प्राध्यापक सुवेदीलाई बेलायत र युरोपेली संघबीच विवादको मध्यस्थता गर्न भूमिका- विश्व - कान्तिपुर समाचार

प्राध्यापक सुवेदीलाई बेलायत र युरोपेली संघबीच विवादको मध्यस्थता गर्न भूमिका

नवीन पोखरेल

लन्डन — बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीले बेलायत र युरोपेली संघबीच विवादको मध्यस्थता गर्न भूमिका पाएका छन् ।

युरोपेली संघबाट बेलायतको बहिगर्मन (ब्रेक्जिट) पछि युरोपेली संघ र बेलायतबीच भविष्यको सम्बन्ध नियमन गर्ने एक ठूलो सम्झौता भएको थियो । ‘व्यापार र पारस्परिक सहयोग’ नाम भएको उक्त सम्झौतामा युरोपेली संघ र बेलायतबीच कुनै विवाद उठेमा त्यस्ता विवाद दुवै पक्षले मन्जुर गरेका अन्तर्राष्ट्रिय कानुनका प्रबुद्ध विद्वानहरूको मध्यस्थता (आर्बिट्रेसन) बाट निराकरण गर्ने सहमति भएको थियो ।

त्यहीप्रावधान अनुसार युरोपेली संघ र बेलायतले अन्तरराष्ट्रिय कानुनका शीर्षस्थ विद्वानहरुको सूची तयार गर्ने क्रममा प्रा. सुवेदीले प्राध्यापकको रूपमा अन्तर्राष्ट्रिय कानुनमा दिएको योगदान र वरिष्ठ ब्यारिष्टरको रूपमा गरेको कामको कदर गर्दै उनको नाम पनि समावेश गर्ने निर्णय गरेको हो ।

यस्तो नियुक्तिले युरोपेली संघ र बेलायतबीचको भविष्यमा उठ्ने विवाद समाधान गर्ने काममा प्रा सुवेदीले भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

अन्तर्राष्ट्रिय कानूनका थुप्रै शीर्षस्थ विद्वान भएको बेलायतबाट छानिने ६ जनाको नाममा आफ्नो नाम पनि समावेश भएकामा प्राध्यापक सुवेदीले आफू गौरवान्वित भएको बताएका छन् ।

प्रकाशित : पुस १, २०७९ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्

बेलायतमा नर्सहरूको हालसम्मकै ठूलो हडताल

– १९ प्रतिशत तलब वृद्धिको माग गर्दै इंग्ल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डका हजारौं नर्स आन्दोलित
– सरकारमाथि अन्य कैयौं आर्थिक दबाब रहेकाले नर्सिङ युनियनको माग सम्बोधन गर्न नसकिने स्वास्थ्यमन्त्रीको भनाइ
नवीन पोखरेल

लन्डन — ब्रिटेनको नेसनल हेल्थ सर्भिस (एनएचस) मा कार्यरत नर्सहरुले बिहीबार १ सय ६ वर्ष यताकै सबैभन्दा ठूलो हडताल गरेका छन् । इंग्ल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा कार्यरत हजारौं नर्सले हडताल गरेका हुन् ।

१९ प्रतिशत तलब वृद्धिको माग गर्दै उनीहरूले हडताल गर्दा बिहीबार हजारौं बिरामी प्रभावित भएका बेलायती अखबारहरुले उल्लेख गरेका छन् । यसअघि आरसीएसनले सरकारले प्रस्ताव गरेको वार्षिक १४ सय पाउन्ड (करिब ४.३ प्रतिशत) तलब वृद्धि अस्वीकार गरेको थियो । नर्सहरुको युनियन ‘रोयल कलेज अफ नर्सिङ’ (आरसीएसन) को आह्वानमा त्यसमा आवद्ध झण्डै एक लाख नर्स हडतालमा उत्रिंदा अस्पताल सेवा प्रभावित बन्यो ।

केमोथेरापी र डायलसिस गर्नुपर्ने बिरामी, गर्भवती महिला, बालबालिका, इन्टेन्सिभ केयरजस्ता अत्यावश्यक सेवाबाहेक विभागमा कार्यरत नर्स हडतालमा उत्रिएका हुन् । आउँदो मंगलबार पनि १२ घण्टे हडताल आह्वान गरिएको छ । आफ्ना माग बेवास्ता गरिए आउँदो महिना अझ लामो हडताल गर्ने उनीहरूले चेतावनी दिएका छन् । ब्रिटिस स्वास्थ्यमन्त्री स्टिभ बार्कलेले सरकारमाथि अरु कैयौं आर्थिक दबाब परि रहेकाले सरकारले नर्सिङ युनियनहरूले मागे जति तलब वृद्धि गर्न नसक्ने बताएका छन् ।

रोयल कलेज अफ नर्सिङकी अध्यक्ष प्याट कलेनले खाली रहेका हजारौं नर्सिङ पदहरु पूरा गर्न माग गरिन् । ‘नर्स र बिरामीहरूका लागि यो दुखद् दिन हो,’ उनले भनिन् । तर, स्कटल्यान्डको राज्य सरकारले नर्सहरुको तलबमा ७५ प्रतिशत वृद्धि गर्न सहमत भए पछि त्यहाँ नर्सहरुले घोषणा गरेको हडताल फिर्ता लिएका थिए ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) अन्तर्गत नर्स हरुको झन्डै ४७ हजार पद रिक्त रहेको बताइएको छ । नेप्लिज नर्सिङ एसोसिएसन यूके अध्यक्ष सुनिता गौतमले नर्सहरुलाई कामको चाप ज्यादा तर तलब, सेवासुविधा न्यून भएपछि हडतालमा उत्रनु स्वाभाविक भएको बताइन् । ‘कोभिड महामारीका बेला हामीले ज्यानको बाजी लगाएर काम गर्‍यौं । अन्यत्र सबैतिर ज्याला बढ्यो तर हामीलाई हेरिएन’, गौतमले कान्तिपुरसँग भनिन् । अध्यक्ष गौतमले बेलायतमा कार्यरत नेपाली नर्सहरुको संख्या कम्तीमा दुई हजार रहेको बताइन् ।

उता, लन्डन इलिङ अस्पतालको क्रिटिकल केयर युनिटमा कार्यरत नर्स स्पेसलिस्ट प्रसुना कँडेलको गुनासो पनि समान छ । अहिले नर्सहरुले दिनमा १४ घण्टासम्म काम गर्नु परेको यथार्थ सुनाइन् । ‘कामको भारले गर्दा नर्सहरु धेरै बिरामी भइरहेका छन् । यो जागिर छाड्ने क्रम पनि बढिरहेको छ,’ कँडेलले भनिन्, ‘कम्तीमा तलब चित्तबुझ्दो भइदिए पनि काम गर्ने वातावरण बन्थ्यो । अहिलेको महँगीमा धेरै नर्सहरुलाई बाँच्न पनि कठिन भएको अवस्था छ ।’

बेलायत सरकारले हालै नेपाल सरकारसँग नेपाली नर्सहरु एनएचएसमा भर्ती गर्न सम्झौता गरेको छ ।

प्रकाशित : मंसिर २९, २०७९ २२:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×