इलन मस्कद्वारा ट्रम्पको ट्वीटर ह्यान्डल निलम्बन फुकुवा

काठमाडौँ — ट्वीटरका नयाँ मालिक इलन मस्कले शुक्रबार राति आफ्नो ट्वीटर खाताबाट एक पोलमार्फत प्रश्न सोधेका थिए: के पूर्व राष्ट्रपति ट्रम्पको ट्वीटर खाता फिर्ता हुनुपर्छ? झन्डै डेढ करोड व्यक्तिहरूले भोट हालेको उक्त पोलमा ५२% ले हुनुपर्छ भन्ने मत व्यक्त गरे भने बाँकीले हुँदैन भने। पोलको नतिजापछि मस्कले पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीटर निलम्बन फुकुवा गरिएदिएका छन्

इलन मस्कद्वारा ट्रम्पको ट्वीटर ह्यान्डल निलम्बन फुकुवा

झन्डै नौ करोड फलोअर रहेको उक्त खाता २०२०को जनवरी ६ मा वाशिङ्टनमा अमेरिकी चुनावको नतिजालाई लिएर भड्किएको हिंसामा सहभागीहरूलाई उकास्नमा प्रयोग भएको भन्दै निलम्बन भएको थियो। सो क्रममा फेसबुक र ट्वीटरले ट्रम्पको खाता निलम्बन गरिदिएका थिए। 'जनताले आफ्नो धारणा दिए,' मस्कले शनिबार साँझ ट्वीट गरे, 'ट्रम्पको खाता फिर्ता हुनेछ।' त्यसको केही समयमै पूर्व राष्ट्रपतिको खाताको निलम्बन अन्त्य भएको थियो।

ट्रम्प आफूचाहिँ सामाजिक सञ्जाल ट्वीटरमा फर्किने/नफर्किनेबारे स्पष्ट बताएका छैनन्। गत अप्रिलमा फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले यदि मस्कले ट्वीटर किनेमा पनि आफू उक्त सञ्जालमा नफर्किने र आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा केन्द्रित रहने बताएका थिए। मस्कले ट्वीटर खरिद गरेपछि ट्रम्पलगायत मिथ्या सूचना र अफवाह फैलाउन आफ्नो सामाजिक सञ्जाल प्रयोग गरेको आरोपमा निलम्बनमा परेका विभिन्न ट्वीटर खाताहरूप्रति ट्वीटर उदार हुने अपेक्षा गरिएको थियो।

पूर्वराष्ट्रपति ट्रम्पले शनिबार लस भेगासमा आयोजित एक कार्यक्रममा आफ्नो भर्चुअल उपस्थिति देखाएका थिए, उक्त क्रममा उनले ट्वीटरको पोल र अपेक्षित निलम्बन अन्त्यप्रति खुसी व्यक्त गर्दै आफ्नो सामाजिक सञ्जालमै रहने धारणा व्यक्त गरे। निलम्बन फुकुवा भएपछि भने ट्रम्पको औपचारिक धारणा आइसकेको छैन।

अन्तिम पटक ट्वीट गर्दा आफू राष्ट्रपति बाइडेनको शपथमा नजाने ट्वीट गरेका ट्रम्पप्रति ट्वीटरको यो उदार कदम उनले २०२४ को राष्ट्रपतीय चुनावमा पुन: प्रतिस्पर्धा गर्ने घोषणा गरेको आसपासकै समयमा आएको छ।

२०१६ को निर्वाचनमा ट्रम्प विजयी हुँदा र त्यसपछिका दिनमा पनि ट्रम्पले ट्वीटरलाई आफ्नो धारणा व्यक्त गर्ने, नयाँ घोषणा सुनाउने, विपक्षीहरूलाई गाली गर्नेलगायतका काममा अत्याधिक प्रयोग गर्ने गरेका थिए। ट्रम्पप्रतिको यो उदार कदमले नयाँ मालिक मस्कपछिको ट्वीटरको दिशाबारेमा संकेत दिएको धारणा विज्ञहरूले व्यक्त गरेका छन्।

प्रकाशित : मंसिर ४, २०७९ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?