१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जोशीमठमा जमिनमुनि हलचलको परिणाम : स्थानीयले घर छाड्नुपर्ने स्थिति

राजेश मिश्र

नयाँदिल्ली — उत्तराखण्ड राज्यको चमोली जिल्लामा पर्ने जोशीमठका बासिन्दाले घर छाड्नुपर्ने स्थिति आएको छ । पछिल्ला दिनहरूमा जमिन भासिँदा ८ सय ४९ वटा घर भत्किएका छन् । यो क्रम अझै बढ्दै छ ।

जोशीमठमा जमिनमुनि हलचलको परिणाम : स्थानीयले घर छाड्नुपर्ने स्थिति

जोखिममा परेका घरहरूमा प्रशासनले रातो मसीले क्रसचिह्न लगाएको छ । एकपछि अर्को घर चर्किने र भत्किने क्रम बढेपछि स्थानीय प्रशासनले राहत तथा उद्धार थालेको छ । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले बुधबार केन्द्रीय गृहमन्त्री अमित शाहलाई भेटेर स्थितिको समीक्षा गरेका छन् । विस्थापितका लागि पुनर्वास कार्यक्रम चलाउन केन्द्र सरकारसँग धामीले सहयोग मागेका छन् ।

स्थानीय प्रशासनले जमिन भासिएर घर भत्किन सक्ने भएकाले राहत तथा पुनःस्थापना केन्द्रमा आश्रय लिन आह्वान गरेको छ । चर्किन थालेका सरकारी भवनहरू खाली गरिएका छन् । प्रशासनले जोशीमठका घरहरूलाई डेन्जर, बफर र सेफ जोन गरी तीन जोनमा विभाजन गरेर उद्धारको काम थालेको छ ।

उत्तराखण्डको सानो सहर जोशीमठ ऐतिहासिक र धार्मिक कारणले चर्चित हो । मठमन्दिर प्रशस्तै छन् भने हिन्दु र सिख धर्मावलम्बीको प्रमुख तीर्थस्थलहरू पुग्न प्रवेशद्वार हो । साथै उत्तराखण्डमा ट्रेकिङ गर्नेहरूले रोज्ने थलो पनि हो ।


१७ हजार जनसंख्या रहेको उक्त नगर संकटमा परेको छ । भूगर्भविद्हरूले पर्वतीय शृंखलाको उक्त क्षेत्रको जमिनमुनि भइरहेको हलचलको परिणाम सतहमा देखिएको बताएका छन् । एकपछि अर्को घरमा चिरा पर्ने, भत्किने क्रम बढेपछि स्थानीयवासी त्रासमा छन् । घरबारविहीन हुने चिन्ताले उनीहरूले प्रदर्शन पनि गरेका छन् ।

जोशीमठमा सन् १९६२ पछि भवन तथा सडकहरूको निर्माण कार्यले गति लिएको हो । चीनसँगको युद्धपछि भारतले रणनीतिक रूपमा त्यस क्षेत्रमा निर्माण कार्यलाई बढावा दिएको देखिन्छ । विभिन्न रिपोर्टले त्यस क्षेत्रमा मानवीय दबाब कम गर्दै जानुपर्ने भन्दै आएको छ । तर, त्यसविपरीत पर्वतीय क्षेत्रमा जथाभावी भौतिक पूर्वाधार निर्माण हुँदै आएको हो । भू–वैज्ञानिकहरूले पटक–पटक जोशीमठको पहाडी क्षेत्रलाई कमजोर र धेरै बोझ सहन नसक्ने स्थानका रूपमा चिनाउँदै आएका छन् ।

घर छाड्नुपर्ने स्थितिमा स्थानीयवासीले सरकारप्रति आक्रोश पोखिरहेका छन् । उनीहरूले बद्रीनाथ जाने राजमार्ग नै अवरुद्ध गरेर मसाल जुलुस निकालेका थिए । विरोध प्रदर्शनपछि स्थानीय प्रशासनले त्यस क्षेत्रमा चलिरहेका सबै प्रकारका निर्माण कार्यलाई रोक लगाएको छ ।

विरोध गरिरहेका स्थानीयले त्यस क्षेत्रमा निर्माणाधीन हाइड्रोपावरको असर जमिनमा परेको भनिरहेका छन् । तपोवन विष्णुगढ हाइड्रोपावरको निर्माण कार्यले गति लिँदै जाँदा समस्या बढ्दै गएको स्थानीयको गुनासो छ । प्रशासनले त्यसको निर्माणमा पनि अहिलेलाई रोक लगाएको छ । सन् २०१३ को एक रिपोर्टले हाइड्रोपावर परियोजनाका लागि बनाइने सुरुङले पहाडी क्षेत्रमा क्षति पुर्‍याउने उल्लेख गरेको थियो । जोशीमठ क्षेत्रमा बनाइएको चार लेनको राष्ट्रिय राजमार्गले पनि जमिनलाई कमजोर बनाएको गुनासो स्थानीयको छ ।

प्रकाशित : माघ ५, २०७९ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?