बेलायतमा नर्सहरूको हालसम्मकै ठूलो हडताल- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायतमा नर्सहरूको हालसम्मकै ठूलो हडताल

– १९ प्रतिशत तलब वृद्धिको माग गर्दै इंग्ल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डका हजारौं नर्स आन्दोलित
– सरकारमाथि अन्य कैयौं आर्थिक दबाब रहेकाले नर्सिङ युनियनको माग सम्बोधन गर्न नसकिने स्वास्थ्यमन्त्रीको भनाइ
नवीन पोखरेल

लन्डन — ब्रिटेनको नेसनल हेल्थ सर्भिस (एनएचस) मा कार्यरत नर्सहरुले बिहीबार १ सय ६ वर्ष यताकै सबैभन्दा ठूलो हडताल गरेका छन् । इंग्ल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा कार्यरत हजारौं नर्सले हडताल गरेका हुन् ।

१९ प्रतिशत तलब वृद्धिको माग गर्दै उनीहरूले हडताल गर्दा बिहीबार हजारौं बिरामी प्रभावित भएका बेलायती अखबारहरुले उल्लेख गरेका छन् । यसअघि आरसीएसनले सरकारले प्रस्ताव गरेको वार्षिक १४ सय पाउन्ड (करिब ४.३ प्रतिशत) तलब वृद्धि अस्वीकार गरेको थियो । नर्सहरुको युनियन ‘रोयल कलेज अफ नर्सिङ’ (आरसीएसन) को आह्वानमा त्यसमा आवद्ध झण्डै एक लाख नर्स हडतालमा उत्रिंदा अस्पताल सेवा प्रभावित बन्यो ।

केमोथेरापी र डायलसिस गर्नुपर्ने बिरामी, गर्भवती महिला, बालबालिका, इन्टेन्सिभ केयरजस्ता अत्यावश्यक सेवाबाहेक विभागमा कार्यरत नर्स हडतालमा उत्रिएका हुन् । आउँदो मंगलबार पनि १२ घण्टे हडताल आह्वान गरिएको छ । आफ्ना माग बेवास्ता गरिए आउँदो महिना अझ लामो हडताल गर्ने उनीहरूले चेतावनी दिएका छन् । ब्रिटिस स्वास्थ्यमन्त्री स्टिभ बार्कलेले सरकारमाथि अरु कैयौं आर्थिक दबाब परि रहेकाले सरकारले नर्सिङ युनियनहरूले मागे जति तलब वृद्धि गर्न नसक्ने बताएका छन् ।

रोयल कलेज अफ नर्सिङकी अध्यक्ष प्याट कलेनले खाली रहेका हजारौं नर्सिङ पदहरु पूरा गर्न माग गरिन् । ‘नर्स र बिरामीहरूका लागि यो दुखद् दिन हो,’ उनले भनिन् । तर, स्कटल्यान्डको राज्य सरकारले नर्सहरुको तलबमा ७५ प्रतिशत वृद्धि गर्न सहमत भए पछि त्यहाँ नर्सहरुले घोषणा गरेको हडताल फिर्ता लिएका थिए ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) अन्तर्गत नर्स हरुको झन्डै ४७ हजार पद रिक्त रहेको बताइएको छ । नेप्लिज नर्सिङ एसोसिएसन यूके अध्यक्ष सुनिता गौतमले नर्सहरुलाई कामको चाप ज्यादा तर तलब, सेवासुविधा न्यून भएपछि हडतालमा उत्रनु स्वाभाविक भएको बताइन् । ‘कोभिड महामारीका बेला हामीले ज्यानको बाजी लगाएर काम गर्‍यौं । अन्यत्र सबैतिर ज्याला बढ्यो तर हामीलाई हेरिएन’, गौतमले कान्तिपुरसँग भनिन् । अध्यक्ष गौतमले बेलायतमा कार्यरत नेपाली नर्सहरुको संख्या कम्तीमा दुई हजार रहेको बताइन् ।

उता, लन्डन इलिङ अस्पतालको क्रिटिकल केयर युनिटमा कार्यरत नर्स स्पेसलिस्ट प्रसुना कँडेलको गुनासो पनि समान छ । अहिले नर्सहरुले दिनमा १४ घण्टासम्म काम गर्नु परेको यथार्थ सुनाइन् । ‘कामको भारले गर्दा नर्सहरु धेरै बिरामी भइरहेका छन् । यो जागिर छाड्ने क्रम पनि बढिरहेको छ,’ कँडेलले भनिन्, ‘कम्तीमा तलब चित्तबुझ्दो भइदिए पनि काम गर्ने वातावरण बन्थ्यो । अहिलेको महँगीमा धेरै नर्सहरुलाई बाँच्न पनि कठिन भएको अवस्था छ ।’

बेलायत सरकारले हालै नेपाल सरकारसँग नेपाली नर्सहरु एनएचएसमा भर्ती गर्न सम्झौता गरेको छ ।

प्रकाशित : मंसिर २९, २०७९ २२:२८
प्रतिक्रिया
पठाउनुहोस्

शाही ‘मिसेस नेपाल युनिभर्स’

नवीन पोखरेल

लन्डन — बेलायतमा आयोजित तेस्रो ‘मिसेस नेपाल युनिभर्स २०२२’ प्रतियोगिताको उपाधि सन्नी शाहीले जितेकी छन् । लन्डन फेसन हाउसले आइतबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरेको प्रतियोगिताको उपाधि शाहीले जितेकी हुन् ।

पब्लिक च्वाइस उपाधि पनि हात पारेकी शाहीले बुल्गेरियामा हुने ४५ औं मिसेस युनिभर्समा सहभागिता जनाउने छिन् । कार्यक्रमकी प्रमुख अतिथि लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, आयोजक लन्डन फेसन हाउसकी निर्देशक मनीषा डंगोल श्रेष्ठ र सन् २०१८ की विजेता बिनु लामिछानेले शाहीलाई ताज पहिराइदिएका हुन् । प्रतियोगितामा विमला बुढाथोकीले फस्ट रनर अप बनेर मिसेस नेपाल वर्ल्डवाइड उपाधि पाएकी छन् । रीना अधिकारी सेकेन्ड रनरअप भएर मिसेस नेपाल युरोप २०२२ उपाधि पाएकी छन् । त्यसैगरि, अञ्जु बस्नेत र कविता खनालले थर्ड रनर अप उपाधि हात पारेका छन् । निष्मा बन फोर्थ रनर अप बनिन् ।

सब टाइटिलमा वेस्ट स्माइल विनिता बस्नेत, वेस्ट कल्चरल ड्रेस हिना थापा, वेस्ट लर्नर प्रमिला केसी, वेस्ट पर्सनालिटी रीना अधिकारी, वेस्ट क्याटवाक श्रीजा डंगोल, मिसेस मोटिभेटर मीनु शाह, वेस्ट फिगर विनिता अधिकारी खनाल, वेस्ट ब्युटिफुल फेस निष्मा बन, वेस्ट एक्टिङ सविता श्रेष्ठ, वेस्ट कन्फिडेन्स शोभा क्षत्री, पब्लिक च्वाइस सन्नी शाही, मिसेस ट्यालेन्ट उपाधि विमला बुढाथोकी, ब्युटी फर चेन्ज उपाधि दुई प्रतियोगी अञ्जु बस्नेत र कविता खनालले पाए । प्रतियोगितामा १४ विवाहित महिला सहभागी थिए ।

प्रतियोगिताको निर्णायकमा विभिन्न क्षेत्रमा क्रियाशील श्वेता हुसेन, कञ्चन डंगोल, दीपक थापा र कविता घर्तीमगर गुरुङ थिए । विवाहित महिलाहरूको बाह्य तथा आन्तरिक सौन्दर्य, क्षमता र आत्मविश्वास अभिवृद्धि एवं महिला सशक्तीकरण गर्ने उद्देश्यले प्रतियोगिता गरिएको लन्डन फेसन हाउसकी निर्देशक मनीषा डंगोल श्रेष्ठले बताइन् । महिला सशक्तीकरण अधिकारका लागि लडाइँ मात्र होइन्, उनीहरूलाई स्वतन्त्र, उद्यमी र आत्मविश्वासी बनाउनु पनि भएको उनले बताइन् । कार्यक्रमका अवसरमा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ बेलायत ९फिने यूके० कार्यसमितिसमेत घोषणा गरियो जसमा अध्यक्ष मनीषा डंगोल श्रेष्ठ, उपाध्यक्षहरू विनोद बराल, विनोद श्रेष्ठ, महासचिव सजनी लामा, सहसचिव सन्तोषी कार्की र बन्दना केसी छन् । टिम पछि विस्तार गरिने जनाइएको छ ।

प्रकाशित : मंसिर २०, २०७९ ०७:१२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×