बेलायतले अनलाइनबाट कसरी जोगाउँदै छ बालबालिका ?

आत्महत्या गर्न प्रेरित गर्ने, १८ वर्षभन्दा मुनिका बालबालिकालाई पोर्न तथा अन्य घातक सामग्रीबाट जोगाउने तथा प्रयोगकर्ता अनिच्छुक भएको सामग्री हेर्नबाट रोक्न अनलाइन सुरक्षा विधेयक 
नवीन पोखरेल

लन्डन — पछिल्लो समय विश्वव्यापी रूपमा अनलाइन प्रयोगकर्ताहरू बढेसँगै उनीहरूको सुरक्षा चासो पनि बढेको छ । विशेषगरी बालबालिकालाई अनलाइन प्लेटफर्ममा सुरक्षा प्रदान गर्न कैयौं देशले नयाँ कानुनहरू कार्यान्वयनमा पनि ल्याएका छन् । 

बेलायतमा करिब चार वर्षमा चार प्रधानमन्त्री र पाँच जना गृहमन्त्री परिवर्तन भए । यद्यपि, ब्रिटिस सांसदहरू यो साता अनलाइन प्रयोगकर्ताहरूको सुरक्षा प्रदान गर्न नसक्ने प्रविधि कम्पनीका मालिकहरूलाई ठूलो जरिवाना र कानुनी दायरामा ल्याई जेलसमेत पठाउन सकिने एक विधेयक पारित गर्न सहमतिमा पुगे । बेलायतको ‘अनलाइन सुरक्षा विधेयक’ परिमार्जनकै एउटा हिस्सा थियो त्यो सहमति । कम्पनीका वरिष्ठ अधिकारीहरू नियम कार्यान्वयनमा चुकेको खण्डमा कारबाहीको भागीदार हुने प्रस्तावमा सांसदहरू सहमत भए पनि प्रधानमन्त्री ऋषि सुनक र उनको सरकार भने यसविरुद्ध रहेका बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

‘अनलाइन सेफ्टी बिल’ बेलायतको इन्टरनेट सुरक्षा कानुनको एउटा महत्त्वपूर्ण अंग मानिएको छ । यो विधेयक आफ्ना प्रयोगकर्तालाई गैरकानुनी सामग्री र गतिविधि जस्तै पोर्नोग्राफी, फ्रड (छलकपट) आदिबाट बचाउन प्रविधि कम्पनीहरूलाई कानुनी दायित्वमा बाँध्ने परिकल्पना गरिएको हो ।

विधेयकले प्रविधि कम्पनीहरूलाई सबै गैरकानुनी सामग्री हटाउन, प्रयोगकर्ता अनिच्छुक भएको सामग्री हेर्नबाट रोक्न र विशेषगरी १८ वर्षमुनिका बालबालिकाले आत्महत्या गर्न प्रेरित गर्ने, पोर्न तथा अन्य घातक सामग्री हेर्नबाट जोगाउने अपेक्षा छ ।

विधेयक मस्यौदाले यूके मिडिया वाचडग ‘अफकम’ लाई प्रविधि कम्पनीहरूलाई जवाफदेही बनाउन नाम प्रस्ताव गरेको छ । प्रविधि कम्पनीले गल्ती गरे १८ मिलियन पाउन्ड वा वार्षिक राजस्वको १० प्रतिशतसम्म जरिवाना गर्न विधेयकले ‘अफकम’ लाई अधिकार दिएको छ । यतिमात्र होइन, अनैतिक खालका सामग्री नहटाए साइट ब्लक गर्न र सेवा नै बन्द गरिदिन सक्ने अधिकार पनि अफकमलाई हुनेछ । उक्त विधेयकको मस्यौदा पहिलो पटक २०२१ को मे महिनामा प्रकाशित भएको थियो । पहिले ‘अनलाइन हार्मस् बिल’ भनिने उक्त विधेयक २०१९ को सरकारले ल्याएको थियो ।

अनलाइनमा घातक सामग्री नियन्त्रण र विशेषगरी बालबालिकालाई यसबाट जोगाउन विधेयक ल्याइएको थियो । कोभिड महामारी र बेलायतको राजनीतिक उथलपुथलका कारण केही ढिलाइ भए पनि तत्कालीन प्रधानमन्त्री बोरिस जोन्सनको पालामा यसलाई पुनः ल्याइएको हो ।

एक जना ब्रिटिस टिनएजर १४ वर्षीया मोली रसेलले इन्सटाग्राम र पिनट्रेस्टका सामग्री हेरेपछि सन् २०१७ नोभेम्बरमा आत्महत्या गर्न प्रेरित भएको भन्ने एक छानबिनको निष्कर्षले उक्त विधेयकबारे सर्वत्र ध्यानाकर्षण भएको थियो । अनलाइन विधेयकको सकारात्मक/नकारात्मक दुवै कोणबाट बहस भइरहेको छ । मुख्य आलोचना भने यसले वाक् स्वतन्त्रता हनन गर्न सक्छ भने कतिपयको धारणा छ ।

गुगलसहित झन्डै एक हजार प्रविधि कम्पनीलाई प्रतिनिधित्व गर्ने बेलायतको एउटा इन्डस्ट्री बडी ‘टेकयूके’ ले शुक्रबार अनलाइन सुरक्षा विधेयक बालबालिकालाई अनलाइन सुरक्षाका लागि अति आवश्यक भएको जनाएको छ । तर, कम्पनीका वरिष्ठ प्रबन्धकहरू सजायको भागीदार हुनेतर्फ भने उसले आपत्ति जनाएको छ । यसले इन्टरनेट सुरक्षाको सट्टा अर्थतन्त्र धराप पार्ने जिकिर टेकयूकेको छ ।

प्रकाशित : माघ ८, २०७९ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्

बेलायती स्वास्थ्य सेवा संकटमा

आपत्कालीन उपचार अभावमा सातामा ३०० भन्दा बढी बिरामीको मृत्यु भइरहेको दाबी
नवीन पोखरेल

लन्डन — जाडो बढेसँगै बेलायतले फेरि स्वास्थ्य संकट सामना गरेको छ । नेसनल हेल्थ सर्भिस (एनएचएस) इंग्ल्यान्डका अधिकारीले यही अवस्थामा बिरामीको चाप थेग्न अस्पताललाई कठिन भइरहेको बताएका छन् ।

सोमबारसम्म कम्तीमा ६ अस्पताल ट्रस्टले संकटको अवस्था सामना गर्नुपरेको बीबीसीले जनाएको छ । संकटको अर्थ उनीहरू पूर्ववत् अवस्थामा बिरामीको उपचार गर्ने सामर्थ्यमा छैनन् । केही अस्पतालका ए एन्ड ई (एक्सिडेन्ट तथा इमर्जेन्सी) विभाग संकटग्रस्त अवस्थामा पुगेको रोयल कलेज अफ इमर्जेन्सी मेडिसिनले जनाएको छ ।

रोयल कलेज अफ इमर्जेन्सी मेडिसिन (आरसीईएम) का अध्यक्ष डा. एड्रियन बोयलले समयमै आपत्कालीन उपचार नहुँदा सातामा तीन सयदेखि पाँच सय बिरामीको मृत्यु भइरहेको दाबी गरेका छन् । गुणस्तर निगरानी गर्ने आरसीईएमले यूकेको ‘ए एन्ड ई’ विभागले हालसम्मकै खराब अवस्था र बिरामीले सबैभन्दा बढी समय कुर्नुपरेको उल्लेख गरेको छ । ६ सातायता ए एन्ड ई आउने विरामीको संख्या १८ प्रतिशतले वृद्धि भएको छ ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले ब्रिटेनमा गत महिनाको तुलनामा यस महिना फ्लूका कारण अस्पताल भर्ना हुने बिरामीहरूको संख्या सात गुणा बढेको जनाएको छ । पछिल्लो तथ्यांकका अनुसार गतसाता अस्पतालहरूमा फ्लुबाट पीडित ३ हजार ७ सय ४६ जना बिरामी भर्ना भएका थिए । तीमध्ये २ सय ६७ जनाको स्थिति गम्भीर रहेको जनाइएको छ । एक महिनाअघि फ्लुका कारण भर्ना हुने बिरामीको संख्या ५ सय २० मात्रै थियो ।

पछिल्लो एक सातामा फ्लुका कारण भर्ना हुने बिरामीको संख्या ८० प्रतिशतले वृद्धि भएको एनएचएसले जनाएको छ । यसैगरी, अस्पतालहरूमा उपलब्ध प्रत्येक १० मध्ये ९ ओटा बेड भरिएका जनाइएको छ । फ्लुका कारण एनएचएसका हजारौं कर्मचारीले आकस्मिक बिदा लिएका छन् ।

एनएचएसका राष्ट्रिय चिकित्सा निर्देशक प्रा. सर स्टेफेन पावेलले भने, ‘हामीले दुःख साथ भन्नुपर्छ कि कोभिड प्रभावित बिरामीको संख्या बढिरहेका बेला फ्लुबाट पीडित बिरामीको संख्या पनि बढेकाले हामी दोहोरो दबाबमा परेका छौं ।’ उनले योग्य मानिसलाई कोभिड र फ्लुविरुद्धको निःशुल्क खोप लगाउन जति सक्दो चाँडो लगाउन पनि आग्रह गरे ।

एनएचएस कन्फेडेरेसनका प्रमुख म्याथ्यु टेलरले स्काई न्युजसँग कुरा गर्दै भनेका छन्, ‘म एनएचएस नेताहरूसँग दिनहुँ कुराकानी गरिरहेको छु । तीमध्ये सबैले जाडोमा अहिलेसम्मकै खराव अवस्था भोग्नुपरेको छ र यही अवस्था सामना गर्न सकिँदैन भनेका छन् ।’

सोसाइटी फर एक्युट मेडिसिनका अध्यक्ष डा. टिम कुकस्लेले एनएचएसले कोभिड महामारीभन्दा खराब स्थिति भोग्नुपरेको उल्लेख गर्दै सरकारले कडा कदम चाल्नुपर्ने बताएका छन् । विगत २६ वर्षदेखि एनएचएसमा आबद्ध चिकित्सक डा. सुनिल शाह यो नयाँ नभई बर्सेनि आउने समस्या भएको बताउँछन् । ‘बेलायतमा वृद्धवृद्धाको जनसंख्या धेरै छ । बूढाबूढी अस्पतालमा आइसकेपछि पूर्ण निको नभएसम्म घर पठाउन नमिल्ने हुँदा अस्पतालका बेड भरिभराउ भइरहेका छन्,’ शाहले कान्तिपुरसँग भने ।

मिड योर्कसायर हस्पिटल ट्रस्ट र लिड्स टिचिङ हस्पिटल गरी दुई अस्पतालमा कार्यरत ओरल एन्ड म्याक्सिलो फेसियल सर्जन कन्सलटेन्ट डा. शाह आफ्ना अस्पतालमा बेड अभावमा गएको बिहीबार र शुक्रबार क्यान्सरबाहेक सबै रोगको शल्यक्रिया रद्द भएको बताए ।

पर्व र बढ्दो जाडोका कारण विशेष गरी डिसेम्बर र जनवरीमा एनएचएसमा बढी चाप देखिने जनाउँदै शाहले केही महिनाका लागि मात्र थप बेड थप्न सरकारलाई पनि व्यावहारिक नहुने जनाए । उता, सेन्ट जोर्जेज हस्पिटलको कार्डियाक इन्टेन्सिभ केयर युनिटमा विगत ११ वर्षदेखि कार्यरत नर्स रिमा कँडेल पनि आफ्नो अस्पतालमा चाप बढिरहेको बताउँछिन् ।बिरामीको चाप धेरै बढेर शल्यक्रियाहरू धमाधम रद्द भएका उनले जनाइन् । ‘बिरामीको स्वास्थ्य अवस्था प्राथमिकतामा राखेर उपचार गर्दा रुटिङ अपरेसन क्यान्सेल भइरहेको छ,’ उनले भनिन् ।

बेलायतको लिबरल डेमोक्रेटिक पार्टीले विन्टर प्रेसर समाधानका लागि संसद् बोलाएर आपत्कालीन स्वास्थ्य योजना ल्याउन र राष्ट्रिय प्रमुख घटना घोषणा गर्न माग गरेको छ । सरकारले भने एनएचएस चाप बढिरहेको स्विकार्दै आगामी दुई वर्षका लागि हेल्थ एन्ड सोसल केयरमा १४.१ बिलियन पाउन्ड अतिरिक्त कोष विनियोजन गरिएको जनाएको छ । अस्पताल डिस्चार्ज तीव्र बढाउन थप ५० करोड पाउन्ड प्रदान गरिएको सरकारको भनाइ छ ।

प्रकाशित : पुस २१, २०७९ ०६:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×