२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

बेलायतमा दिनहुँजसो हडताल

बढ्दो महँगीबीच ज्यालावृद्धि र सुविधा माग गर्दै हुलाक कर्मचारी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, राजमार्गका कामदार, बस चालक र रेल कर्मचारी, एयरपोर्ट ब्यागेज ह्यान्डलर, सीमाबलका कर्मचारी र ड्राइभिङ परीक्षक हडतालमा उत्रेपछि बेलायती जनजीवन अस्तव्यस्त 
नवीन पोखरेल

लन्डन — राजनीतिक अस्थिरताबीच अल्पविकसित देशमा बन्द हडताल र विरोध प्रदर्शन स्वाभाविक मानिन्छ । आफ्ना माग सम्बोधनका लागि सरकारलाई दबाब दिन त्यो अस्त्र प्रभावकारी पनि ठानिन्छ । तर, पछिल्लो समय त्यस्तो अन्योल र अस्थिरता विकसित मुलुक बेलायतले पनि भोगिरहेको छ । बढ्दो महँगीबीच ज्यालावृद्धि र सुविधा माग गर्दै डिसेम्बरभर बेलायत हडतालबाट प्रभावित बनेको छ । 

बेलायतमा दिनहुँजसो हडताल

हुलाक कर्मचारी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, राजमार्गका कामदार, बस चालक र रेल कर्मचारी, एयरपोर्ट ब्यागेज ह्यान्डलर, सीमाबलका कर्मचारी र ड्राइभिङ परीक्षकहरू हडतालमा उत्रिँदा बेलायती जनजीवन अस्तव्यस्त हुने गरेको छ । बेलायतका नर्सले १०६ वर्षको इतिहासमा गत बिहीबार सबैभन्दा बृहत् हडताल र प्रदर्शन गरे । आगामी मंगलबार थप हडताल गर्ने उनीहरूको कार्यक्रम छ । जनशक्ति थप र ज्याला वृद्धि मागसहित उनीहरू आन्दोलित भएका हुन् ।

उता, बस र रेल हडतालका कारण सर्वसाधारण सबैभन्दा पीडित छन् । दिनहुँ जागिर गर्नुपर्ने कामदार यातायात अवरुद्ध हुँदा निकै मर्कामा छन् । यसले महान् पर्व क्रिसमसको उल्लास पनि घटाएको छ ।

‘बेलायतमा अब त बस, रेल हडताल कहिले होइन कि कुन दिन छैन भन्ने पो हुन थाल्यो,’ लन्डनवासी नेपाली रीता मगर भन्छिन्, ‘यहाँ काम नगरी सुख छैन । तर दैनिक हडतालले काममा सधैं ढिला पुग्दा कुन दिन कामबाट निकालिनुपर्ने हो ।’

लन्डनमा विभिन्न बस कम्पनीका कामदारले पालैपालो हडताल गरेका छन् । लन्डनमा बस सञ्चालन गर्ने कम्पनी अबेलियो बस समूहका कामदारले डिसेम्बर १६ र १७ मा हडताल गरे भने आगामी डिसेम्बर २४, २७ र ३१ मा पुनः हडताल गर्दै छन् ।

विगत ९ वर्षदेखि अबेलियो बस समूहसँग आबद्ध विष्णु गुरुङ अहिलेको बढ्दो मुद्रास्फीतिमा न्यून ज्याला हुँदा आफूहरू हडतालमा उत्रनु परेको बताए । २० वर्षदेखि लन्डनमा बस हाँक्दै आएका गुरुङ युनाइट द युनियन सदस्य हुन् । ‘अन्य बस कम्पनीको तुलनामा हाम्रो झन्डै १० वर्षदेखि ज्याला सन्तोषजनक थिएन । अहिलेको परिस्थितिमा त बाँच्न पनि गाह्रो हुने भयो,’ उनले कान्तिपुरसँग गुनासो गरे । हडतालपछि कति कम्पनीको माग पूरा भए पनि आफूहरूको बाँकी रहेको उनले बताए । डिसेम्बर १६ र १७ मा हडताल गरेका राजमार्गका कामदारले फेरि डिसेम्बर ३० र ३१ तथा जनवरी ४ देखि ७ सम्म पुनः हडताल गर्ने तय छ । उता, रेल कामदारले डिसेम्बर १३, १६ र १७ मा हडताल गरेका थिए भने अब क्रिसमसकै बेला २४ देखि २९ डिसेम्बरसम्म र जनवरी ३ देखि ४ र ६ देखि ७ मा फेरि हडताल आह्वान गरेका छन् ।

शनिबार यस साताभित्र चौथो र आरएमटी युनियनले समरमा हडतालका लागि मतदान गरेयताको १२ औं हडताल थियो । हडतालका कारण क्रिसमसका बेला उल्लेख्य व्यापार गर्ने हस्पिटालिटी र रिटेल पसल मारमा परेका छन् ।

सबैभन्दा संवेदनशील मानिने सीमा क्षेत्र पनि हडतालबाट अस्तव्यस्त हुने भएको छ । दि पब्लिक एन्ड कमर्सियल सर्भिस युनियनको आह्वानमा बेलायत प्रवेश गर्दा अध्यागमन नियन्त्रण र राहदानी परीक्षण गर्ने बोर्डर फोर्स कर्मचारी हडतालमा उत्रिएका छन् । उनीहरूले डिसेम्बर २३ देखि २६ र २८ देखि ३१ सम्म हडताल गर्दै छन् । उक्त हडतालले यात्रु सीमामा घन्टौं कुर्नुपर्ने हुन सक्छ ।

सरकारले बोर्डर फोर्स र एम्बुलेन्स कर्मचारीको हडताल प्रभाव कम गर्न करिब १२ सय सैनिक र एक हजार निजामती कर्मचारी परिचालन गर्ने जनाएको छ । तर, त्यो जनशक्ति पर्याप्त नहुने युनियनको जिकिर छ ।

इंग्ल्यान्ड र वेल्सका करिब १० हजार एम्बुलेन्स कर्मचारी हडतालमा उत्रिने भएका हुन् । बेलायतीहरू दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले आक्रान्त छन् । बेलायतमा मुद्रास्फीति डबल डिजिटमा पुगेको र अर्थतन्त्र मन्दीमा गएको बेला बेलायतको केन्द्रीय बैंक (बैंक अफ इंग्ल्यान्ड) ले यो वर्ष आठौं पटक ब्याजदर बढाएको छ । बैंक अफ इंग्ल्यान्डले ब्याजदर बढाएर ३.५ प्रतिशत पुर्‍याएको छ । यो सन् २००८ यताको सबैभन्दा बढी ब्याजदर वृद्धि पनि हो । बैंकले गत डिसेम्बर २०२१ देखि केन्द्रीय बैंकले ब्याजदर बढाउन सुरु गरेको थियो ।

प्रकाशित : पुस ४, २०७९ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?