शून्य कोभिड नीतिमा लचक बन्दै चीन- विश्व - कान्तिपुर समाचार

शून्य कोभिड नीतिमा लचक बन्दै चीन

लक्ष्मी लम्साल

बेइजिङ — कोभिड महामारीविरुद्ध शून्य नीति अपनाइरहेको चीनले सावधानीका विकल्पसहित लचकता अपनाउन थालेको छ।


केही दिनदेखि राजधानी बेइजिङका बजार, सुपरमार्केट तथा रेस्टुरेन्टहरूमा बिना ‘हेल्थ कोड’वा केही दिनको अन्तरालमा प्रवेश गर्न सकिने व्यवस्था गरिएको छ । कतिपय कार्यालय वा निकायहरूले खुलापनको नीतिलाई क्रमशः लागू गर्दै जाने बताएका छन्।

डिसेम्बर ८ तारिखमा बेइजिङमा आयोजित एउटा पत्रकार सम्मेलनमा चीनको राष्ट्रिय स्वास्थ्य आयोग अन्तर्गत महामारी व्यवस्थापन कार्य टोलीका प्रमुख विशेषज्ञ लियाङ वान नियानले महामारी रोकथाम तथा नियन्त्रणका प्रभावकारी १० बुँदे उपाय जारी गरेका थिए।

निर्देशिकामा अब उप्रान्त कहीँ कतै संक्रमित देखिएमा सम्बन्धित क्षेत्रलाई मात्र अलग्याउने, पीसीआर परीक्षणको नतीजा शीघ्र तथा गुणस्तरीय बनाउने, संक्रमितलाई आइसोलेसन वा उपचारको तरीका तुलनात्मक खुकुलो पार्न घरमै आइसोलेन र उपचार गराउने, उच्च संक्रमित क्षेत्र भेटिएमा तत्कालै परीक्षण, सम्बन्धित क्षेत्रमा कीटाणुशोधन र तत्काल उक्त क्षेत्रलाई भाइरस मुक्त पार्ने विधि अपनाउने रहेको छ। यस्तै बाँकी रहेका वृद्धवृद्धाका लागि कोरोना भ्याक्सिन कार्यलाई टुंग्याउने, सम्बन्धित कार्यालयहरू वा संस्थाहरूले आफ्ना कर्मचारीहरूको संक्रमण वा स्वास्थ्य अवस्थाबारे अद्यावधिक गर्नुपर्ने, गर्भवती, सुत्केरी, वृद्धवृद्धा वा फरक क्षमता भएका नागरिकका लागि विशेष होसियारी लगायत जिम्मेवार निकायले गर्नुपर्ने कामहरूलाई चुस्त पार्नुपर्ने नीति लिएर चीनले महामारी प्रतिरोधप्रति नरम रवैया अख्तियार गर्न लागेको हो।

पत्रकार सम्मेलनमा प्रमुख विशेषज्ञ लियाङले महामारी प्रतिरोधको ३ वर्षमा चीनले निकै दक्षता हासिल गरिसकेको दाबी गरे। ‘विभिन्न क्षेत्रमा महामारी व्यवस्थापन गर्ने क्षमता र स्तर उकासिएको छ,’उनले भने, ‘महामारी नियन्त्रणको चिनियाँ शैलीले विश्वको मन जितेको छ।’

महामारी विरुद्धको लामो लडाइँले लाखौंको मृत्यु तथा संक्रमणलाई रोक्न सफल भएकोले देश विदेशबाट चीनको प्रशंसा गरिएको उनको ठहर थियो। जारी गरिएको महामारी रोकथामका उपायको अर्थ निरन्तर सुधार, रोकथाम तथा नियन्त्रणलाई अझै सटिक र प्रभावकारी बनाउनका लागि भएको बताउँदै उनले आर्थिक तथा सामाजिक विकासका साथ महामारी रोकथाम सन्तुलित गर्नु आवश्यक बनेको पनि सुनाए।

कतिपय सुपरमार्केटहरू, होटल रेस्टुरेन्ट, सब-वे वा अन्य सार्वजनिक स्थलहरूमा यसअघि लागू महामारी प्रतिरोधी प्रावधानहरू हटेपछि बेइजिङमा पनि खुकुलोपनको आभाष हुन थालेको छ। यसैगरी चीनले अन्तर्राष्ट्रिय समुदायसँगका आदानप्रदान तुलनात्मक सहज बनाउँदै लैजाने अपेक्षा गरिएको छ।

प्रकाशित : मंसिर २४, २०७९ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्

चीनको होलसेल बजार 'यिवु'मा नेपाली उत्पादनको प्रवर्द्धन 

लक्ष्मी लम्साल

बेइजिङ — चीनको चच्याङ प्रान्तको व्यापारिक सहर 'यिवु'मा आयोजित २८औं मेला तथा तेस्रो चच्याङ अन्तर्राष्ट्रिय मितेरी सहर आदानप्रदान प्रदर्शनीमा नेपालले पहिलो पटक आफ्ना उत्पादनको प्रवर्द्धन गरेको छ । साझा विकास विस्तारका लागि विश्वसँगै हातेमालो भन्ने नाराका साथ चार दिवसीय प्रदर्शनी आयोजना गरिएको थियो । 

पहिलो पटक नेपाली पेभेलियन बनाइएको र नेपालबाटै आएका ब्यापारीहरूले नेपाली थाङ्का, मूर्तिकला तथा संस्कृतिको प्रदर्शन गरेको नेपाली दूतावासका इकोनोमिक मिनिस्टर छबिन्द्र पराजुलीले बताए । कोभिडका कारण बेइजिङबाट राजदूतावासका प्रतिनिधिहरू उपस्थित हुन सकेनन् । अन्य देशका कतिपय उच्च अधिकारीहरुले पनि भिडियोमार्फत् आ आफ्नो देशको उत्पादनको प्रवर्द्धन गरेका थिए ।

यिवु अन्तर्राष्ट्रिय एक्स्पो सेन्टरमा २४ देखि २७ तारिखसम्म आयोजित प्रदर्शनीमा नेपालले पर्यटनमा सम्भाव्यताबारेमा प्रचार गरेका थिए । विधिवत रुपमा २ वर्षदेखि क्रियाशील नेपाल यिवु चेम्बर अफ कमर्सका अध्यक्ष विष्णु दुमरूले कतिपय चिनियाँ लगानीकर्ता नेपाल जान इच्छुक भए पनि चीनको कोभिड पोलिसीका कारण फर्किन गाह्रो हुने भएकाले पर्खिरहेको बताए ।

विश्वका विभिन्न देशका २ सय ३३ भन्दा बढी कम्पनीको आउजाउ हुने संसारको सबैभन्दा ठूलो यिवु होलसेल मार्केट संचालनमा आएको ४० वर्ष पुगेको छ । प्रदर्शनीलाई महत्त्व दिँदै जापान, फिनल्याण्ड, रुससहित ६ देशका १५ भगिनी सहरहरूले भिडियो मार्फत् भाग लिए । चीन–विदेश सम्बन्धका लागि महत्त्वपूर्ण आधार र बलियो समर्थनका रुपमा यो प्रदर्शनीलाई लिइएको चाइनिज पिपुल्स एसोसिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका महासचिव युआन मिन्ताओले भिडियोमार्फत् बताए । उनले भने, 'सन् १९७३ देखि चीन–विदेशीमैत्री शहरहरूको भगिनी सम्बन्ध तीव्र भएको छ र अहिले चीनले पाँच महादेशलाई समेट्ने गरी मित्र र साझेदार सञ्जालको अन्तर्राष्ट्रिय सर्कल स्थापना गरेको छ।’ चीनले २७ देशहरूमा ५४ शहरहरूसँग भगिनी शहर सम्बन्ध र ३४ विदेशी शहरहरूसँग मैत्रीपूर्ण विनिमय सम्बन्धको विकासको लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

प्रकाशित : मंसिर १२, २०७९ १७:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×