कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

केजरीवालको प्रवेशले गुजरातमा त्रिपक्षीय प्रतिस्पर्धा

आक्रामक बन्दै आम आदमी, विरासत जोगाउन चुनावी रणनीति फेर्दै सत्तारुढ भारतीय जनता पार्टी 
राजेश मिश्र

नयाँदिल्ली — प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहको गृहराज्य गुजरातमा शुक्रबार विधानसभा चुनाव हुँदै छ । चुनावी मैदानमा आम आदमी पार्टी (आप) ले समेत आफ्नो स्पेस बढाउँदै लगेपछि गुजरातमा २७ वर्षदेखि शासनमा रहेको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले आफ्नो विरासत जोगाइराख्न प्रचारप्रसार र चुनावी रणनीतिमा पूरा शक्ति लगाएको छ । 

केजरीवालको प्रवेशले गुजरातमा त्रिपक्षीय प्रतिस्पर्धा

प्रधानमन्त्री मोदी र गृहमन्त्री शाह मात्रै होइन उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीदेखि मध्यप्रदेशका मुख्यमन्त्री शिवराज चौहानसम्म, पार्टी अध्यक्ष जेपी नड्डाका साथै भाजपा नेताहरू मतदाता रिझाउन गुजरातमा व्यस्त छन् । पहिलो चरणको चुनावको प्रचार प्रसारको अवधि मंगलबार सकिँदै गर्दा नेताहरूले एकै दिनमा दर्जनौं चुनावी सभामा सम्बोधन गरेका छन् । पार्टीका सबै ‘स्टार’ प्रचारक नेतालाई भाजपाले गुजरातको चुनावी मैदानमा प्रचारप्रसारका लागि उतारेको छ ।

गुजरातको १ सय ८२ विधानसभा सिटका लागि डिसेम्बर १ र ५ मा गरी दुई चरणमा मतदान हुँदै छ । ८ तारिकमा परिणाम घोषणा हुनेछ । दिल्लीपछि पञ्जाब प्रान्तमा सरकार बनाउन सफल आम आदमी पार्टीले विभिन्न कार्यक्रमहरूको आश्वासन बाँडेर गुजरातका मतदाता रिझाउने कोसिसमा जुटेको छ । आप नेता अरविन्द केजरीवाल कहिले अटो चालकको घरमा खाना खाएर वा विभिन्न खाले ‘फ्री स्किम’ हरूको नारा बाँडेर मतदातालाई आफ्नोतर्फ आकर्षित गर्न खोज्दै छन् । सोसल मिडियामा सबैभन्दा सशक्त प्रचार आपकै मानिएको छ ।

गुजरातमा केजरीवालको प्रवेशले भाजपा र कंग्रेसबीच हुँदै आएको प्रतिस्पर्धा पहिलो पटक त्रिकोणीय हुन पुगेको छ । कांग्रेस नेता राहुल गान्धी ‘भारत जोडो यात्रा’ गरिरहेका बेला पार्टी अध्यक्ष मल्लिकार्जुन खडगेलगायत शीर्ष नेताहरू भने गुजरातमा व्यवस्त छन् । भाजपा र कांग्रेस दुवैको वक्तव्यबाजीको आक्रमण केजरीवालमाथि छ ।

विश्लेषकहरूले पहिलो पटक गुजरातको चुनावी मैदानमा उत्रेका आम आदमी पार्टीलाई कमजोर आँकेका छैनन् । त्यसले पनि भाजपा र कांग्रेसको चुनौती बढाएको हो ।

चुनाव अगाडि गरिएका मत सर्वेक्षणहरूले आपको प्रवेशले भाजपाको जितलाई सजिलो बनाउने देखाएका छन् । विपक्षको मत कांग्रेस र आपमा बाँडिँदा त्यसको लाभ भाजपालाई हुने बताइएको छ । कंग्रेसले आपमाथि भाजपासँगै साँठगाँठ गरेको आरोपसमेत लगाउँदै आएको छ ।

कंग्रेसले आपलाई भाजपाको ‘बी’ टिम भनेको छ । कंग्रेसको सरकार रहेको प्रदेशमा भाजपासँग मिलेर कंग्रेसलाई हराउने तथा गुजरातमा भाजपालाई मद्दत पुर्‍याउन आप आइपुगेको कंग्रेस नेताहरूले सार्वजनिक अभिव्यक्ति नै दिँदै आएका छन् । दिल्ली र पञ्जाबमा कंग्रेसकै सरकारलाई विस्थापन गरेर आपको सरकार बनेको हो । भाजपा विरोधी मतदाताहरूले मोदी र भाजपालाई टक्कर दिने विकल्पमा कंग्रेसको साटो आपलाई चुनेको खण्डमा पनि केजरीवाल गुजरातमा स्थापित हुनेछन् ।

अर्कोतिर, कंग्रेसले कहिले पनि नजितेका ४८ सहरी क्षेत्रमा आपले भाजपालाई कडा टक्कर दिइरहेकाले त्यसले भाजपालाई हानि पुर्‍याउने विश्लेषण पनि छ ।

सन् २०१७ को चुनावमा भाजपाले ९९ र कंग्रेसले ७७ सिट जितेको थियो । १ सय १२ बाट ९९ मा झर्नुलाई भाजपाको परिणामलाई राम्रो मानिएको थिएन । अहिले कंग्रेस र आप दुईवटा विपक्षीसँग टक्कर लिएर सिटको संख्या बढाउन भाजपाका अगाडि चुनौती मानिएको छ । २७ वर्षदेखि सत्तामा रहेका भाजपाका अगाडि ‘सत्ताविरोधी लहर’ को चुनौती पनि छ । गत महिना मोरबीमा भएको पुल दुर्घटनामा १ सय ४० जनाको मृत्यु भएको थियो ।

विपक्षीले यो विषयलाई पनि चुनावी मुद्दा बनाएर सरकारविरोधी जनमत तयार पार्ने प्रयास गरेका छन् । तर, प्रधानमन्त्री मोदीको लोकप्रियताले सबै खाले चुनौती चिर्ने विश्वास भाजपा नेताको छ । भाजपाले आपलाई टक्कर दिन पुराना धेरै नेतालाई बिदा गरेर नयाँ तथा युवा उम्मेदवारलाई अघि सारेको छ ।

गुजरात चुनावलाई २०२४ मा हुने लोकसभा चुनावसँग पनि जोडेर हेरिएको छ । मोदी र शाह गुजरातमा कमजोर भएको खण्डमा त्यसको प्रभाव सबैतिर पर्ने भएकाले सिट घट्न नदिन र त्यसलाई बढाउन भाजपाले पूरा शक्ति लगाएको हो । मोदी सन् २००१ देखि २०१४ सम्म गुजरातको मुख्यमन्त्री थिए । मुख्यमन्त्रीकै रूपमा लोकप्रियता कमाएका मोदीकै ‘फेस’ देखाएर भाजपाले २०१४ को लोकसभा चुनाव लडेको थियो । पार्टीले पूर्ण बहुमत पाएपछि मोदी प्रधानमन्त्री भएका थिए । उनले प्रधानमन्त्रीका रूपमा हाल दोस्रो कार्यकाल गुजार्दै छन् ।

सन् २०२४ मा हुने लोकसभा चुनावमा पनि मोदीकै नाममा भाजपाले चुनाव लड्ने निश्चित छ । भाजपाले केन्द्र, प्रदेश र स्थानीय तहसम्मको चुनावको प्रचारमा मोदीकै ‘फेस भ्यालु’ लाई जोड्दै आएको छ ।

दिल्लीमा भइरहेको नगर निगमको चुनावमा वडाका प्रतिस्पर्धीले पनि मोदीलाई देखाएरै उनकै नाममा मतदातासँग भोट माग्दै छन् ।कंग्रेस अध्यक्ष मल्लिकार्जुन खडगेले गुजरातको एक चुनावी सभामा सबैतिर मोदीकै नाममा भोट मागिएको विषयलाई आलोचना गरेका छन् । ‘हरेक ठाउँ, हरेक मुद्दा, पार्षद् चुनाव, एमएलए चुनाव, लोकसभा सबैतिर मोदीकै तस्बिर देखाइन्छ,’ भाजपामाथि व्यंग्य गदै खडगेले भने, ‘के रावणको जस्तै मोदीको पनि सयौं मुख छ ?’

प्रकाशित : मंसिर १४, २०७९ ०७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?