
काठमाडौँ — सन् १९०१ मा आजकै दिन (जनवरी २२) बेलायती महारानी भिक्टोरियाको निधन भएको थियो । १८१९ को मे २४ मा जन्मिएकी एलेक्जेन्ड्रिया भिक्टोरिया १८३७ को जुन २० ग्रेट ब्रिटेन र आयरल्यान्डकी महारानी बनेकी थिइन् ।

बेलायतमा ६३ वर्ष २ सय १६ दिन महारानी बनेकी उनको शासनकाललाई ‘भिक्टोरिया युग’ ले चिनिन्छ । यो युगमा बेलायतमा औद्योगिक, राजनीतिक, वैज्ञानिक, सैन्य क्षेत्रमा व्यापक परिवर्तन हुनुका साथै बेलायती साम्राज्य सबैभन्दा बढी बिस्तार भएको थियो । उनको शासनकालमा भारत, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, दक्षिण
अफ्रिका गरी विश्वको करिब २० प्रतिशत भूभाग बेलायतअन्तर्गत थियो । उनलाई सन् १८७६ मा बेलायती संसद्ले मतदानमार्फत ‘इम्प्रेस अफ इन्डिया’ समेत घोषित गरेको थियो ।
संवैधानिक राजसंस्थाकी प्रमुख भए पनि उनले मन्त्रिपरिषद्मा नियुक्ति तथा सरकारी नीति प्रभावित पार्ने गर्थिन् । व्यक्तिगत नैतिक मापदण्डका कारण उनी देशभर निकै चर्चित थिइन् । बेलायती राजा/महारानीमध्ये उनी रेल चढ्ने पहिलो हुन् । भिक्टोरियाले १९४० मा राजकुमार अल्बर्टसँग विवाह गरेकी थिइन् । १९६१ मा अल्बर्टको मृत्युपछि गहिरो शोकमा परेकी भिक्टोरिया केही समय सार्वजनिक कार्यक्रमहरूमा देखिन छाडेकी थिइन् ।
तर पछि राजकाजमा पुनः क्रियाशील भएकी भिक्टोरियाका स्वर्ण तथा हिरक जयन्तीहरूमा अभूतपूर्व उत्सव तथा उपस्थिति हुने गर्थ्यो । भिक्टोरियाको १९०१ मा ८१ वर्षको उमेरमा निमोनियाका कारण निधन भएको हो । उनको मृत्युपछि बेलायतमा एडवार्ड सातौं राजा भएका थिए ।
प्रकाशित : माघ ८, २०७९ ०७:५९