सिड्नीमा नेपाल महोत्सव- विश्व - कान्तिपुर समाचार

सिड्नीमा नेपाल महोत्सव

कान्तिपुर संवाददाता

अस्ट्रेलिया — गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यू साउथ वेल्सको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा नेपाली महोत्सव सम्पन्न भएको छ । बरउड पार्कबाट नेपाली कला, संस्कृति, परम्परा झल्काउने नाँच, झाँकी तथा रथयात्रासहित सुरु भएको महोत्वसमा व्यावसायिक तथा सांस्कृतिक स्टलहरू राखिएको थियो । 

कार्यक्रमलाई सम्बोधन गर्दै अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले एनआरएनएनले आयोजना गरेको नेपाली फेस्टिबलले अस्ट्रेलियामा नेपाली भाषा, कला, संस्कृतिको जग बसाउनको निम्ति महत्त्वपूर्ण हुने बताए । अस्ट्रेलियन समुदायमा बढ्दै गइरहेको नेपाली जनसंख्यालाई मध्यनजर गर्दै यस प्रकारका सांस्कृतिक पर्वले नेपाली पहिचान र मौलिकताको विकासमा टेवा पुग्ने मात्र नभएर नेपालमा पर्यटन प्रवर्द्धनमा पनि भूमिका खेल्ने उनको भनाइ छ ।

प्रत्येक २ वर्षमा आयोजना हुँदै आएको नेपाली विविधता र नेपाली मौलिक पन बोकेको नेपाली मेलाले यहाा हुर्कंदै गरेका ससाना बालबालिकाहरूलाई पनि विभिन्न नेपाली कला संस्कृतिको पहिचान गराउन मद्दत पुग्ने एनआरएनए अस्ट्रेलिया अध्यक्ष नन्द गुरुङले बताए । कार्यक्रममा प्रकाश सपुत, गायक दीपक बज्राचार्य, सन्दिप

क्षेत्री तथा रिदम ब्यान्डले प्रस्तुति दिएका थिए ।

प्रकाशित : मंसिर ८, २०७९ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्

इरानमा किन चर्कंदै छ प्रदर्शन ?

प्रहरी हिरासतमा एक युवतीको मृत्यु भएपछि सुरू भएको विरोध प्रदर्शन कतारको राजधानी दोहासम्म फैलिएको छ
एजेन्सीहरू

तेहरान/दोहा — धार्मिक प्रहरीद्वारा पक्राउ परेकी इरानी युवतीले हिरासतमा ज्यान गुमाएपछि सुरु भएको विरोध प्रदर्शन पुनः चर्केको छ । कुर्दिस्तानस्थित आफ्नो घरबाट इरानको राजधानी तेहरान जाने क्रममा २२ वर्षीया महसा अमिनीलाई हिजाबसम्बन्धी कानुन उल्लंघनको आरोपमा ‘गस्त–इ–इरसाद’ प्रहरीले सेप्टेम्बर १३ मा पक्राउ गरेको थियो । पक्राउ परेको तीन दिनपछि उनले हिरासतमा ज्यान गुमाएकी थिइन् । 

प्रहरीले भने हिजाबसम्बन्धी नियमको प्रशिक्षणका क्रममा हृदयाघात भएपछि अमिनीको मृत्यु भएको बताएको थियो । तर उनको पारिवारिक सदस्यका अनुसार पक्राउ पर्नुअघि अमिनीमा कुनै स्वास्थ्य समस्या थिएन ।

पक्राउपछि अमिनीलाई प्रहरी भ्यानमा राखिएको र टाउकोलगायतका अंगमा कुटपिट गरिएको प्रत्यक्षदर्शीले देखेका बीबीसीले जनाएको छ । उनका बुबा अमजादले ‘मृत्युपछि अमिनीको अनुहार र खुट्टा मात्र देखिने गरी शव दाहसंस्कारका लागि तयार गरेर राखिएको र आफूलाई हेर्न नदिइएको बताएका थिए । उनको मृत्युपछि इरानी राजधानी तेहरानलगायत विभिन्न सहरमा विरोध प्रदर्शन चर्केको थियो । प्रदर्शनकारीमाथि सरकारी फौजले चरम दमन गरेको र त्यसका क्रममा ४० जनाभन्दा बढीको ज्यान गएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार करिब ८ सयजना पक्राउ परेका थिए ।

त्यसलगत्तै केही शान्त बनेको इरान पछिल्लो समय फेरि तातिएको छ । इरान सरकारले ‘अल्लाहसँग दुश्मनी गरेको’ भन्दै ६ जना प्रदर्शनकारी एक साताअघि मृत्युदण्ड दिएपछि प्रदर्शन चर्केको हो ।

तेहरानस्थित रेभुलुसनरी अदालतका अनुसार एक जनाले आफ्नो कारले ठक्कर दिएर प्रहरीलाई मारेका र दोस्रो व्यक्तिले बन्दुक र चक्कु लिएका जनाएको छ । तेस्रो व्यक्तिले सडक अवरुद्ध पारेर आतंक सिर्जना गरेका र चौथो व्यक्तिमाथि चक्कु आक्रमण गरेको आरोप लगाइएको हो ।

मानवअधिकारकर्मीहरूले निष्पक्ष सुनुवाइबिना नै मृत्युदण्ड दिइएको भन्दै भर्त्सना गरेका छन् । ‘छानबिनका क्रममा प्रदर्शनकारीलाई कानुन व्यवसायीसँग पहुँच दिइएन । त्यसका साथै, शारीरिक र मानसिक यातना दिइयो,’ नर्वेस्थित इरान मानवअधिकारका निर्देशक महमुद अमिरी–मोगादमले भने ।

मानवअधिकारकर्मीहरूका अनुसार हालसम्मका प्रदर्शनका क्रममा कम्तीमा तीन सय जनाको मृत्यु भइसकेको छ । मानव अधिकारकर्मी समाचार संस्थाले कम्तीमा ३ सय ४८ जनाको मृत्यु भइसकेको छ भने १५ हजार ९ सय जना पक्राउ परिसकेका जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अमिनीको मृत्युसँगै ‘इरानी महिलाले लामो समयदेखि नरुचाएको कानुन’ विरुद्ध प्रदर्शन चर्केको हो । त्यसका साथै हिजाब कानुन पालना गराउने धार्मिक प्रहरी ‘गस्त–इ–इरसाद’ को ज्यादती, अपमान र दण्ड सजायका कारण पनि इरानी महिलाहरू आक्रोशित भएर सडकमा उत्रेका हुन् ।

महिलाहरूको अगुवाइमा सुरु भएको प्रदर्शनलाई पछिल्लो समय पुरुषले पनि साथ दिएका छन् । उनीहरूले इरानको कठोर धार्मिक कानुन खारेजीको चर्को रूपमा माग गरेका छन् । महिलाहरूले सार्वजनिक स्थानमा अनुहार र हातबाहेक सबै अंग ढाक्नुपर्ने नियमको उनीहरूले विरोध गरिरहेका छन् ।

त्यस्तै, महिलाविरुद्ध हुने हिंसा र भेदभाव अन्त्यको समेत आवाज उठेको छ । विरोध प्रदर्शनका क्रममा महिलाहरूले सार्वजनिक स्थलमा कपाल काट्ने र हिजाब जलाउने गरेका सामाजिक सञ्जालहरूमा सार्वजनिक भिडियोमा देख्न सकिन्छ ।

पछिल्ला प्रदर्शनहरूमा महिलासँगै पुरुषहरूको पनि सहभागिता बढेको छ । प्रदर्शनमा देशको आर्थिक अवस्था र भ्रष्टाचारविरुद्ध पनि आवाज उठ्न थालेको छ । तर सरकारले भने प्रदर्शनकारीका मागको बेवास्ता गर्दैर् दमनको नीति अख्तियार गरेको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक दृश्यहरूमा ठूलो संख्यामा तैनाथ सुरक्षाकर्मीहरूले प्रदर्शनकारीलाई बन्दुक र पानीको फोहोरा प्रहार गरेका देखिन्छ । मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध गरिएको छ । इरानी रिभोलुसनरी गार्ड्सले प्रदर्शनलाई ‘देशद्रोही कार्य’ को संज्ञा दिँदै प्रदर्शनकारीलाई पाठ सिकाउनुपर्ने चेतावनी दिएको जनाइएको छ । केही दिनयता भने विरोधका स्वर कतारको राजधानी दोहासम्म पनि पुगेको छ । विश्वकप फुटबल प्रतियोगिताका क्रममा सोमबार इरान र इंग्ल्यान्डविरुद्ध खेल भइरहेको समयमा खालिफा अन्तर्राष्ट्रिय रंगशालाको बाहिर दर्जनौं मानिसहरूले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले ‘महिला, जीवन र स्वतन्त्रता’ नारा लेखिएका टिसर्ट लगाएर ‘उनको नाम महसा अमिनी’ भन्दै नाराबाजी गरेका थिए ।

अधिकारको माग गर्दै इरानी महिलाहरूले विरोध प्रदर्शन चर्काएको यो पहिलो पटक भने होइन । सन् १९७९ को इस्लामिक विद्रोहयता नै इरानी महिलाले हिजाब कानुनलाई चुनौती दिँदै आएका छन् । सन् २०१७ मा एक महिलाले इरानी राजधानी तेहरानको मध्यभागमा हिजाब निकालेर लाठीमा राखेर हल्लाएपछि यसले अभियानकै रूप लिएको हो ।

इरानमा पछिल्लो समय चर्किएको प्रदर्शन सन् २०१९ यताकै ठूलो हो । इन्धनको मूल्यवृद्धिको विरोधमा सन् २०१९ को नोभेम्बरमा सुरु भएको आन्दोलनलाई सरकारले दमन गर्ने क्रममा १ हजार ५ सय जना मारिएका थिए । आन्दोलनलाई इरानको इतिहासकै सबैभन्दा रक्तपातपूर्ण बताइएको छ ।

मुस्लिम महिलाहरूले परम्परागत रूपमा टाउको ढाक्न प्रयोग गर्ने वस्त्र हो हिजाब । यो लगाउँदा मानिसको टाउकोदेखि घाँटी हुँदै छातीसम्म छोपिन्छ । तर अनुहार भने खुला रहन्छ । अरबी शब्द ‘हिजाब’ को अर्थ अवरोध हो । इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछि हिजाब कानुन लागू गरेको हो । त्यसयता इरानी महिलाहरू घरबाहिर निस्कँदा अनिवार्य रूपमा हिजाब लगाउँदै आएका छन् । इरान घुम्न जाने अन्य देशका नागरिकले पनि त्यहाँका महिलाले जसरी हिजाब लगाउनुपर्ने नियम छ ।

इस्लामिक कानुनअनुसार महिलाले घरबाहिर निस्कँदा आफ्नो अनुहार र हात (नाडीसम्म) बाहेक सम्पूर्ण अंग छोप्नुपर्छ । तर यथार्थमा भने यो नियम पूर्ण रूपमा कार्यान्वयनमा भने आएको देखिँदैन । यद्यपि, केही महिलाले भने यो कानुनको पालना गर्ने गरेका छन् । इरानमा यो कानुन लागू गरिएसँगै महिलाहरूले असन्तुष्टि व्यक्त गर्दै आएका थिए । त्यसयता उनीहरूले पटकपटक उक्त कानुनको सार्वजनिक रूपमा विरोधसमेत गर्दै आएका छन् । बासिज अर्धसैनिकले सहयोग गर्ने धार्मिक प्रहरी ‘गस्त–इ–इरसाद’ ले हिजाबसम्बन्धी कानुन कार्यान्वयन गर्दै आएको छ । यसले तोकिएको नियमअनुसार हिजाबको प्रयोग भए/नभएको हेर्ने, महिलाले आफ्नो केश तथा शरीर ढाके/नढाकेको हेर्ने र शृंगारका सामग्रीको प्रयोगलाई दुरुत्साहन गर्ने काम गर्छ ।

हिजाबको प्रयोग सही तरिकाले नभएको खण्डमा चेतावनी दिने, जरिवाना लिने र पक्राउसमेत गर्नका लागि गस्त–इ–इरसादलाई गठन गरिएको थियो । तर केही समयअघिको सुधारअन्तर्गत केही समयपछि उक्त फौजले ती काम गर्न नपाउने बताइएको छ । त्यसको साटो ७ हजार सादा पोसाकका धार्मिक प्रहरीले हिजाबसम्बन्धी नियम उल्लंघन गर्ने महिलाका विषयमा प्रहरीलाई जानकारी दिने जनाइएको छ । पछिल्लो समय खासगरी सहरी धनी वर्गका महिलाले हिजाबसम्बन्धी नियम पूर्ण रूपमा पालना नगरेको पाइन्छ ।

प्रकाशित : मंसिर ८, २०७९ ०७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×