‘नाटु नाटु’ लाई गोल्डेन ग्लोब- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नाटु नाटु’ लाई गोल्डेन ग्लोब

संगीतका सुपरस्टार रिहाना, टेलर स्विफ्ट, लेडी गागाहरुलाई पछाडि पार्दै पाएको सफलताले यो महिनाकोअन्तिममा घोषणा हुने ‘अस्कर’ मनोनयनमा पनि ‘नाटु नाटु’ को उपस्थिति हुनेमा आशा बढाइदिएको छ ।
रीना मोक्तान

काठमाडौँ — ‘बाहुबली’ निर्देशक एसएस राजमौलीलाई थाहा थियो– एनटीआर जुनियर र राम चरण दुवै नृत्यमा अब्बल छन् । तेलुगु फिल्म उद्योगलाई पहिल्यै यी दुईले आफ्नो नृत्य प्रतिभा पस्किसकेका थिए ।

यी दुईलाई एकै फ्रेममा नाच्दै गरेको हेर्दा दर्शकले पाउने मनोरञ्जनको स्तर कल्पना गर्दै एकदिन राजमौलीले संगीतकार एमएम किरावानीकहाँ गीतको आइडिया राखे । 'म यस्तो एउटा गीत गर्न चाहन्छु जहाँ यी दुई डान्सर एकअर्कासँग प्रतिस्पर्धा गर्दै नृत्य गरुन्,'राजमौलीले भनेको सम्झन्छन्, किरावानी ।

त्यसलगत्तै किरावानीले तेलुगू फिल्म गीतकारहरुमा आफ्नो मनपर्दो चन्द्रबोसलाई गीत लेख्न लगाए । दुई कलाकार नाच्दै गर्दा जोस र उत्साह निकाल्ने खालको गीत लेख्नुपर्ने किरावानीको सल्लाह थियो । 'तपाईं जस्तो चाहनुहुन्छ त्यस्तै गीत लेख्नुस् । तर, यो फिल्म १९२० तिरको घटनामा आधारित छ । त्यसैले शब्दहरु त्यही समयको होस् भन्नेचाहिँ ख्याल राख्नु होला,'चन्द्रबोसलाई किरावानीले भनेको कुरा बीबीसी हिन्दीले उल्लेख गरेको छ । सन् २०२० को जनवरी १७ तिर राजमौली, किरावानी र चन्द्रबोस मिलेर नयाँ गीतमाथि काम गरे । 'आरआरआर' फिल्मका लागि लेखिएको त्यही नाटू नाटू(हिन्दी-नाचों नाचों) गीतले अहिले तेलुगू फिल्म उद्योगमा इतिहास रचेको छ । प्रतिष्ठितमध्येको एक गोल्डेन ग्लोब अवार्डको 'उत्कृष्ट ओरिजिनल गीत'तर्फको विधामा किरावानीले अवार्ड उचालेसँगै भारतीय फिल्म उद्योगले उल्लास मनाइरहेको छ ।

संगीतका सुपरस्टार रिहाना, टेलर स्विफ्ट, लेडी गागाहरुलाई पछाडि पार्दै पाएको सफलताले यो महिनाको अन्तिममा घोषणा हुने 'अस्कर' मनोनयनमा पनि 'नाटू नाटू'को उपस्थिति हुनेमा आशा बढाइदिएको छ । अस्करको १५ सर्टलिस्टमा यो गीत परिसकेको छ । यो फिल्म ९५ औं अस्करका लागि उत्कृष्ट गैरअंग्रेजी(नन इंग्लिस) विधामा पनि मनोनयनमा परेको छ । फिल्मले यो विधामा जित हासिल गर्ने पक्का छैन । भारतले यो फिल्मलाई गैरअंग्रेजी फिल्मको विधाका लागि आधिकारिक छनोट गरेको होइन । गुजराती फिल्म छेल्लो शो (द लास्ट शो)लाई द फिल्म फेडरेसन अफ इन्डियाले यो विधाका लागि सिफारिस गरेको हो । बलिउड स्टार अजय देवगन, आलिया भट्टलगायतको अभियन रहेको 'आरआरआर' भने २०२२ को मार्च २५ मा प्रदर्शनमा आएको थियो ।

गोल्डेन ग्लोबको जितसँगै 'आरआरआर'ले हलिउड अवार्डको दौड सुरु गरेको छ । 'यो अवार्डको दाबेदार अरु कोही नै छ, म होइन । यो अवार्ड मेरो भाइ, फिल्मका लेखक एसएस राजमौलीको हो,'अवार्ड उचाल्दै गर्दा किरावानीले भनेका थिए ।

गत आइतबार लस एन्जलसको चाइनिज थिएटर(हल)मा अमेरिकाका फिल्मकर्मीबीच 'आरआरआर' देखाइयो । 'नाटू नाटू' बज्दा भीड स्टेजमै गएर नाचेको थियो । फिल्म प्रदर्शनताका भारतका मात्रै नभइ नेपालका हलहरुमा पनि दर्शक यो गीत आउँदा स्टेजमा गएर नाचेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो । गीतले यस्तो प्रतिक्रिया पाउला भन्ने किरावानीले सपनामा पनि सोचेका थिएनन् । 'गीतले यस्तो प्रतिक्रिया पाउला भन्ने मैले सपना पनि सोचिनँ । तर विरोधाभास कुरा गर्ने हो भने यसले मेरो सपना पूरा भएको आभास गराएको छ,'भराइटीलाई केही दिनअघि मात्रै किरावानीले भनेका थिए । ग्लोडेन ग्लोब जितिसकेपछि ब्याकस्टेजमा किरावानी भन्दै थिए,'यो उत्सव मनाउने गीत हो । हामी यो गीतमा सारा इनर्जी र स्टामिना देखाउन चाहन्थ्यौं ।'

यस्तो उर्जाशील गीत चन्द्रबोसले कसरी लेखे होला ? अहिले सबैले गर्ने प्रश्न यही हो । चन्द्रबोसको दिमागमा किरावानी र राजमौलीले खोजेको गीतको निर्देशन घुसिसकेको थियो । एकदिन जब उनी कार चलाउँदै जुब्ली हिल्स पुगे, हात स्टेयरिङमा थियो दिमाग गीततिर । त्यहीबेला गीतको हुकलाइन फुर्‍यो,'नाटू नाटू' । ६/८ को ताल(बिट)मा उनले गीत लेख्न सुरु गरे । किरावानीलाई यो ताल एकदमै मनपर्छ भन्ने उनलाई थाहा थियो । किरावानी जोस भर्ने गीत गर्न रुचाउँथे ।

द्रुत गतिमा अगाडि बढ्ने नृत्य, भिडियो र गायनले मात्रै नभइ ६/८ को यही बिटले गीतलाई चर्चामा ल्याइदिएको किरावानी बताउँछन् । '६/८ को बिट पश्चिमाहरुले खासै सुन्दैनन् । भारत, अफ्रिकालगायत केही देशहरुमा मात्रै यस्तो बिटको गीत सुनिन्छ,'उनले भराइटीलाई भनेका छन्,'खासमा भन्ने हो भने यो दक्षिण भारतमा चल्ने शैलीको गीत हो । उत्तर भारतमा पनि यस्तो गीत खासै सुनिदैन । सायद पश्चिमा देशका दर्शकको ध्यान तान्नमा यो कुराले भूमिका खेलेको हुनुपर्छ ।'

नाटू-नाटूमा ‍दुई प्रमुख कलाकारले फिल्मभित्रै पनि आफ्नो नृत्य कौशलता देखाइरहेका हुन्छन् । दुई दिनमै चन्द्रबोसले तीन अन्तरा लेखे । उनले आफ्नो मनपर्ने अन्तरा भने अन्तिममा किरावानीलाई सुनाएका थिए । त्यसअघि २ अन्तरा सुनाएका थिए । हुन त गीतको ९० प्रतिशत गीत २ दिनमै बनेको थियो । तर गीतमा फेरबदल, सम्पादन गर्दाको समय हिसाब गर्दा १९ महिनामा 'नाटू नाटू'को अन्तिम स्वरुप तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।

संगीतकार किरावानीको सल्लाह अनुसार नै चन्द्रबोसले गीतमा सन् १९२० तिरका शब्दहरु पनि मिसाइदिए । मसलन 'मिरापा टोक्कु'(रातो खुर्सानीको धुलो) 'दुमुकुल्लदतम'(तलमाथि दौडनु) जस्ता तेलङ्गामा प्रचलित शब्दहरु गीतमा सुन्न सकिन्छ । कालभैरव र राहुल सिपलीगुंजको स्वरमा तयार भएको यो गीतका लागि कोरियोग्राफर प्रेम रक्षितले ९५ वटा स्टेपहरु तयार पारेका थिए । सिग्नेचर स्टेपका लागि त ३० वटा भर्सन नै तयार पारेका थिए । उनी दुईले हात समातेर नाच्ने दृश्यका लागि उनले यी भर्सनहरु तयार पारेका थिए । यो स्टेप गर्नलाई १८ पटकसम्म टेक लिइएको चर्चा यसअघि भएको थियो ।

निर्देशक राजमौलीले भने गीतको स्टेपहरु आम दर्शकले पनि गर्न सक्ने खालको हुनुपर्ने सोचेका रहेछन् । 'जुनियर एन्टिआर र रामचरण त नृत्यमा उत्कृष्ट भइहाले । अरुले गर्न नसक्ने खालको गाह्रो स्टेप नहोस् भन्ने नै चाहन्थें,'राजमौलीले अन्तर्वार्तामा सञ्चारमाध्यमलाई भनेका छन्,'दुईजना होस् या साथी, आमा र छोरी, बाबु र छोरा, दुई दाजुभाइ अथवा दुई दिदीबहिनीले यो गीत हेरिसकेपछि 'लेट्स ट्राई' भनोस् भन्ने चाहन्थें । त्यस्तै भयो, लाखौं दर्शकले यो स्टेप पच्छ्याउँदै नाचेको दृश्य सामाजिक सञ्जालमा पोस्ट्याउन थाले । जब गीत सार्वजनिक गर्‍यौं त्यसले फिल्मप्रतिको दर्शकको चाहना बढाइदियो ।'

गीतको भिडियो युक्रेनको राष्ट्रपतिको भवनको पृष्ठभूमिमा गरिएको थियो । छायांकनका दौरान किरावानी र राजमौलीले फिल्मको अन्तिम अन्तरामा केही फेरबदल गर्ने निर्णयमा पुगेका थिए । त्यतिबेला चन्द्रबोस 'पुष्पा'को छायांकनमा व्यस्त थिए । त्यसैले त्यही फेरबदलले गीत पूरा हुनलाई १९ महिना लाग्यो । अन्तिम अन्तरालाई चन्द्रबोसले १५ मिनेटमै लेखेर दिए । यही गीतमाथि अहिले सर्जकदेखि कलाकारहरु गर्विलो महसुस गर्दैछन् । फिल्मका कलाकार जुनियर एन्टिआरले त किरावानीलाई बधाई दिँदै लेखेका छन्,'मेरो करिअरमा मैले थुप्रै गीतहरुमा नाचें तर नाटू-नाटू सधैं मेरो ह्रदयको नजिक हुनेछ ।'

प्रकाशित : पुस २८, २०७९ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्

फेरिएको संगीत स्वाद

सज्जनराज सिंगर सङ राइटर हुन् । यावेशले अभ्यास गरिरहेको विधा अकस्टिक पप हो । शाश्वतले आफूलाई ‘पप सिंगर सङ राइटर’ को परिचय दिइरहँदा फोस्फिन्स इन्डी विधामा रमाइरहेको देखिन्छ ।
रीना मोक्तान

काठमाडौँ — सार्वजनिक गरेको छैटौं दिनमै १० लाख भ्युज, ८४ हजार लाइक अनि ३ हजारभन्दा बढी कमेन्ट । लगातारको युट्युब ट्रेन्डिङ । नयाँ वर्ष सन् २०२३ को पहिलो दिन सार्वजनिक गरेको ‘ह्यात्तेरी’ बोलको नयाँ गीतले कमाएको दर्शकको माया हो यो ।


यो पछिल्लो समय चलेका गायक सज्जनराज वैद्यको लोकप्रियता दर्शाउने अंकगणित पनि हो । बजारमा आएदेखि फ्यानको प्लेइङ लिस्टमा थपिएको अर्को नयाँ गीत पनि । क्याफेदेखि कभर सङहरूमा अनि टिकटकदेखि टिन एजरहरूका मुखमै झुन्डिएको गीतले युवा दर्शकको संगीत स्वाद दर्शाउँछ । पछिल्लो समय युवा जमातमा कस्तो संगीत रुचाइँदै छ त ? ‘ह्यात्तेरी’ यसको उदाहरण हो ।

अहिले विक्की गुरुङ, यावेश थापा, समीर श्रेष्ठ, शाश्वत खड्का, आशुतोष केसी, बर्तिका एम राई, दिवस पोख्रेल, अपूर्व तामाङ, फोसफिन्सहरूका गीत यसैगरी युवा दर्शकको रोजाइ बन्दै आइरहेको छ । सामाजिक सञ्जाल युट्युब चहार्दैमा पनि उनीहरूका लोकप्रियताको साक्षी बन्न पाइन्छ । झट्ट सुन्दा उनीहरूका गीत उस्ता–उस्तै सुनिन्छन् । संगीतदेखि शब्द चयनको शैली फरक सुनिए पनि गायन समान देखिन्छ । आखिर युवा दर्शकको रुचि बन्दै गएको संगीतको यो विधा कस्तो हो ? लोफाइ र इडिएमको सम्मिश्रणमा मिसिएका स्वरले ल्याएको परिवर्तन के हो ?

‘सिंगर सङ राइटर’, ‘अकस्टिक पप’, ‘इन्डी’ जस्ता विधा युवाहरूले रुचाउन थालेको छ । सज्जनराज सिंगर सङ राइटर हुन् । यावेशले अभ्यास गरिरहेको विधा अकस्टिक पप हो । शाश्वतले आफूलाई ‘पप सिंगर सङ राइटर’ को परिचय दिइरहँदा फोस्फिन्स इन्डी विधामा रमाइरहेको देखिन्छ । बर्तिका लिरिकल, एब्स्ट्र्याक्ट गीतहरूको लेखन/गायनमा अगाडि देखिन्छिन् । अहिले सिंगर सङ राइटर सबैभन्दा बढी चलेको विधाको रूपमा लिन्छन्, संगीतकर्मी । यसले गीत लेख्नेदेखि संगीत आफैंले भर्ने भए । ‘सिंगर सङ राइटर’ सँगै इन्डी (स्वतन्त्र), लोफाइ (लो–प्रोडक्सन) र इडिएम (इलेक्ट्रोनिक डान्स म्युजिक) संगीत पनि मन पराउनेको जमात बढ्दै गएको ‘बतास’ गायक शाश्वतको भनाइ छ । ‘मेरो विचारमा अहिले इन्डी पनि चलेकै छ । त्योभन्दा बढी सिंगर सङ राइटर विधा चलेको देख्छु,’ शाश्वतले भने । इन्डी विधामा काम गर्नेहरू धेरै त अन्डरग्राउन्ड नै बस्न रुचाउँछन् । थोरै स्रोत साधनमै संगीत निर्माण गर्ने हुँदा इन्डीले गीतार बजाउन छोड्दैनन् । फोस्फिन्स ब्यान्डका भोकलिस्ट अभिषेक पोख्रेल अहिले बढ्दै गरेको सिंगर सङ राइटरहरूलाई पनि इन्डीकै रूपमा व्याख्या गर्छन् । ‘नेपालमा संगीत उद्योग ठूलो छैन । अहिले आइरहेको सिंगर सङ राइटरहरू स्वतन्त्र रुपले नै आइरहेका छन्,’ उनले भने, ‘सज्जनराज पनि इन्डिपेन्डेन्ट हो । संगीत क्षेत्रमा राज्यको ध्यान नपुगेका कारण हामीकहाँ राम्रो रेकर्डिङ स्टुडियो पनि छैन । तर पनि कलाकार आफैंले गीत बनाइरहेका छन् । विश्वमा भएकै विधालाई हामीले यता पनि अभ्यास गरिरहेका छौंजस्तो लाग्छ ।’ अहिले इन्डी रक, इन्डी पप अनि इन्डी एक्सपेरिमेन्टल गीतहरू युवाले रुचाइरहेका अभिषेकको अनुभव छ । उनी सज्जनलाई सुन्ने भीडले आफूहरूलाई पनि सुन्न थालेको सुनाउँछन् । ‘अहिले सज्जनराज वैद्यलाई सुन्ने भीडले पनि हामीलाई सुनिरहेको छ । हामीले इन्डी पप, इन्डी रक अभ्यास गर्दैछौं । सज्जनहरूको अगाडि हामी अन्डरग्राउन्ड संगीत गर्नेहरू भयौं । फलोवर्स पनि आर्टिस्टिक, आर्टमा मन पराउनेहरू हुनुहुन्छ,’ उनले भने, ‘खासमा टिन एजर्सहरूले सज्जनराजहरूलाई सुन्छन् । तर, हामीलाई सुन्नेहरू १८ वर्षभन्दा माथिका पनि छन् । उमेरमा दुई बीसको हाराहारीकाले पनि हामीलाई सुनिरहेको भेट्छु ।’

युवा संगीतकर्मीले अभ्यास गरिरहेको अहिलेको यो विधा नौलो भने होइन । विश्वमा पहिल्यै अभ्यास भइसकेको यो संगीतलाई अहिले युवा गायक/गायिकाले पछ्याउन थालेपछि चर्चा चुलिएको मात्र हो । यसअघि अमेरिकामा जोन मेयरहरूले युवालाई लक्षित गरेर अकस्टिक गीतहरू निकाल्थे । यस्तो संगीत सन् १९८० देखि ९० को दशकसम्म पपुलर कल्चरका रूपमा चल्यो । एकातिर बिटल्सहरूले सिंगर सङ राइटरको रुपमा काम गरिरहँदा बब डिलनहरूले इन्डी अभ्यास गरेको देखिन्थ्यो । अहिलेका सिंगर सङ राइटर र इन्डिपेन्डेन्ट (स्वतन्त्र) संगीमा युवा दर्शकको भावना समेटिएका हुनाले पनि यो संगीत युवामा निकै रुचाइएको इथ्नोम्युजिकोलजीमा पीएचडी गरेका लोचन रिजाल बताउँछन् । ‘यो खालका गीत आउनु सकारात्मक पनि हो । यस्ता गीतहरूले अमेरिकाको संगीत उद्योग विकास हुँदै गएको थियो,’ लोचनले भने, ‘यस्तो खालको विधा पछ्याइरहेको गायक/संगीतकार आफैं पनि युवा उमेरको हुनुहुन्छ । त्यही भएर युवा दर्शकमा उहाँहरूले आफ्नो समय र समान भावनालाई पस्किरहनुभएको छ । आर्ट, क्लासिकल, स्थानीय संगीत पप–कल्चरभित्र पर्दैन ।’

प्रविधिको विकाससँगै घरमै रेकर्डिङ

स्वतन्त्र रूपले चम्किएका आर्टिस्टहरूले हिजोआज आफ्नै घरको कोठालाई रेकर्डिङ स्टुडियो बनाउने गरेका छन् । सज्जनका अधिकांश चर्चित गीतहरू उनले आफ्नै सुत्ने कोठामा रेकर्ड गरेका हुन् । स्टुडियोमा रेकर्ड गरेजस्तो त नहोला, तर प्रविधिले कोठामै रेकर्ड गर्न सहज गराइदिएको उनको अनुभव छ । ‘कोठामा कसरी राम्ररी रेकर्ड गर्न सकिन्छ भन्ने सोचेरै संगीत निर्माण गरिरहेको हुन्छु । कहिले सोफामाथि माइक राखेर रेकर्डिङ गर्छु । पर्खाइ बोलको गीत साथीको दराज छेउमा पर्दा राखेर रेकर्ड गरेको थिएँ,’ उनले सुनाए ।

सज्जनले भनेझैं अहिलेका आर्टिस्टका लागि रेकर्डिङ सजिलो भइदियो । यावेशले आफ्ना गीत कोठामै रेकर्ड गरेर युट्युबमा राख्थे । प्रविधिले संगीत निर्माण गर्न सहज बनाइदिएकै कारण इन्डी आर्टिस्टहरू बढेको अभिषेक बताउँछन् । ‘प्रविधिको विकासले अहिले इन्डी म्युजिक गर्नेहरू बढेका हुन् । विश्वका कलाकारले अभ्यास गर्दै आइरहेको रेकर्डिङ स्टुडियो भने हामीकहाँ छैन,’ उनले भने, ‘हामीले घरबाटै रेकर्डिङ गरेर सुरु गर्‍यौं । आफैं सिक्ने, आफैं संगीत भर्ने अनि आफैं रेकर्ड गरेका गीत दर्शकलाई मन पनि पर्छ । अहिलेको यो अभ्यास राम्रो पनि हो ।’ कुनै बेला स्पुलमा रेकर्डिङ गरिन्थ्यो । त्यसपछि अडाट हुँदै डिजिटल अडियो टेपको जमाना आयो । अहिले इन्टरनेटबाट थुप्रैले आफैंले संगीत निर्माण गर्न सिके । संगीत निर्माणदेखि रेकर्डिङ शैली उस्ता–उस्तै भएकै कारण अहिलेका गीतहरू उस्ता–उस्तै सुनिएको लोचनको धारणा छ । संगीतकार रोहित शाक्य, सज्जन, यावेश अनि प्रवेशकुमार श्रेष्ठहरूका शैली उस्तै सुनिनुमा दर्शक कारक देख्छन् ।

‘दर्शक पनि उनीहरूबाट उस्तै शैलीका गीत खोजिरहेका छन् । अब दर्शक आर्टिस्टहरूले दिने संगीतबारे अवेयर हुनुपर्छ,’ उनले भने । लोचन युवा संगीतकर्मी फरक धुन निकाल्न खोजिरहेको देख्छन् । ‘अहिलेको गीतार बजाउने शैली पहिलाको जस्तो छैन । उनीहरू थुप्रै शैलीका धुनहरू गीतारमा बजाउँछन् । पहिला त्यही मेजर/माइनरमा गीत बन्थ्यो । प्रविधिको पहुँच र सिकाइकै कारण उनीहरू गितार पनि एकदमै फरक बजाइदिन्छन्,’ लोचनले भने,’ अहिलेको आर्टिस्टहरूको सबैभन्दा मन परेको कुरा, उनीहरू दर्शक लक्षित गरेर संगीत गरिरहेका छन् । साउन्ड एकदमै फरक निर्माण गर्न खोजिरहेका छन् ।’

अहिलेका संगीतकर्मीले पश्चिमा संगीत पछ्याइए पनि उनीहरूका गीतमा नेपालीपन भेटिने गरेको सत्य लोचन स्विकार्छन् । भन्छन्, ‘क्लासिकल गायक हुन त खतरा तपस्या नै गर्नुपर्छ । तर, अहिलेको युवा पुस्ताले गरिरहेको संगीत मलाई मनपर्छ । वेस्टको पप स्टार जतिकै राम्रो कलाकार अहिले हामीकहाँ छन् जस्तो लाग्छ । यसरी नै सिक्दै अगाडि बढ्ने हो ।’ शाश्वत पनि लोचनका कुरामा सहमत देखिन्छन् । ‘आजभोलि प्रचलनमा आइरहेको इन्डी विधाभित्र पनि नेपालीपन देख्छु,’ उनले भने । सज्जनकै ‘ह्यात्तेरी’ मा पुरानो गीतको इम्पोभाइज्ड (स्लो+रिभर्भ) भर्सन मिसिएको छ । ‘रातो रानी फुलेझैं साँझमा । तिमी फुल्यौ कलेजी माझमा...’ को इम्पोभाइज्ड भर्सनले गीतमा झनै मिठास भरिदिएको भन्ने कमेन्टहरू ‘ह्यात्तेरी’ मा प्रशस्तै भेटिन्छन् । यसअघि ‘एक सर्वनाम’ बोलको गीतमा फिल्म ‘माइतीघर’ को नमान लाज यस्तरीको इम्पोभाइज्ड भर्सन घुसाइएको थियो ।

सरल र सजिलो

युवा दर्शकले सरल अनि सहज संगीत रुचाउने संगीतकार रोहित शाक्यको विश्लेषण छ । ‘पहिला कुनै संगीत सुन्नलाई त्यो संगीत गर्ने आर्टिस्टलाई नै फलो गरिन्थ्यो । तर, अहिले त सबै संगीत ब्याकग्राउन्डमा बज्ने गरी सुनिरहेका छन् । क्यासेट बजाएर सुनौं भन्ने हुँदैन । केही काम गरिरहँदा पनि ब्याकग्राउन्डमा संगीत बजिरहोस् भन्ने तरिकाले प्रयोग गर्छन्, ‘उनले भने, ‘त्यसो गर्दा संगीतले ध्यान भंग गर्दैन र रुचाइँदो रहेछ । धेरै सोच्नुपर्ने अनि ध्यान दिनुपर्ने संगीत दर्शकले रुचाउँदैनन् ।’ रैथाने संगीतको खोज अनि ‍जगेर्नामा व्यस्त गायिका झुमा लिम्बूको भनाइ पनि रोहितको भन्दा खासै फरक छैन । ‘उनीहरूले गर्ने संगीतमा स्ट्रेस छैन । बोलीचालीको भाषामा बनेका छन् गीत । बुझ्नलाई

अप्ठ्यारो नपर्ने खालका छन्, ‘उनले भनिन्, ‘२० वर्ष अगाडि फलाना गीतकारले लेखेको गीत राम्रो हुन्छ भन्ने मान्यता थियो । अहिले त्यो भत्कियो । युवालाई यो मेरै कथा हो भन्ने भावना जगाइदिने संगीत चलिरहेको छ ।’ ५ करोड बढीले युट्युबमा हेरेको शाश्वतको ‘बतास’ गाउन सजिलो र बुझन् गहिरिनु पर्दैन । शब्द, रचना पनि उस्तै छोटो र मिठो छ ।

व्यावसायिक बजारलाई चुनौती दिइरहेको अहिलेको यो संगीतले युवा भावना समेटेकै कारण ठूलो संख्याको दर्शकले रुचाइदिएको शाश्वत बताउँछन् । ‘इन्डीमा फिलिङहरू जस्तो छ त्यस्तै आउँछ । त्यस्तो भएपछि दर्शकलाई त्यो गीत आफ्नै लाग्ने भयो, आफूले भोगेकै भावना छ भन्ने हुन्छ, ‘उनले भने, ‘अहिले टिकटकका कारण पनि धेरै गीत दर्शकले आफ्नो जीवनसँग जोड्न पाएका छन् ।’

आफूहरूले दर्शकलाई नयाँ संगीत दिन खोजिरहेको र विस्तारै यसमा सफलता मिलिरहेको यावेशको भनाइ छ । ‘हामी आफ्नै शब्द र संगीतमार्फत दर्शकबीच पुगिरहेका छौं,’ उनले भने । तर चर्चामा रहेको यो विधाको आयु भने लामो नरहने लोचनको विश्लेषण छ । भन्छन्, ‘यो एउटा समयको कुरा हो । आजभन्दा २/३ सय वर्ष अगाडि यसरी नै गन्धर्वका गीतहरू चर्चामा थिए । त्यसपछि नारायण गोपालहरू आइपुगे । त्यसपछि क्रसरोड्स, नवीन के भट्टराईहरू आए । आधुनिक गीतको जमाना आयो । अहिले चर्चामा आएको संगीतले व्यवसायमा राम्रै गर्ला तर समयसम्म रहँदैन होला ।’

तर सन् २०१० बाट सिंगर सङ राइटर शैली अभ्यासमा आएको हुनाले अझै लामो समय टिक्ने रोहितको बुझाइ छ । ‘बल्ल यो संगीत सुरु हुँदै छ । सुन्दा–सुन्दा वाक्क भइसकेपछि यो संगीत हराउँदै जाला । तर, अझै केही समय त चल्छ होला,’ उनले भने । ‘जति नै गहिरिएको संगीत भए पनि एउटा भुइँमान्छेले गीतलाई जसरी बुझ्छ, त्यही संगीत चर्चामा आउने हो ।’ यो संगीतको आयु यकिन गरेर यति नै भन्न नमिल्ने झुमा बताउँछिन् । ‘अहिले फ्याट्ट चर्चामा आउन सजिलो छ । अनि फुत्त हराउन पनि समय लाग्दैन ।’

प्रकाशित : पुस २६, २०७९ १२:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×