२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

प्रभावशाली १०० महिला को-को ?

राजनीति, विज्ञान, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रमा योगदान पुर्‍याउने महिलाहरू प्रभावशाली एक सयको सूचीमा
एजेन्सी

लन्डन — सन् २०२२ का लागि विश्वका विभिन्न देश एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ । राजनीति, विज्ञान, शिक्षा, संस्कृति, स्वास्थ, खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने महिला सूचीमा समावेश छन् । 

प्रभावशाली १०० महिला को-को ?

सूचीको १० औं संस्करणमा सांगीतिक क्षेत्रमा चर्चित बिली आइलिस, युक्रेनी प्रथम महिला ओलेना जेलेन्स्का, भारतीय अभिनेत्री प्रियंका चोपडा जोनस, अमेरिकी अभिनेत्री सेल्मा ब्लेअर, रुसी पप गायिका अला पुगाचेभा समेटिएका छन् । त्यस्तै, इरानी पर्वतारोही एल्नाज रिकाबी, भेनेजुएलाकी कीर्तिमानी खेलाडी युलिमार रोहास र घानाकी लेखिका नाना डार्कोआ सेकिइआमाह पनि सूचीमा छन् । त्यसैगरी, युरोपेली आयेगकी अध्यक्ष उर्सुला भोन डेर लियन, बार्बाडोसकी प्रधानमन्त्री मिया मोट्ले, यमनी वकिल मइन अल–ओबाइदी, इरानी अभिनेत्री जार अमिर–इब्राहिमी र शिक्षाकर्मी जारा महम्मादी, अफगान विद्यार्थी फातिमा अमिरी, म्यान्मारकी चिकित्सक आए नाइन थु, इन्डोनेसियाकी अभियानकर्मी भेल्माइरी बम्बारी सूचीमा समावेश छन् ।

बीबीसीका अनुसार सूचीमा रहेका अन्य महिलामा भारतीय एरोनटिकल इन्जिनियर सिरिसा बन्दला र लेखिका गीताञ्जली श्री, अमेरिकी नर्स भिक्टोरिया ब्याप्टिस्ट, रुस, युक्रेन र अफगानिस्ताका पत्रकार क्रमशः ताइसिया बेक्बुलातोभा, क्रिस्टिना बर्दिन्स्किख र जाहरा जोया, बंगलादेशी विद्यार्थी सन्जिदा इस्लाम चोया, पाकिस्तानी न्यायाधीश आयशा मलिक, कोरियाली राजनीतिक सुधारक पार्क जी–ह्युन, रुवान्डाकी रेफ्री सलिमा रहिन्डा मुकान्सागालगायतका छन् ।

दसौं संस्करणको सूची सार्वजनिक गर्ने क्रममा गएको एक दशकमा केकस्ता परिवर्तन भए र त्यसका लागि क्रियाशील रहेका पात्रहरूबारे समेत अध्ययन गरिएको बीबीसीले उल्लेख गरेको छ । विगत एक दशकमा महिला अधिकारका क्षेत्रमा निकै काम भएका र महिलाको अगुवाइमा नै विभिन्न परिवर्तनहरू भएका जनाइएको छ । यद्यपि, कपितय देश र समाजमा भने महिला अधिकारका लागि आगामी दिनको बाटो अझै असहज रहेको देखिएको बीबीसीले उल्लेख गरेको छ ।

उदाहरणका लागि तीन महिनादेखि इरानमा महिलाहरूको अगुवाइमा भएको आन्दोलन परिवर्तनका लागि जारी संर्घषका रूपमा लिन सकिन्छ । गत सेप्टेम्बरमा इरानी धार्मिक प्रहरीद्वारा पक्राउ परेकी २२ वर्षीय युवती महसा अमिनीको हिरासतमा मृत्यु भएपछि विरोध प्रदर्शन चर्केको हो । कुर्दिस्तानस्थित आफ्नो घरबाट तेहरान जाने उनलाई क्रममा हिजाबसम्बन्धी कानुन उल्लंघन गरेको आरोपमा धार्मिक प्रहरी ‘गस्त–इ–इरसाद’ ले सेप्टेम्बर १३ मा पक्राउ गरेको थियो । त्यसको तीन दिनपछि हिरासतमा उनको मृत्यु भएको थियो । अमिनीको मृत्युको विरोधमा तेहरानमा सुरु आन्दोलन अन्य सहरहरूमा फैलिएको हो । प्रदर्शनका क्रममा ४ सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने १७ हजार पक्राउ परिसकेका छन् । तर पनि महिलाहरूले आन्दोलन रोकेका छैनन् । इरानी महिलाले लामो समयदेखि नरुचाएको हिजाब कानुन र त्यसको पालना गराउने क्रममा धार्मिक प्रहरीद्वारा भएको ज्यादती, अपमान र दण्ड सजायविरुद्ध इरानी महिलाहरू एकत्रित भएका हुन् । प्रदर्शन चर्किंदै गएपछि इरानी अधिकारीले धार्मिक प्रहरी खारेज गर्ने र हिजाबसम्बन्धी कानुन समयानुकूल परिवर्तन गरिने जनाएका छन् ।

इरानको महिला आन्दोलनले संसारभरि द्वन्द्वको केन्द्रमा महिलाको भूमिकालाई प्रतिबिम्बित गरिरहेको र युक्रेन–रुस द्वन्द्व र त्यसको प्रतिरोधमा उत्रेका महिलाले आफूहरू युगान्तकारी परिवर्तनका लागि जस्तोसुकै कदम चाल्न पछि नपर्ने सन्देश दिएका जनाइएको छ ।

बेलायतको प्रतिष्ठित सञ्चारमाध्यम बीबीसीले एक दशकयता हरेक वर्ष संसारभरिबाट एक सय जना प्रभावशाली र प्रेरणादायी महिलाहरूको नाम सार्वजनिक गर्दै आएको छ । त्यसका साथै, सूचीमा समावेश महिलाको जीवन र उनीहरूको योगदानसँग सम्बन्धित वृत्तचित्र, फिचर तथा अन्तर्वार्ता प्रकाशित गरिने बीबीसीले जनाएको छ ।

सूची एक सय महिला छनोट टोलीले संकलन गरेका तथ्यांक र विभिन्न देशका बीबीसी सेवाका टोलीहरूको सुझावका आधारमा तयार पारिएको जनाइएको छ । त्यसका लागि एक वर्षयता समाचारमा छाएका वा महत्त्वपूर्ण समाचार सामग्रीका प्रेरणा बनेका महिलाहरूको खोजी गरिएको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित : मंसिर २१, २०७९ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?