कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकामा अन्धाधुन्ध गोली प्रहारबाट १० जना मारिए

थुप्रै मानिस घाइते भएका छन् तर संख्या यकिन छैन
एजेन्सी

काठमाडौँ — अमेरिकाको क्यालिफोर्नियास्थित मोन्टेरी पार्कमा अन्धाधुन्ध गोली प्रहारबाट १० जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शनिबार राति ८ बजेर २० मिनेटमा यस्तो घटना भएको हो ।

अमेरिकामा अन्धाधुन्ध गोली प्रहारबाट १० जना मारिए

लुनार नयाँ वर्षको उल्लासका लागि मोन्टेरीमा हजारौं मानिसहरू भेला भइरहँदा गोली प्रहार भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । गोली प्रहारबाट थुप्रै मानिस घाइते भएको पनि बताइएको छ । यद्यपि कति जना घाइते भए भन्नेबारे यकिन नभएको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान पनि भइसकेको छैन । साथै मृतकको स्ख्याबारे विभिन्न मिडियाले फरक फरक सूचना दिएका छन् । सीएनएनले १० जनाको मृत्यु भएको जनाएको छ भने बीबीसीले ९ जना मारिएको उल्लेख गरेको छ ।

तर गोली प्रहार गर्ने व्यक्ति पुरुष भएको हुनसक्ने स्थानीय अधिकारिहरूको आशंका छ । घटनाबारे सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा भने ठूलो संख्यामा प्रहरीको उपस्थिति देखिएको छ । घटना भएको उक्त सहर लस एन्जलसबाट १३ किलोमिटर पूर्वतर्फ पर्छ ।

बीबीसीको समाचार अनुसार एक प्रत्यक्षदर्शीले तीन जना मानिसहरू आफ्नो रेस्टुरेन्टमा आएर मेसिन गन बोकेको मानिस त्यहाँ रहेकाले ढोका बन्द गर्न आग्रह गरेका थिए । एक साता लामो लुनार नयाँ वर्ष मनाउन यसअघि त्यहाँ एक लाखभन्दा धेरै मानिसको भीड हुने गरेको थियो। शनिबार रातिको फेस्टिभल राति ९ बजे सकिने पूर्वतयारी थियो । तर फेस्टिभल सकिनुभन्दा केही मिनेट मात्रै अघि गोलीकाण्ड भएको बताइएको छ ।

मोन्टेरी पार्क करिब ६० हजार मानिसको बसोबास रहेको क्षेत्र हो । जहाँ ठूलो संख्यामा एसियालीहरूको बसोबास रहेको छ ।

प्रकाशित : माघ ८, २०७९ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?