३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

युक्रेन युद्ध अन्त्य गर्न आह्वान

एपी, रासस

बैंकक — एसिया–प्रशान्त क्षेत्रका नेताहरूले युक्रेन युद्ध अन्त्यको आह्वान गर्दै यस क्षेत्रको दिगो आर्थिक उन्नयन तथा खुला व्यापार प्रवद्र्धनका निम्ति काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

युक्रेन युद्ध अन्त्य गर्न आह्वान

एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) का प्रमुख कार्यकारी अधिकृतहरूको शिखर सम्मेलन समापनका अवसरमा सम्मेलन आयोजक देश थाइल्यान्डले युक्रेनमाथि रुसले गरेको आक्रमणको निन्दा गरेको जनाएको छ । एक्काइस सदस्यीय एपेकका सदस्य चीन र रुस पनि हुन् । यद्यपि चीनले रुसी आक्रमणको आलोचना गरेको छैन ।

शिखर सम्मेलन समाप्तिपछि जारी घोषणापत्रमा युद्धका बारेमा एपेक नेतृत्वको मत बाझिएको छ । एपेकले आर्थिक सम्बन्ध विस्तार र व्यापार प्रवद्र्धनलाई नै जोड दिएको तथा एपेक द्वन्द्व समाधानको मञ्च नभएको जनाइएको छ । मञ्चले युद्ध र द्वन्द्वबाट आर्थिक विकासका मार्गमा अकल्पनीय परिणाम ल्याउन सक्नेतर्फ सचेत गराएको छ । एपेकका अधिकांश सदस्यले युक्रेनमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेका थिए । युक्रेन युद्धले ठूलो मानवीय पीडा निम्त्याएको, विश्व बजारमा महँगी बढेको, आपूर्तिमा समस्या उत्पन्न भएको, खाद्य असुरक्षा र वित्तीय जोखिम निम्त्याएकामा गम्भीर चिन्ता व्यक्त गरेका थिए ।

यसअघि इन्डोनेसियाको बालीमा भएको विश्वका प्रमुख विकसित एवं उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वान्टीले पनि संयुक्त राष्ट्रसंघीय महासभाले प्रस्तुत गरेको प्रस्तावप्रति समर्थन जनाउँदै युक्रेनविरुद्ध रुसले गरेको आक्रमणको निन्दा गरेको थियो । उक्त अन्तरसरकारी समूहले युक्रेनी भूभाग रुसले बिनासर्त फिर्ता गर्नुपर्नेमा जोड दिएको थियो । सम्मेलन समापनका क्रममा दक्षिणपूर्वी एसियाली देशमा भएका घटनाको समीक्षा पनि भएको थियो । कोभिड–१९ महामारीका कारण दुई वर्षसम्म आमनेसामने वार्ताको अवसर नपाएका नेताले ‘साइड लाइन’ वार्तामा क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विविध विषयमा विचारविमर्श गरेका थिए ।

शिखर सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै चीनका राष्ट्रपति सी चिनफिङले खुला व्यापार र लगानीका निम्ति आह्वान गरेका थिए । उनले बहुपक्षीयतालाई वास्तविक रूपमा कायम राख्नुपर्ने, बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्नुपर्ने, विधिमा आधारित बहुपक्षीय व्यापार प्रणालीको संरक्षण गर्न तथा विश्वव्यापी औद्योगिक एवम् आपूर्ति शृंखलालाई सुरक्षित र स्थिर राख्न साझा प्रयास हुनुपर्नेमा विशेष जोड दिएका थिए ।

प्रकाशित : मंसिर ५, २०७९ ०४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?