विश्वव्यापी बन्दै ‘गिभिङ ट्युस्डे’

‘हुनेले दान दिऊँ, सक्नेले स्वयंसेवा गरौं र केही नसके मुस्कान दिऊँ’ भन्ने अभियान ८५ देशमा फैलिएको छ
एजेन्सी

इन्डियाना — यस वर्षको ‘गिभिङ ट्युस्डे’ मा विश्वका ८० भन्दा बढी देशका नागरिकहरू सहभागी भएका छन् । हुनेले दान दिऊँ, सक्नेले स्वयंसेवा गरौं र केही नसके मुस्कान दिऊँ,’ भन्ने अभियानसँगै एक दशकअघि सुरु भएको ‘गिभिङ ट्युस्डे’ मा ३ अर्ब अमेरिकी डलरभन्दा बढी दान गरेका जनाइएको छ । 

विश्वव्यापी बन्दै ‘गिभिङ ट्युस्डे’

नोभेम्बर महिनाको चौथो बिहीबार अमेरिकामा मनाइने ‘थ्यांक्सगिभिङ’ पछिको पहिलो मंगलबार दयालुपन प्रवर्द्धन गर्ने ‘गिभिङ ट्युस्डे’ का दिन लाखौं मानिसले आफूले सक्दो दान दिने गर्छन् । ‘गिभिङ ट्युस्डे’ नामको गैरनाफामूलक संस्थाले सन् २०१२ मा सुरु गरेको अभियानले हरेक मानिसले गर्ने सक्दो दानको हरेक क्षण गणना हुने जनाएको छ ।

संस्थाका अनुसार सन् २०२१ को ‘गिभिङ ट्युस्डे’ मा अमेरिकामा मात्रै ३ करोड ५० लाख मानिसले २ अर्ब ७० करोड अमेरिकी डलर दान गरेका थिए । यो दान हालसम्मकै बढी भएको जनाइएको छ । उक्त रकम सन् २०२० को तुलनामा १० प्रतिशत बढी थियो ।

सर्वसाधारणले दान दिने पैसा मात्र नभई स्वयंसेवाको कार्य र कसैप्रति प्रकट गरेको मुस्कान पनि महत्त्वपूर्ण हुने ‘गिभिङ ट्युस्डे’ की सहसंस्थापक आशा कुरनको भनाइ छ । ‘गिभिङ ट्युस्डेको प्रतिबद्धता भनेको संसारमा हामीले गर्ने सूक्ष्म कार्यमा पनि कसरी दयालुपन कायम गर्न सकिन्छ भन्ने नै हो,’ उनले भनिन् ।

उनका अनुसार दयालुपन कारोबारमार्फत मात्रै अभिव्यक्त गर्नुपर्छ भन्ने होइन । ‘वास्तवमा यो हामीले समग्र मानव जातिलाई हाम्रो जीवनमा के कस्तो व्यवहार गर्छौं भन्ने पनि हो,’ कुरनले भनिन् । त्यसका साथै, आफूलाई बेवास्ता गर्न सक्ने मानिसलाई बोलाएर पनि दयालुपन देखाउन सकिन्छ ।

अमेरिकाको न्युयोर्कमा सामाजिक क्षेत्रमा क्रियाशील कुरनले सन् २०१२ मा हेनरी टिम्ससँग मिलेर ‘गिभिङ ट्युस्डे’ स्थापना गरेकी हुन् । सामाजिक सञ्जालका माध्यमबाट दयालुपन भाइरल बनाउने सोचका साथ यसको स्थापना गरिएको उनको भनाइ छ । तर स्थापनाको सुरुवातमा नै यो अवधारणाले अपेक्षा गरेको भन्दा निकै ठूलो सफलता पाएको कुरनले बताइन् । ‘अभियानमा एकपछि अर्को गर्दै विभिन्न देश थपिए । हालसम्म यो अभियान ८५ भन्दा बढी देशमा पुगिसकेको छ,’ उनले भनिन् ।

‘लन्चगुड’ क्राउडफन्डिङका सहसंस्थापक अमेनी किलावीले आफ्नो संस्थामार्फत मात्रै पछिल्ला दुई वर्षमा १० लाख अमेरिकी डलर बढी सहयोग जुटाएको र यस वर्ष त्योभन्दा बढी जुटाउने अपेक्षा गरेको बताएकी छन् । उनले आफ्नो अनुभव सुनाउँदै अन्य दिनमा भन्दा ‘गिभिङ ट्युस्डे’ मा मानिसले धेरै दान गर्ने गरेका जनाइन् ।

गिभिङ ट्युस्डे कुनै एक कारण वा संस्थासँग मात्र सम्बन्धित छैन । त्यसैले यसमा सहभागिता जनाउन चाहनेले आफूलाई प्रभावित पार्ने विषय वा पक्षलाई ध्यान दिन सकिने कतिपयको भनाइ छ । त्यसका साथै, यसमार्फत पैसा दान नदिए पनि अन्यखाले सहयोग गर्न सकिने बाटो पनि खुला छ । त्यसैगरी, स्वयंसेवक हुन चाहेको खण्डमा पनि वेबसाइटमार्फत सम्भावित कामको सूची सार्वजनिक गरिएको छ ।

‘इच्छुक मानिसले स्थानीय विषयदेखि पाकिस्तानको बाढीजस्ता विश्वव्यापी समस्यामा पनि सहयोग पुर्‍याउन सक्छन्,’ कुरनले भनिन्, ‘त्यसका साथै तपार्इंका कामबारे पनि सोच्नुस् र त्यस्ता सूक्ष्म कार्यले अरू कसैको दिन उज्यालो भयो भनेर पनि ।’

प्रकाशित : मंसिर १४, २०७९ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?