चीनमा विरोधपछि लकडाउन खुकुलो- विश्व - कान्तिपुर समाचार

चीनमा विरोधपछि लकडाउन खुकुलो

एजेन्सीहरू

बेइजिङ — चीनले विरोध प्रदर्शनहरू देशव्यापी बन्दै गएपछि कोरोना भाइरस नियन्त्रणका लागि जारी गरिएका लकडाउन खुकुलो पारेको छ ।

सांघाई र गोङजाउ सहरका एक दर्जन जिल्लामा लकडाउन हटाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । लकडाउन हटाइएका जिल्लामा पछिल्ला केही दिनमा भने भाइरसको संक्रमण बढेको जनाइएको छ । त्यसैगरी चोङकिङ्गमा पनि लडाउन खुकुलो बनाइएको छ ।

चीनका उपप्रधानमन्त्रीले देशले ‘नयाँ परिस्थिति’ को सामना गरेको जनाएका छन् । उपप्रधानमन्त्री सन चुनलानले ‘भाइरसका कारण हुने मृत्युदर निकै कममा झरेको’ भन्दै कोभिड नीति खुकुलो पारिएको बताएका बीबीसीले उल्लेख गरेको छ । पश्चिमी चीनको उरुम्चीमा कडा प्रतिबन्ध जारी रहेका बेला गत साता एक अपार्टमेन्टमा फैलिएको आगलागीमा १० जनाको ज्यान गएको थियो । भाइरससम्बन्धी कडा प्रतिबन्धका कारण उनीहरूको ज्यान गएको भन्दै स्थानीयले चीनको शून्य कोभिड नीतिको विरोधमा प्रदर्शन सुरु गरेका थिए । पछि उक्त प्रदर्शन देशका अन्य सहरहरूमा पनि फैलिएको थियो ।

चिनियाँ अधिकारीहरूले भने भाइरससम्बन्धी प्रतिबन्धका कारण उरुम्चीमा दस जनाको ज्यान गएको अस्वीकार गर्दै आएका छन् । तर आवासीय क्षेत्रमा जारी कडा लकडाउन मृत्युको कारक भएको भन्दै इन्टरनेट प्रयोगकर्ताहरूले चिनियाँ अधिकारीको भनाइको प्रतिरोध गर्दै आएका छन् ।

सांघाई सहरमा सयौं स्थानीयले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजीनामा माग्दै प्रदर्शन गरेका थिए । त्यस्तै, राजधानी बेइजिङ, नान्जिङ, गोङजाउ, चोङकिङ्गलगायतका स्थानमा प्रदर्शहरू चर्केका थिए । चीनमा भएका पछिल्ला प्रदर्शनहरू चिनियाँ कम्युनिस्ट पार्टी र नेतृत्वविरुद्ध भएका निकै दुर्लभमध्येका भएका जनाइएको छ । चिनियाँहरूले खुला रूपमै राष्ट्रपति सीको राजीनामा माग्दै प्रदर्शन गर्नुलाई उनीविरुद्ध बाहिर देखिएको हालसम्मकै कडा आलोचना हो । प्रदर्शनकारीले ‘सी चिनफिङ राजीनामा देऊ, पीसीआर परीक्षण चाहिँदैन, हामीलाई स्वतन्त्रता देऊ’ भन्दै नाराबाजीसमेत गरेका थिए । लकडाउनले दैनिक जनजीवन निकै कष्टकर बनेको प्रदर्शनकारीको भनाइ छ ।

चीनले कोरोना भाइरसविरुद्ध सुरु देखि नै ‘शून्य सहनशीलता’ नीति अख्तियार गर्दै आएको छ । विश्वका अधिकांश देशले कोभिडसँगै जीउने नीति लिइरहेका बेला पनि चीनका दर्जनौं सहरमा दसौं लाख मानिसहरू लकडाउनमा छन् । जसका कारण सरकारको ‘शून्य कोभिड’ नीति र यसका सूत्रधार राष्ट्रपति सीविरुद्ध आन्दोलन चर्केको हो ।

प्रकाशित : मंसिर १६, २०७९ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्

सैन्य अभ्यासबारे भारत र चीनबीच वाक्युद्ध

कान्तिपुर संवाददाता

नयाँदिल्ली — भारत र अमेरिकाले गरिरहेको संयुक्त सैन्य अभ्यासलाई लिएर चीन र भारतको वाक्युद्ध सुरु भएको छ ।

भारत र अमेरिकाका सैनिकहरूले उत्तराखण्डको औलीमा संयुक्त सैन्य अभ्यास गरिरहेका छन् । चिनियाँ सीमाबाट करिब एक सय किलोमिटरभित्र भइरहेको उक्त अभ्यासप्रति बुधबार चीनले आपत्ति जनाएको थियो । भारतले भने बिहीबार चीनको उक्त विरोधलाई अनावश्यक भनेको छ । भारत र अमेरिकाबीच भइरहेको पछिल्लो सैन्य अभ्यास १८ औं संस्करण हो । अभ्यास आगामी दुई सातासम्म चल्ने छ । त्यस अभ्यासप्रति चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सीमा क्षेत्रमा गरिएको उक्त अभ्यासलाई भारत र चीनबीच १९९३ र १९९६ मा भएको सम्झौता विपरीत भनेका छन् ।

त्यसको जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारत र अमेरिका दुई देशले गरिरहेको कुनै पनि सहकार्यको विरोध गर्ने ‘विटो’ चीनसँग नरहेको बताएका छन् । बिहीबारको नियमित पत्रकार सम्मेलनमा बागचीले अहिलेको युद्ध अभ्यासको चीनसँग भएको १९९३ र १९९६ को सम्झौतासँग कुनै तारतम्य नरहेको भन्दै चीनको तर्फबाटै पटक–पटक सम्झौताको उल्लंघन हुँदै आएको भनेका छन् । चीन या कुनै पनि अर्को देशलाई भारतले गर्दै गरेको सैन्य अभ्यासका बारेमा केही भन्ने अधिकार नरहेको उनले टिप्पणी गरे ।

सन् २०२० मा भारत–चीन सीमा क्षेत्र पूर्वी लद्दाखमा दुई देशका सैनिकहरूबीच भिडन्त भएयता दुवै देशको सम्बन्ध सुमधुर भई नसकेको स्थितिमा सैन्य अभ्यासलाई लिएर वाक युद्ध भएको छ ।

उत्तराखण्डको औलीमा ९ हजार ५ सय ४४ फिट उचाइमा मंगलबार रातिबाट अमेरिका र भारतका सैनिकहरूले संयुक्त अभ्यास थालेका छन् । प्राकृति विपत्तिमा गरिने सर्च अपरेसन, उग्रवादीले कसैलाई कब्जामा लिएको खण्डमा त्यसलाई कसरी मुक्त गराउने, साथै उच्च क्षेत्रमा उग्रवादी गतिविधिमाथि कसरी नियन्त्रण गर्ने, शान्ति स्थापनामा कसरी भूमिका खेल्नेलगायतका विषय संयुक्त अभ्यासमा समेटिएका छन् । दुवै देशका सैनिकले आफ्नो तर्फ गरिरहेको उत्तम अभ्यासलाई साझा गर्दै सैन्य अभ्यास गरेका छन् । पहिलोचोटि हाई अल्टिच्युडमा संयुक्त सैन्य अभ्यास गरिएकाले यसलाई महत्त्वपूर्ण मानिएको छ ।

प्रकाशित : मंसिर १६, २०७९ ०७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×