इरानी धार्मिक प्रहरी खारेज

हिजाबसम्बन्धी कानुन पुनरावलोकन गर्ने तयारी भइरहेको महान्यायाधिवक्ताको भनाइ
एजेन्सीहरू

तेहरान — विरोध प्रदर्शन चर्कंदै गएपछि इरानले धार्मिक प्रहरी खारेज गरेको छ । इरानका महान्यायाधिवक्तालाई उद्धृत गर्दै समाचार संस्था एएफपीले धार्मिक प्रहरीको खारेजी गरिएको र हिजाबसम्बन्धी कानुनमा पुनरावलोकनको तयारी गरिएको जनाएको छ । ‘कानुनमा हेरफेर गर्नुपर्ने विषयमा संसद् र न्यायपालिका दुवैले यसबारे आवश्यक काम गरिरहेका छन्,’ महान्यायाधिवक्ता मोहम्मद जफर मोन्टाजेरीले भने ।

यद्यपि, उनले कानुनमा के कस्तो परिवर्तन हुन्छ भन्ने विषयमा भने केही उल्लेख गरेनन् । यसबारे गृहकार्य गरिरहेको टोलीले बुधबार संसद्को सांस्कृतिक आयोसँग छलफल गर्ने उनले बताए । शनिबार राष्ट्रपति इब्राहिम राइसीले इरानको गणतान्त्रिक र इस्लामिक आधारस्तम्भमाथि प्रहार भएको बताएका थिए । इरानमा महिलाहरू घरबाहिर निस्किँदा टाउकोदेखि घाँटी हुँदै छातीसम्म छोप्ने परम्परागत वस्त्र हिजाब लगाउनुपर्ने नियम छ । उक्त वस्त्र लगाउँदा अनुहार भने खुला रहन्छ । इरान घुम्न जाने अन्य देशका महिलाले पनि हिजाब लगाउन अनिवार्य छ ।

इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछि हिजाब कानुन लागू गरेको हो । इस्लामिक कानुनअनुसार महिलाहरू घरबाहिर निस्कँदा वा सार्वजनिक स्थानमा रहँदा आफ्नो अनुहार र हातबाहेक सम्पूर्ण अंग छोप्नुपर्छ । इरानमा उक्त कानुन लागू गरिएसँगै महिलाहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । त्यसका साथै, बेलाबेलामा कानुनको विरोधमा प्रदर्शनहरूसमेत हुने गरेका छन् ।

गत सेप्टेम्बरमा धार्मिक प्रहरीद्वारा पक्राउ परेकी २२ वर्षीय युवती महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानमा विरोध प्रदर्शन चर्केको हो । कुर्दिस्तानस्थित आफ्नो घरबाट तेहरान जाने क्रममा हिजाबसम्बन्धी कानुन उल्लंघन गरेको आरोपमा अमिनीलाई धार्मिक प्रहरी ‘गस्त–इ–इरसाद’ ले सेप्टेम्बर १३ मा पक्राउ गरेको थियो । त्यसको तीन दिनपछि हिरासतमा उनको ज्यान गएको थियो । तर प्रहरीले हिजाबसम्बन्धी नियमको प्रशिक्षणका क्रममा हृदयाघात भएका कारण अमिनीको ज्यान गएको दाबी गरेको थियो । तर उनको परिवारका सदस्यका अनुसार अमिनीमा कुनै स्वास्थ्यसम्बन्धी समस्या नरहेको र पक्राउपछि उनलाई कुटपिट गरिएको बताएका थिए । अमिनीको मृत्युपछि सुरु भएको विरोध प्रदर्शन तेहरानबाट अन्य सहरहरूमा फैलिएको थियो । प्रदर्शन नियन्त्रणका लागि सरकारी फौजले गरेको चरम दमनका कारण कम्तीमा ४ सय जनाको मृत्यु भइसकेको अधिकारकर्मीहरूले जनाएका छन् । १७ हजार जनाभन्दा बढी पक्राउ परेका जनाइएको छ । ‘इरानी महिलाले लामो समयदेखि नरुचाएको कानुन’ विरुद्ध प्रदर्शन चर्केको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । त्यसका साथै हिजाब कानुन पालना गराउने क्रममा ‘धार्मिक प्रहरीले गरेको ज्यादती र दण्ड सजाय’ विरुद्ध पनि उनीहरू आक्रोशित भएका हुन् । महिलाहरूको अगुवाइमा सुरु भएको प्रदर्शनलाई हाल पुरुषले पनि साथ दिएका छन् । उनीहरूले इरानको कठोर धार्मिक कानुन खारेजीको चर्को रूपमा माग गरेका छन् । महिलाहरूले सार्वजनिक स्थानमा अनुहार र हातबाहेक सबै अंग ढाक्नुपर्ने नियमको उनीहरूले विरोध गरिरहेका छन् ।

बासिज अर्धसैनिकले सहयोग गर्ने धार्मिक प्रहरी ‘गस्त–इ–इरसाद’ ले हिजाबसम्बन्धी कानुन कार्यान्वयन गर्दै आएको छ । यसले तोकिएको नियमअनुसार हिजाबको प्रयोग भए/नभएको हेर्ने, महिलाले आफ्नो केश तथा शरीर ढाके/नढाकेको हेर्ने र शृंगारका सामग्रीको प्रयोगलाई दुरुत्साहन गर्ने काम गर्छ । हिजाबको प्रयोग सही तरिकाले नभएको खण्डमा चेतावनी दिने, जरिवाना लिने र पक्राउसमेत गर्नका लागि गस्त–इ–इरसादलाई गठन गरिएको थियो ।

प्रकाशित : मंसिर २०, २०७९ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?