कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

रुसले फेरि बढायो युक्रेनमा आक्रमण

एजेन्सी

किभ — रुसले युक्रेनी भौतिक पूर्वाधारलाई लक्षित गरी भीषण हवाई आक्रमण गरेको छ । हवाई आक्रमणबाट युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा व्यापक क्षति भएको छ ।

रुसले फेरि बढायो युक्रेनमा आक्रमण

युक्रेनी अधिकारीहरूका अनुसार मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा परी ४ जनाको मृत्यु भएको छ । १२ जनाभन्दा बढी घाइते भएका जनाइएको छ । युक्रेनी अधिकारीहरूले रुसी फौजले प्रहार गरेका दुईवटा रुसमा निर्मित क्षेप्यास्त्र तथा इरानमा बनेका पाँचवटा मानवरहित विमानबाट आक्रमण गरिएको दाबी गरेका छन् । तीमध्ये केहीलाई खसालेको उनीहरूको दाबी छ । स्थल युद्धमा रुसी सैनिक पराजित भएपछि क्रेमलिनले युक्रेनमाथि हवाई आक्रमणलाई व्यापक बनाउँदै उसका ऊर्जा पूर्वाधार, गैरसैनिक बस्तीमा कारबाहीलाई तीव्र गतिमा अघि बढाएको युक्रेनको भनाइ छ ।

युक्रेन युद्ध नवौं महिनामा प्रवेश गर्न लागेका बेला मस्कोले अत्याधुनिक क्षेप्यास्त्र आक्रमण तीव्र पारेको हो । उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को सदस्यता लिने तयारी गरेपछि रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण सुरु गरेको हो । त्यसयता रुसी आक्रमणका कारण हजारौं युक्रेनी सर्वसाधारणले ज्यान गुमाइसकेका छन् भने अर्बौं डलर बराबरको भौतिक संरचना ध्वस्त भएको जनाइएको छ ।

आक्रमण सुरु गरेयता नियन्त्रणमा लिएका चारवटा क्षेत्र भने रुसले जनमत संग्रह गरी आफूमा गाभिसकेको छ । सेप्टेम्बर २३ देखि पाँच दिन लगाएर जनमत संग्रह गरी रुसले रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्रहरू लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सनलाई आफूमा गाभेको हो । जनमत संग्रहमा ती क्षेत्रका लगभग सबैजसो नागरिकले रुसमा गाभिने पक्षमा मत दिएका रुसी अधिकारीहरूको दाबी छ । उक्त कदमले सन् २०१४ मा क्राइमियालाई आफूमा गाभ्ने रुसी कदमको झल्को दिएको थियो । अमेरिका, युरोपेली संघलगायत पश्चिमा शक्तिले भने रुसले गरेको जनमत संग्रह अवैधानिक घोषित गरेका थिए । त्यस्तै, नियन्त्रणमा लिएकामध्येको ठूलो सहर खेर्सनबाट भने गत साता रुसले सेना फिर्ता गरिसकेको छ । दक्षिणी सहरबाट सेना फिर्ता भएपछि स्थानीयले उत्सव मनाएका थिए । खेर्सनमा खटिएका आफ्ना सेनाका लागि आवश्यक सामग्री आपूर्ति गर्न सम्भव नभएको बताउँदै रुसले सेना फिर्ता गरेको हो । उक्त क्षेत्रमा ३० हजार रुसी सेना तैनाथ थिए । अमेरिका, बेलायतलगायतका पश्चिमा देशले भने रुसी सेना समस्यामा परेपछि फिर्ता भएको दाबी गर्दै आएका छन् । पछिल्लो समय युक्रेनी फौजबाट कडा प्रत्याक्रमणको सामना गरिरहेको रुसका लागि सेना फिर्ता गर्नु बाध्यता भएको मानिएको छ ।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ब्ल्याक सीबाट अन्न, खाद्यसामग्री र मलखादको सुरक्षित निर्यातका निम्ति चार महिनाअघि भएको सहमतिको म्याद समाप्त हुनु केही दिनअघि त्यसलाई थपिएको घोषणा गरेका छन् । इस्तानबुलमा टर्कीसहित रुस र युक्रेनबीच भएको खाद्यान्न निर्यातको सम्झौतालाई कार्यान्वयन गराउन राष्ट्रसंघ पूर्ण प्रतिबद्ध रहेको बताए । अनाज निर्यातका निम्ति समयावधि थपिएको सम्बन्धमा महासचिव गुटेरेसले गरेको घोषणा तथा पुरानो सम्झौताको निरन्तरताबारे भने रुसले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रकाशित : मंसिर २, २०७९ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?