१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विवादमा तानियो ‘कश्मीर फाइल्स’

राजेश मिश्र

नयाँदिल्ली — प्रधानमन्त्री नरेन्द्र मोदी र सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा) नेताहरूले खुलेर प्रशंसा गरेको ‘द कश्मीर फाइल्स’ फिल्म विवादमा तानिएको छ । गोवामा भएको ५३ औं फिल्म फेस्टिभल समारोहका ‘जुरी’ हरूले फिल्मलाई ‘भल्गर र प्रोपागान्डा’ ले भरिएको बताएपछि विवाद चुलिएको हो ।

विवादमा तानियो ‘कश्मीर फाइल्स’

इजरायली फिल्म प्रोड्युसर तथा चिफ ‘जुरी’ नदाव लैपिडले फिल्म फेस्टिभलमा देखाउनबाट रोक लगाएका थिए । उनले फिल्म फेस्टिभल समारोहको मञ्चबाट ‘कश्मीर फाइल्स’ प्रोपागान्डा र भद्दा भनेका थिए । ‘डेब्यु कम्पिटिसिनमा ७ र इन्टरनेसनल कम्पिटिसनमा सहभागी १५ मध्ये १४ फिल्म गुणस्तरीय भए पनि ‘कश्मीर फाइल्स’ ले हामी सबैलाई विचलित बनायो,’ उनले भनेका छन्, ‘यो प्रोपागान्डाले भरिएको भद्दा फिल्म फेस्टिभलमा प्रतिस्पर्धाका लागि अयोग्य थियो ।’

भारतमै भइरहेको समारोहमा सूचना तथा प्रसारणमन्त्री अनुराग ठाकुरकै अगाडि लैपिडले दिएको बयानले उनलाई मात्रै होइन, भारतस्थित इजरायली दूतवासलाई पनि समस्यामा पारेको छ । फिल्मका समर्थकहरूले सामाजिक सञ्जालमार्फत लैपिडको मात्र नभई इजरायलकै विरोध गर्न थालेका छन् । भारतका लागि इजरायली राजदूत नओर गिलोनमाथि पनि धम्की दिन थालिएको छ । ट्वीटरको म्यासेजमा प्राप्त धम्की सार्वजनिक गर्दै उनले आफूलाई भारत छोड्न धम्की आएको उल्लेख गरेका छन् ।

तर राजदूत गिलोनले इजरायली फिल्म प्रोड्युसर तथा प्रमुख जुरी लैपिडको बयानप्रति भने असन्तुष्टि व्यक्त गरेका थिए । उनले ट्वीटरमै खुला पत्र लेखेर भारतले गरेको आतिथ्यता र मित्रताको विपरीत लैपिडले दिएको बयानप्रति आफू लज्जित रहेको र माफी मागेको उल्लेख गरेका थिए । विवाद बढेपछि फिल्म प्रोड्युसर लैपिड स्वयंले पनि आफ्नो बयानले कश्मीरी पीडित वा पीडितको अपमान गर्नु नरहेको भन्दै उनीहरूलाई पुगेको ठेसप्रति माफी मागेका छन् । तर, आफ्नो बयानप्रतिको अडानमा भने उनी कायम देखिएका छन् । उनले ‘प्रोपोगान्डा’ ले भरिएकै कारण कश्मीर फाइल्सलाई अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित प्रतिस्पर्धात्मक सेक्सनमा प्रदर्शन गर्नु सही नभएको आफ्नो निष्कर्षलाई दोहोर्‍याएका छन् ।

भारतमा इजरायली फिल्म मेकर लैपिडमाथि चौतर्फी आक्रमण बढी रहेका बेला लैपिडको बयानलाई अन्य तीन जुरी सदस्यहरूले भने समर्थन गरेका छन् । जुरी सदस्य जिन्को गोटोह, पास्कल चावेन्स र जेवियर एंगुलो बारटुरेनले ट्वीटमार्फत ‘जुरी चिफका रूपमा लैपिडले भनेको कुरा सबै जुरी सदस्यलाई जानकारी रहेको र त्यसमा सबै सहमत छौं,’ भनेका छन् ।

विवेक अग्निहोत्री निर्देशित तथा अनुपम खेर मुख्य अभिनेता रहेको ‘द कश्मीर फाइल्स’ सन् २०२२ को मार्च ११ मा रिलिज भएको थियो । सन् १९९० मा कश्मीरी पण्डितहरूमाथि गरिएको आक्रमण, हत्या र उनीहरूको पलायनलाई फिल्ममा मुख्य कथावस्तु बनाइएको छ । फिल्मलाई भाजपा नेतृत्व रहेका कतिपय राज्य सरकारले कर छुट दिने घोषणा नै गरेका थिए । त्यसका साथै, सरकारी तहबाट नै फिल्मको प्रचारप्रसारसमेत गरिएको थियो । भाजपा बैठकमा प्रधानमन्त्री मोदीले नै फिल्मको प्रशंसा गरेपछि भाजपाको सम्पूर्ण पंक्ति नै फिल्मको पक्षमा उभिन पुगेको थियो । जसका कारण फिल्मले निकै राम्रो व्यापार गरेको जनाइएको छ । फिल्ममा मुस्लिम कट्टरपन्थीबाट कश्मीरी पण्डितमाथि गरिएको आक्रमण तथा अत्याचार देखाइएको छ ।

प्रकाशित : मंसिर १९, २०७९ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?