कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

दिल्ली नगर निगममा आपको बहुमत

दिल्ली निगममा १५ वर्षपछि भारतीय जनता पार्टीको प्रभाव गुमेको छ । २५० सिटको निगममा आम आदमी पार्टीले १३४ सिट जितेको छ । भाजपाले १०४ सिट मात्रै जितेको छ ।

काठमाडौँ — भारतको दिल्ली नगर निगम (एमसीडी) मा पछिल्लो १५ वर्षपछि भारतीय जनता पार्टीको प्रभाव गुमेको छ । आम आदमी पार्टी (आप)ले निगममा बहुमत बनाएको छ ।

दिल्ली नगर निगममा आपको बहुमत

स्टेट इलेक्सन कमिसनका अनुसार २५० सिटको निगममा आम आदमी पार्टीले १३४ सिट ल्याएको छ । भाजपाले भने १०४ सिट मात्रै जितेको छ ।

यस्तै कंग्रेसले ९ सिट र अन्य स्वतन्त्रले ३ सिट जितेका छन् । आपले जितेको सिट बहुमतका लागि आवश्यकभन्दा ८ बढी सिट हो । निगमको चुनावी नतिजासँगै आम आदमी पार्टीका अध्यक्ष अरबिन्द केजरीवालले दिल्लीका जनताहरूलाई बधाइ र धन्यवाद दिएका छन् ।

पार्टी कार्यालयमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै केजरीवालले दिल्लीका जनताले आफूलाई दिल्लीको सफाइ र भ्रष्टाचार हटाउने जिम्मेवारी दिएको बताए । 'हामीलाई केन्द्र सरकारको पनि सहयोग चाहिन्छ । प्रधानमन्त्रीको पनि आशिर्वाद चाहिन्छ,' केजरीवालले भनेका छन् ।

यसैबीच निगमको निर्वाचनमा कंग्रेसका १८८ र भाजपाका १० उम्मेदवारहरूको जमानत जफत भएको छ । यससँगै अघिल्ला निर्वाचनको तुलनामा यसपटक कंग्रेसको नतिजा सबैभन्दा खराब देखिएको छ । यसपटक कंग्रेसका जम्मा ९ उम्मेदवारले जित हासिल गरे । जवकि, १८८ उम्मेदवारले आफ्नो जमानत नै गुमाएका छन् ।

यसअघि कंग्रेसले ३० स्थानमा जित हासिल गरेको थियो । यस्तै केन्द्र सरकारको नेतृत्व गरेको भाजपाका १० उम्मेदवारले जमानत गुमाए भने आपका ३ उम्मेदवारले पनि जमानत गुमाए । कुल ३७० स्वतन्त्र उम्मेदवारले आफ्नो जमानत गुमाएका छन् ।

यस निर्वाचनमा भाजपाको कुल शून्य दशमलब ६ प्रतिशत मत बढ्दा आपको करिब १७ प्रतिशत मत बढेको बताइएको छ । यस्तै कंग्रेसले यसअघि २१ प्रतिशत मत ल्याएकोमा यसपटक ११ दशमलब ६८ प्रतिशत मत ल्यायो ।

प्रकाशित : मंसिर २१, २०७९ १९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?