ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्टको निलम्बन हटाउने मेटाको घोषणा

एजेन्सी

काठमाडौँ — सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद् भवनमा भएको हुलदङ्गा उक्साउन प्रयोग भएको भन्दै अनिश्चितकालका लागि निलम्बन गरिएका पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका फेसबुक र इन्स्टाग्राम एकाउन्टहरू आउँदा केही साताभित्र पुन: खोलिदिने मेटाले घोषणा गरेको छ ।

ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्टको निलम्बन हटाउने मेटाको घोषणा

बुधबार मेटाका ग्लोबल पब्लिक अफेयर्स प्रमुख निक क्लेगले जारी गरेको एक सूचनामा मेटाको बोर्डले सिभिल पोलिसी प्रोटोकलअनुसार ट्रम्पका एकाउन्टहरू निलम्बन गर्ने निर्णयको समीक्षा गरेको र सो निलम्बन अन्त्यको निर्णय भएको बताएका छन् ।

'सर्वसाधारणको सुरक्षामा पुग्नसक्ने जोखिम पर्याप्त रूपमा घटेको हाम्रो ठहर छ,' क्लेग भन्छन्, 'सोको आधारमा हामी ट्रम्पका फेसबुक र इन्स्टाग्राम एकाउन्टहरू केही समयमै पुन:स्थापना गरिदिनेछौँ । तर हामी उनका कृयाकलापको निरन्तर समीक्षा गर्नेछौँ र उनले मेटाको प्रोटोकल पुन: उल्लंघन गरेमा अर्को दुई वर्षका लागि निलम्बन गर्नेछौँ ।'

तेश्रो पटक राष्ट्रपतीय निर्वाचन लड्ने तयारीमा रहेका ट्रम्पका लागि यो निकै ठूलो राहत हुनसक्छ किनभने उनले मेटाका यी प्लाटफर्ममार्फत चुनावका लागि चन्दा संकलन र प्रचारको लागि आफ्ना समर्थकहरूको ठूलो समुदायसम्म फेरि पहुँच बनाउन सक्छन् । यसअघि अमेरिकी धनाढ्य इलन मस्कले ट्वीटर खरिद गर्नेबित्तिकै एक पोलमार्फत ट्रम्पको निलम्बित एकाउन्ट पुन:स्थापना गरिदिएका थिए । तर उनले त्यसयता कुनै ट्वीट गरेका छैनन् । ट्वीटर र मेटाको यो कदमले ट्रम्पका निलम्बित अन्य सामाजिक सञ्जाल एकाउन्टहरू पनि अब पुन:स्थापना हुने विज्ञहरूको अनुमान छ ।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा मेटाको सो निर्णयको प्रसंशा गर्दै दिएको प्रतिकृयामा ट्रम्पले 'एक बहालवाला राष्ट्रपति वा प्रतिकार गर्न नसक्ने कसैको साथमा पनि त्यस्तो हुनु हुँदैनथ्यो' भनेका छन् । ट्रम्पका फेसबुक र इन्स्टाग्राम एकाउन्टमा क्रमश: ३ करोड ४० लाख र २ करोड ३० लाख फलोअरहरू छन् र सीएनएनले केही समयअघि प्रकासित गरेको रिपोर्टमा ट्रम्प क्याम्पेनले एक पत्रमार्फत ट्रम्पका एकाउन्टहरू माथिको निलम्बन अन्त्यको लागि आग्रह गरेको थियो ।

प्रकाशित : माघ १२, २०७९ ११:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?