तालिवान फौजको आक्रमणमा ७ पाकिस्तानीको मृत्यु- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तालिवान फौजको आक्रमणमा ७ पाकिस्तानीको मृत्यु

जवाफी आक्रमणमा एक तालिवान मारिए
पाकिस्तानी प्रधानमन्त्रीद्वारा घटनाको भर्त्सना
एजेन्सीहरू

इस्लामाबाद — अफगानिस्तानको तालिवान फौजले पाकिस्तानको सीमावर्ती सहर चमनमा आइतबार गरेको आक्रमणमा ७ जना पाकिस्तानी सर्वसाधारणको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार बम तथा गोली प्रहारबाट १७ जना घाइते भएका छन् ।

आक्रमणपछि अफगानिस्तान र पाकिस्तानबीचको तनाव बढेको छ । पाकिस्तानी सेनाले घटनाको भर्त्सना गर्दै अफगान भूमिमा ‘अन्धाधुन्ध गोली प्रहार गरेको’ बीबीसीले जनाएको छ । पाकिस्तानले गरेको जवाफी आक्रमणमा एक जना सैनिकको ज्यान गएको र केही घाइते भएका जनाइएको छ ।

बलुचिस्तान प्रान्तको चमन दुई देशबीचको प्रमुख व्यापारिक नाका हो । उक्त नाकाबाट दैनिक हजारौं मानिस ओहोरदोहर गर्ने गर्छन् । घटनापछि बन्द भएको आवागमन वार्तापछि खुला गरिएको अधिकारीहरूले बताएका छन् । प्रमुख सीमा नाकामा भएको घटनाको कारण भने थाहा भइसकेको छैन ।

तालिवानले अफगानिस्तानको शासन सत्ता सम्हालेयता सुरक्षा मुद्दाका कारण दुई देशबीच तनाव जारी रहेका बेला यो पछिल्लो घटना भएको हो । पाकिस्तानी प्रधानमन्त्री शेहवाज सरिफले अफगान कदम ‘निकै भर्त्सनायोग्य’ भएको बताएका छन् । अफगान सुरक्षा स्रोतका अनुसार पाकिस्तानी पक्षले अफगान फौजलाई सीमा क्षेत्रमा आफ्नो भूभागतर्फ चेकपोस्ट बनाउन रोक लगाएपछि घटना भएको समाचार संस्था रोयटर्सले जनाएको छ । समाचार संस्था एएफपीले अफगान अधिकारीलाई उद्धृत गर्दै अफगान फौजले चेकपोस्ट बनाउन सीमा क्षेत्रको जाली काट्ने प्रयास गरेपछि तनाव बढेको उल्लेख गरेको छ ।

पाकिस्तानले सन् २०१७ यता अफगानिस्तानसँगको सीमामा तारजाली गर्दै आएको छ । अफगानिस्तानको त्यतिबेलाको सरकार र गतवर्ष सरकारमा आएको तालिवानले उक्त कार्यको विरोध गरेका थिए ।

घटनापछि लिइएका तस्बिरहरूमा तोप र गोली प्रहारबाट मानिसहरू घाइते भएका र गाडी तथा सडक ध्वस्त भएको देखिएको छ । ‘अकस्मात् एउटा मोर्टार प्रहार भयो र त्यसले निकै ठूलो आगो फैलियो । त्यसपछिको अवस्थाबारे केही थाहा छैन,’ घटनास्थलमा बेहोस भएपछि अस्पताल पुर्‍याइएका एक घाइतेले अल जजिरासँग भनेका छन् ।

चमनस्थित सरकारी अस्पतालका चिकित्सक अख्तर मोहम्मदले २७ जना घाइतेलाई उपचारका लागि अस्पतालमा ल्याइएको जनाएका छन् । तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको उनको भनाइ छ । पाकिस्तानी सेनाको सञ्चार शाखाले तालिवानी फौजको आक्रमणमा ६ जनाको घटनास्थलमा मृत्यु भएको र पछि मृतकको संख्या ७ पुगेको जनाएको छ । अफगानिस्तानको कान्दाहारका गभर्नरले एक जना तालिवान सदस्यको ज्यान गएको र १० जना घाइते भएको पुष्टि गरेका बीबीसीले जनाएको छ ।

चमनमा यसअघि पनि दुवै पक्षबीच पटकपटक झडप भएका थिए । गत महिना एक बन्दुकधारीको आक्रमणमा पाकिस्तानी सैनिकको ज्यान गएपछि ८ दिनसम्म उक्त सीमा बन्द गरिएको थियो ।

पाकिस्तानी अधिकारीले तालिवान सरकारमा आएपछि अफगानिस्तानबाट आफ्नो भूभागमा विद्रोही आक्रमणमा वृद्धि भएको जनाएका छन् । त्यस्ता समूहलाई तालिवानले आश्रय दिँदै आएको पाकिस्तानको आरोप छ । दुई साताअघि दुई बन्दुकधारीले अफगानिस्तानको राजधानी काबुलस्थित पाकिस्तानी दूतावासमा आक्रमण गरेका थिए । पाकिस्तानले त्यसलाई आफ्ना ‘उच्च कूटनीतिज्ञको हत्या प्रयास’ भनेको थियो ।

काबुलको होटलमा आक्रमण

काबुल – अफगानिस्तानको राजधानी काबुलस्थित चिनियाँ व्यवसायीहरूका लागि लोकप्रिय एक होटलमा सोमबार बन्दुकधारीले आक्रमण गरेका छन् । काबुल लोंगन होटलमा आक्रमण गर्ने तीन बन्दुकधारी अफगानिस्तानको सुरक्षा फौजको जवाफी आक्रमणमा मारिएका छन् ।

तालिवान सरकारका प्रवक्ताका अनुसार काबुलको केन्द्रमा रहेको काबुल लोंगन होटलमा सोमबार दिउँसो अपरिचित बन्दुकधारीले कैयौं विस्फोट गराएका र गोली प्रहार गरेका थिए । आक्रमणमा कुनै पनि विदेशीको ज्यान नगएको तर ज्यान बचाउन होटलको बाल्कोनीबाट हामफाल्दा दुई जना घाइते भएका प्रवक्ता जबिहुल्लाह मुजाहिदले जनाए । घटनालगत्तै तालिवान सुरक्षा बलले घटनास्थललाई नियन्त्रणमा लिएको थियो । गतवर्ष अगस्टमा सत्तामा आएयता तालिवानले सुरक्षामा सुधार गरेको दाबी गरे पनि अफगानिस्तानमा बम विस्फोट तथा गोली प्रहारका घटनामा वृद्धि भएको जनाइएको छ । ती आक्रमणमा इस्लामिक स्टेट समूहको हात रहेको तालिवानको दाबी छ ।

प्रकाशित : मंसिर २७, २०७९ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्

कस्तो होला रोनाल्डोको आगामी यात्रा ?

मोरक्कोसँगको पराजयसँगै क्रिस्टियानो रोनाल्डोको विश्वकप सपना अन्त्य भएको छ
एजेन्सीहरू

काठमाडौँ — कतारमा जारी विश्वकपको विजेताको दावेदार मानिएको पोर्चुगल नकआउट चरणमा मोरक्कोसँग १ गोल खाँदै यसपटकको विश्वकप प्रतिस्पर्धाबाटै बाहिरियो ।

यसपटकको विश्वकप पोर्चुगलका लागि जति महत्त्वपूर्ण थियो त्यसभन्दा धेरै महत्त्वपूर्ण कप्तान क्रिस्टियानो रोनाल्डोका लागि पनि थियो । उनका लागि आफ्नो करिअरको अन्तिम विश्वकप पोर्चुगललाई जिताउनु खेल करिअरमै एक ऐतिहासिक योगदान हुने थियो, जुन अवसर उनले गुमाइसकेका छन् ।

पोर्चुगलका लागि त आगामी विश्वकपका लागि आफूलाई तयार पार्न पर्याप्त समय छ । जुन अवसर र समय एक खेलाडीको रुपमा ३७ वर्षीय रोनाल्डोका लागि छैन । कतारमा शनिबार राति मोरक्कोबाट पराजित भएसँगै रोनाल्डोको विश्वकप विजेता बन्ने सपना टुंगिएको छ ।

मोरक्कोसँगको अन्तिम खेलको पहिलो हाफको अवधिभर पोर्चुगलका कोच फर्नान्डो सान्तोसले रोनाल्डोलाई बेन्चमै राखिदिएका थिए । दोस्रो हाफ सुरु भएसँगै रोनाल्डो मैदानमा उत्रिए । तर गोल गर्न सकेनन् । खेल सकिँदासम्म मोरक्कोले १ गोल हानिसकेको थियो भने पोर्चुगलले शून्यमै चित्त बुझाउनुपर्‍यो ।

खेल सकिएसँगै रोनाल्डो निकै निराश र स्तब्ध देखिए । टोलीका साथीहरूसँग अंकमाल नगरी उनी मैदानबाट बाहिर निस्किए। मैदानबाट एक्लै बाहिरिँदै गर्दा उनी दुखित देखिन्थे ।

रोनाल्डोले हालसम्म आफ्नो अन्तर्राष्ट्रिय खेल करिअरको भविष्यबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यद्यपि कतार विश्वकप नै रोनाल्डोका लागि अन्तिम विश्वकप भएको अधिकांश खेल समीक्षकहरूको टिप्पणी छ ।

रोनाल्डो अहिलेसम्मकै महान खेलाडीमध्येका एक हुन् भन्नेमा दुईमत छैन । उनी पाँचवटा विश्वकपमा गोल गर्ने एक मात्र खेलाडी हुन् । रोनाल्डोले १९६ वटा खेलमा ११८ अन्तर्राष्ट्रिय गोलसहित अन्तर्राष्ट्रिय खेलहरूमा सबैभन्दा धेरै गोलकर्ताको रूपमा विश्व रेकर्ड राखेका छन्। उनी पाँचपटकको बालोन डी’ओर विजेता साथै चारवटा युरोपेली गोल्डेन बुट विजेता पनि हुन् ।

गत अक्टोबरमा उनले म्यानचेस्टरका लागि आफ्नो क्लब करिअरको ७००औं गोल प्रहार गरेका थिए । जुन क्लब करिअरमा उनले पाएको ऐतिहासिक उपलब्धी हो ।

यसपटकको विश्वकपमा भने रोनाल्डो पोर्चुगलको नकआउट चरणको पहिलो खेलमै बेन्चमा बस्नुपर्‍यो । बदलामा कोच फर्नान्डो सान्तोसले गोन्जालो रामोसलाई मैदानमा उतारे । फलस्वरुप रामोस स्विजरल्याण्डसँगको खेलमा ह्याट्रिक नै गर्न सफल बने ।

सान्तोसले शनिबार पनि त्यही तरिकालाई निरन्तरता दिँदै मोरक्कोसँगको खेलमा पनि रोनाल्डोलाई बेन्चमै राखिदिए । तर पहिलो हाफमै पोर्चुगलले १ गोल खानुपर्‍यो । दोस्रो हाफमा भने रोनाल्डोलाई मैदानमा उतारियो । तर उनले आफ्नो जादु देखाउन सकेनन् ।

पोर्चुगल विश्वकपबाट बाहिरिएसँगै कोच सान्तोसको यो रणनीतिको धेरैले आलोचना गरेका छन् । सान्तोसले भने आफ्नो निर्णयप्रति कुनै पश्चाताप नरहेको प्रतिक्रिया दिएका छन् ।

'क्रिस्टियानो महान खेलाडी हुन् । हामीले आवश्यक ठानेपछि उनी मैदान प्रवेश गरे । हामीलाई कुनै पश्चाताप छैन,' रोनाल्डोलाई बेन्चमा राखिएकोबारे कोच सान्तोसले प्रतिक्रिया दिएका छन् ।

कतार विश्वकपको पराजयसँगै रोनाल्डो आफ्नो खेल करिअरको निर्णायक मोडमा पुगेका छन् । २ दशकको खेल यात्रामा रोनाल्डोले उच्चतम उपलब्धीसहित प्रसंसा मात्रै पाएनन्, मैदान भित्र र बाहिर पनि धेरै विवाद र उतारचढावको पनि सामना उनले गरे । तर सबै विवाद तथा उपलब्धीलाई बिर्साउन सक्ने एक ऐतिहासिक अवसर उनको हातबाट गुमेको छ ।

प्रकाशित : मंसिर २५, २०७९ १९:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×