३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

भारतले मनायो ७४ औं गणतन्त्र दिवस

नयाँदिल्ली — भारतले ७४ औं गणतन्त्र दिवस मनाएको छ । दिवसका अवसरमा नयाँ दिल्लीमा बिहीबार राष्ट्रपति भवनदेखि इन्डिया गेटसम्मको कर्तव्य पथमा सैन्य हतियार तथा विभिन्न प्रान्तको धर्म, संस्कृति झल्किने झाँकी प्रदर्शन गरियो । बिहान अढाई घण्टासम्म परेड र झाँकीसमेत देखाइएको थियो । 

भारतले मनायो ७४ औं गणतन्त्र दिवस

यस पटक भारतले इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सीसीलाई गणतन्त्र दिवसको प्रमुख अतिथि बनाएको थियो ।

कार्यक्रममा राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदीसहित मन्त्री, विशिष्ट व्यक्ति, विदेशी नियोगका प्रमुखको सहभागिता थियो । १५ अगस्ट १९४७ मा अंग्रेजबाट स्वतन्त्र भएको भारतले २६ जनवरी १९५० मा संविधान जारी गरेको थियो ।

यसैगरी काठमाडौंस्थित भारतीय दूतावासले बिहीबार ७४ औं गणतन्त्र दिवस मनाएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले झन्डोत्तोलन गरेर गणतन्त्र दिवस कार्यक्रम सुरु गरेका थिए । कार्यक्रममा श्रीवास्तवले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन पढेर सुनाएका थिए ।

राष्ट्रपति मुर्मूले विश्वव्यापी आर्थिक अनिश्चितताका बाबजुद गान्धीको ‘सर्वोदय’ वा ‘सबैको उत्थान’ को आदर्शलाई हासिल गर्न भारतले आर्थिक क्षेत्रमा गरेको उत्साहजनक प्रगतिको चर्चा गरेकी थिइन् । कार्यक्रममा राजदूत श्रीवास्तवले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई ४ करोड ६० लाख रुपैयाँ तथा कम्बल वितरण गरी सम्मान गरेका थिए ।

गणतन्त्र दिवसको अवसरमा दूतावासले २३ संस्थालाई १६ लाख बराबरको पुस्तक वितरण गर्ने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : माघ १३, २०७९ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?