पाकिस्तानी रुपैयाँ इतिहासकै कमजोर- विश्व - कान्तिपुर समाचार

पाकिस्तानी रुपैयाँ इतिहासकै कमजोर

१ डलरको मूल्य २६४ पाकिस्तानी रुपैयाँ
कान्तिपुर संवाददाता

काठमाडौँ — पाकिस्तानी मुद्रा इतिहासकै कमजोर भएको छ । बिहीबार पाकिस्तानी बजारमा अमेरिकी डलरको तुलनामा इतिहासकै कमजोर सावित भएको पाकिस्तानी रुपैयाँको मूल्यमा शुक्रबार झन् गिरावट आएको छ ।

शुक्रबार स्थानीय समयअनुसार बिहान साढे १० बजे १ डलरको सटही दर २६४ रुपैयाँ पुगेको छ । बिहीबारको तुलनामा शुक्रबार पाकिस्तानी मुद्राको मूल्यमा ३.३६ प्रतिशतले गिरावट आएको हो ।

बिहीबार पाकिस्तानमा डलरको मूल्य २५५ रुपैयाँ पुगेको थियो जुन सन् १९९९ मा नयाँ सटही दर प्रणाली लागू भएपछिको सबैभन्दा कमजोर सावित भएको हो ।

बढ्दो महँगी र वैदेशिक मुद्राको सञ्चितिमा कमी भएकाले अमेरिकी डलरको तुलनामा पाकिस्तानी मुद्रा निकै कमजोर बनेको हो । विदेशी मुद्राको सञ्चिति कम भएपछि र डलर बलियो हुन थालेपछि एक्सचेन्ज कम्पनिज एसोसियसन अफ पाकिस्तानले डलरको भाउ स्थिर राख्ने प्रयास गरेको थियो ।

सरकारले पनि बजारमा देखिएको अराजकता नियन्त्रणका लागि भन्दै अन्तरबैंक दर स्थिर राखेको थियो । एक्सचेन्ज कम्पनीले कालोबजारी, अन्तरबैंक र खुलाबजारमा देखिएको भाउको अन्तर अन्त्य गर्ने आफूहरूको उद्देश्य भएको जनाएका थिए । पाकिस्तानी अर्थमन्त्री इसहाक डारले नियुक्तिलगत्तै डलरको मूल्य २०० रुपैयाँभन्दा नबढ्ने दाबी गरेका थिए ।

प्रकाशित : माघ १३, २०७९ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्

सवारी साधन लिलाम नहुँदा कवाड बन्दै

कमल पन्थी

बर्दिया — भन्सार कार्यालय बर्दियामा करिब ६ वर्षदेखि विभिन्न समयमा बरामद गरेर राखिएका सवारी साधनको लिलाम प्रक्रिया अघि बढ्न सकेको छैन । चोरी लगायतका ती सवारी साधन लिलाम नहुँदा कवाड बन्दै गएका छन् ।

करोडौं मूल्यका सवारी साधन लिलाम गर्न भन्सार कार्यालयले वास्ता नगरेका कारण पानी, शीत र घामले तिनमा खिया परिसकेका छन् । समयमै लिलाम नहुँदा अधिकांश सवारी साधनका टायर समेत क्षति भएको छ । तत्कालै लिलाम गरिनु पर्ने खाद्य पदार्थ लामो समय सम्म राख्दा कुहिएको भन्सारका कर्मचारीले बताए ।

भन्सार कार्यालयमा अधिकृतको दरबन्दी छ । बर्दियामा कार्यालय प्रमुख प्रविण सुब्बा लिम्बू भएपनि भन्सार कार्यालय, नेपालगन्ज बस्ने गर्छन् । भन्सार कार्यालय कर्मचारीका अनुसार दुई वटा कार्यालयका जिम्मा पाएका सुब्बा लिम्बू यहाँ आवश्यक काम बाहेक आउँदैनन् । ‘कहिले आउनु हुन्छ हाकिम सा’प,’ ती कर्मचारीले भने, ‘मुद्दा लगायतका काममा असर परेको छ ।’

बर्दिया भन्सार कार्यालयमा बरामद गरिएको एक ट्रक, एक ट्याक्टर, एक जिप, सात वटा अटो रिक्सा र १ सय १४ वटा मोटरसाइकल गरी १ सय २४ थान सवारी साधन लिलाम हुन सकेको छैन । अवैधरुपमा सञ्चालित ती सवारी साधन बरामद गरेको वर्षौं भएको र समयमा लिलाम हुन नसक्दा कवाड बन्दै गएका छन् । ती सवारी साधन कवाडमा जाने निश्चित भएको निमित्त कार्यालय प्रमुख रवीन्द्र विकले बताए । वर्षौंदेखि लिलाम नभइ थन्किएको सवारी साधन स्वतः मूल्य घट्ने र कवाडमा जान्छ,’ उनले भने, ‘लिलाम प्रक्रिया यसअघि पनि गरेपनि हुन सकेको छैन ।’ मल र खाद्यान्न समेत बरामद गरिएपनि लिलाम नहुँदा डल्लो परेको छ ।

दरबन्दी अनुसार नायब सुब्बाको दरबन्दी ८ जना भएपनि एक जना मात्र रहेको निमित्त प्रमुख विकले बताए । उनका अनुसार खरिदार र मुखियाको दरबन्दी छैन । कार्यालय सहयोगी १० मध्ये ५ रहेका छन् । लेखापाल र कम्प्युटरको दरबन्दी १/१ जना र सवारी चालक एक जना रहेका छन् । तीमध्ये एक जना पनि छैनन् । लेखापालको काम बेला बेलामा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट कर्मचारी आएर गरिदिने गरेको निमित्त प्रमुख विकले जनाए । सरुवा भएका कर्मचारी पनि यहाँ आउन मान्दैनन् । राम्रो ठाउँ जहाँ राम्रो कमाइ हुन्छ त्यही पावर लगाएर पहुँचवाला कर्मचारी जाने गरेको कर्मचारीहरु बताउँछन् ।

प्रकाशित : माघ १३, २०७९ ११:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×