन्त्रण तथा आपत्कालीन सेवा पश्चिमी अस्ट्रेलिया राज्यका अनुसार एक ठाउँबाट अर्को ठाउँमा लैजाने क्रममा न्युम्यान र पर्थबीचको ठाउँमा क्याप्सुल हराएको हो ।

विशेषगरी रेडियोएक्टिभ सिजियम-१३७ खननका लागि प्रयोग हुन्छ ।

गत जनवरी १० मा उक्त क्याप्सुल प्याक गरिएको र पर्थमा मर्मतका लागि लैजाने क्रममा हराएको अधिकारीहरूले जनाएका छन् । सडकबाट लैजाने क्रममा ११ जनवरी र १४ जनवरीको बीचमा उक्त क्याप्सुल हराएको बताइएको छ । उक्त क्याप्सुलको लम्बाइ ८ मिलिमिटर र चौडाइ ६ मिलिमिटर रहेको छ ।

अधिकारीहरूले उक्त क्याप्सुल कसैले छोएमा क्यान्सर र जलनको सम्भावना हुने भन्दै नछुन चेतावनी दिएका छन् । त्यस्तै उक्त क्याप्सुल कसैले देखेमा तत्काल अधिकारीहरूलाई खबर गर्न पनि उनीहरूले आग्रह गरेका छन् ।

प्रकाशित : माघ १४, २०७९ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रपति भण्डारीमा दलगत गन्ध धेरै आयो : बिडारी

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभाका पूर्वसांसद एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले राष्ट्रिय सहमतिमा नै राष्ट्रपति बनाउनुपर्ने बताएका छन् । काठमाडौंमा शनिबार भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रियामा उनले राष्ट्रपति पद एकता, संघीयता र गणतन्त्रकै प्रतीक भएकाले सबैको सहमतिमा राष्ट्रपति बनाउन सक्ने वातावरण बनाउनुपर्ने बताएका हुन् ।

राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाए अहिले झेल्नुपरेका समस्याहरुबाट मुक्ति मिल्ने उनको भनाइ थियो ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारी दलगत गन्ध धेरै आएको आरोप लगाए । उनले राष्ट्रपति भण्डारी राष्ट्रपति बनेर भन्दा पनि दलको प्रभावमा परेर काम गरेको आरोप लगाए । उनले राष्ट्रपति पद पहिला फालेको जस्तो पद भए पनि पछिल्ला घटनाक्रमले राष्ट्रपतीय पद्धतिलाई परिमार्जन गर्नका निम्ति विद्वत् वर्गले सुझाव दिनुपर्ने आवश्यकता देखिएको बताए ।

उनले राष्ट्रपति निर्वाचनमा गोप्य चुनाव किन हुनुपर्‍यो भन्दै प्रश्नसमेत गरे । उनले भने, ‘राष्ट्रपति निर्वाचनको बारेमा गोप्य चुनाव किन गराए, भोट हाल्ने जनताका प्रतिनिधिले, माननीयहरुले ? तर त्यसको चुनावचाहिँ गोप्य, यसको अर्थ त ह्वीप लाग्दैन भनेको हो नि ! ह्वीप नलाग्ने प्रकारको यो चुनाव हो । राष्ट्रपतिको चुनावमा ह्वीप नलाग्ने कुरामा अभ्यास गर्नुपर्छ ।'

प्रकाशित : माघ १४, २०७९ १६:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×