कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

फ्रान्समा देशव्यापी हडताल : यातायात, शिक्षा र व्यवसाय प्रभावित

काठमाडौँ — फ्रान्सेली राष्ट्रपति ईमानुयल म्याक्रोनको नियोजित पेन्सन सुधार प्रस्तावलाई चुनौती दिन मजदुर युनियनहरुले बिहीबार आयोजना गरेको देशव्यापी हडतालका क्रममा प्रहरी र  आन्दोलनकारीबीच झडप भएको छ । 

फ्रान्समा देशव्यापी हडताल : यातायात, शिक्षा र व्यवसाय प्रभावित

राजधानी पेरिस, बोर्दो, लियोंन र मार्सेईलगायतका केही सहरमा आन्दोलनकर्मी र प्रहरीबीच तनाव झडप भएको हो । पेरिसको ऐतिहासिक स्थल प्लास दला रेपुब्लिक नजिकै केही प्रदर्शनकारीहरूले गाडीहरू जलाएका छन् । त्यहाँ प्रहरीमाथि ढुंगा र काठका टुक्राले प्रहार गर्न थालेपछि सुरक्षाकर्मीहरुले अश्रु ग्यास प्रहार गरेको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।

हडतालका कारण यातायात बन्द भएको छ । विद्यालय र अस्पतालहरूलाई कर्मचारीविहीन बनाउँदा आधारभूत सरकारी सेवाहरू उपलब्ध छैनन् । विरोध प्रदर्शनले उद्योग, यातायात, शिक्षा र स्वास्थ्य क्षेत्रमा गम्भीर प्रभाव परेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यस्तै बैंक, बिमा कम्पनी, मस्जिद, चर्च, यातायातलगायत प्रमुख क्षेत्रहरुको सुरक्षाका लागि सरकारले हजारौं संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । सुरक्षाकर्मीमाथि आक्रमणमा उत्रिएको भन्दै स्थानीय समयअनुसार अपराह्न साढे ३ बजेसम्ममा ९१ जनालाई नियन्त्रणमा लिएको पेरिस प्रहरीले जनाएको छ ।

कर्मचारी अभावका कारण बिहीबारका लागि ईजिजेट, रायन एयर, युरोविङ लगायतका कम्पनीहरुले उडान समेत रद्द गरेका छन् । लामो दुरीमा चल्ने टिजिभी, युरोस्टार, ट्रान्भिया लगायतका रेलवे कम्पनीहरुले पनि पूर्वघोषित रेल सञ्चालन तालिक रद्द गरेकाले युरोपभरि प्रभाव परेको छ ।

कर्मचारी युनियनहरुले हडताल आह्वान गरेपछि सरकारले हडताल गरी देशलाई 'पक्षघात' नगराउन भनेको थियो । तर सरकारी आग्रहविपरीत हडताल हुँदा बिहीबार फ्रान्समा अधिकांश रेल यातायात रद्द हुनुका साथै उडानहरू प्रभावित भए । पेरिसको सबवे (मेट्रो) पनि अवरुद्ध भएको छ । फ्रान्सको प्रमुख यातायात कम्पनी आएटीपीले बिहीबार १० वटामध्ये एउटा रेलमात्रै चलेको बताएको छ ।

सरकारले सेवानिवृत्तिको उमेर दुई वर्ष बढाएर ६४ मा धकेल्ने प्रस्ताव अघि सारेपछि त्यसको विरोधमा मजदुर र अन्य कर्मचारी, प्रतिपक्षी दलहरु उत्रिएका हुन् । श्रमिक प्रतिनिधिहरूले सरकारले कानुनी सेवानिवृत्तिको उमेर दुई वर्ष बढाएर ६४ र पूर्ण निवृत्तिभरण प्राप्त गर्न आवश्यक योगदानहरूको न्यूनतम संख्यामा छिटो वृद्धिको प्रस्ताव गर्नु 'मजदुर मारा नीति' भन्दै आपत्ति जनाएका छन् ।

सरकारले आफ्नो योजनाबाट पछि नहट्ने बताएको छ भने मजदूर युनियनहरुले पनि सरकारले प्रस्ताव फिर्ता नलिए अझै कडा कार्यक्रम अघि सार्ने चेतावनी दिएका छन् । 'यो त सुरुवात र सरकारलाई संकेतमात्रै हो । पेन्सन सुधार योजना सरकारले फिर्ता नलिए हामी अझै ठूलो आन्दोलन घोषणा गर्ने छौं,' सबैभन्दा ठूलो उर्जा कम्पनी टोटल ईनर्जीमा मजदुर युनियन महासंघ सिजिटीका राष्ट्रिय संयोजक एरिक सेलिनीले भनेका छन् । ती युनियनहरुले सरकारले बेलैमा प्रस्ताव फिर्ता नलिए जनवरी १९ मा ईन्धन मजदुरहरूले २४ घण्टाको हडताललाई जनवरी २६ देखि ४८ घण्टा र फेब्रुअरी ६ बाट ७२ घण्टा बनाउने बताएका छन् ।

यसअघि सन् ११९५ मा पनि तत्कालीन राष्ट्रपती ज्याक शिराकले पेन्सन सुधार योजना अघि सार्दा मजदुर युनियनहरुको हडतालकै कारण सरकार विधेयक फिर्ता लिन बाध्य भएको थियो ।

प्रकाशित : माघ ५, २०७९ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?