ट्रम्पलाई फेरि राष्ट्रपति बन्न कति सहज ?- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रम्पलाई फेरि राष्ट्रपति बन्न कति सहज ?

अमेरिकालाई फेरि एक पटक महान् र गौरवशाली बनाउन सन् २०२४ मा हुने राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धा गर्ने डोनाल्ड ट्रम्पको घोषणा 
एजेन्सी

वासिङटन/फ्लोरिडा — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।‘अमेरिकालाई फेरि एक पटक महान् र गौरवशाली बनाउन मैले अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेको छु,’ फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा ट्रम्पले भनेका छन् । त्यहाँ उनको चुनावी अभियानको मुख्य कार्यालय रहने जनाइएको छ । 

‘यो मेरो होइन, अब हाम्रो साझा अभियान हुनेछ,’ आफ्ना निकटस्थ, सल्लाहकार र परम्परावादी नेताहरूको बीचमा ट्रम्पले भनेका छन्, ‘हामीले हाम्रो देश बचाउनुपर्छ ।’ अमेरिकामा गत साता भएको मध्यावधि चुनावमा रिपब्लिकन दलले अपेक्षा गरेअनुसारको सफलता हासिल नगर्नुमा ट्रम्प जिम्मेवार रहेका कतिपय नेताहरूको आरोपबीच ट्रम्पले उम्मेदवारी घोषणा गरेका हुन् ।

अमेरिका दुई वर्षअघि भएको चुनावमा ट्रम्प वर्तमान राष्ट्रपति जो बाइडेनसँग पराजित भएका थिए । उनलाई परास्त गरेका बाइडेनले पनि सन् २०२४ को चुनावमा प्रतिस्पर्धा गर्न सक्ने बताइसकेका छन् । मध्यावधि चुनावमा बाइडेनको दल डेमोक्रेटिकले दुई दशकयताकै सफलता हासिल गरेका थियो । तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स (प्रतिनिधिसभा) मा बहुमत गुमाउने निश्चित भए पनि डेमोक्रेटिकले माथिल्लो सदन सिनेटमाथि नियन्त्रण कायम गरेको छ ।

उम्मेदवारी घोषणाका क्रममा बोल्दै ट्रम्पले ‘दसौं लाख अमेरिकीका लागि जो बाइडेन प्रशासनका दुई वर्ष पीडा, कठिनाइ, तनाव र निराशाका रूपमा रहेका’ दाबी गरे । आमन्त्रितहरूको भीड रहेको घोषणासभामा उनले करिब एक घण्टा बोलेका थिए । उनकी पत्नी मेलानिया ट्रम्प उपस्थित कार्यक्रमा छोरी इभांका र छोरा जुनियर ट्रम्प भने अनुपस्थित रहेका थिए ।

गत साता डेमोक्रेटिकका तर्फबाट राष्ट्रपति बनेका बाइडेनले भने अमेरिकामा ट्रम्पको राजनीतिक आधार अझै बलियो रहेको अस्वीकार गरेका थिए । ‘होइन, वास्तविक रूपमा छैन,’ उनले पत्रकारहरूसँग कुरा गर्दै भनेका थिए । सन् २०२४ को नोभेम्बर ५ मा हुने राष्ट्रपतीय चुनावका लागि रिपब्लिकन दलका तर्फबाट उम्मेदवारी घोषणा गरे पनि ट्रम्पले दलभित्रै चुनौतीको सामना गर्ने ठानिएको छ । उनकै कार्यकालका उपराष्ट्रपति माइक पेन्स तथा फ्लोरिडाका गभर्नर रोन डेसान्टिस उनका लागि कडा चुनौतीका रूपमा देखापर्ने आकलन गरिएको छ ।

गतसाताको चुनावमा अत्यधिक मतसहित पुनः निर्वाचित भएसँगै डेसान्टिस पार्टीभित्र निकै लोकप्रिय बनेका छन् । हालसम्म राष्ट्रिय स्तरको राजनीतिमा परीक्षण हुन बाँकी डेसान्टिसले राष्ट्रपतीय चुनावमा प्रतिस्पर्धामा उत्रने विषयमा भने हालसम्म केही बताएका छैनन् ।

सन् २०२० को चुनावमा पराजित भएको अस्वीकार गरेका ट्रम्पले एक कार्यकालपछि राष्ट्रपति कार्यालयबाट सन् २०२१ बाहिरिएका थिए । उनले परिणाम अस्वीकार गरेसँगै सन् २०२१ को जनवरी ६ मा अमेरिकी संसद क्यापिटोल हिलमा आक्रमण गरिएको थियो । त्यसका लागि ट्रम्प मुख्य जिम्मेवार रहेको आरोप छ ।

संसद् भवनमा भएको दंगामा संलग्न रहेको आरोपसँगै ट्रम्पमाथि राष्ट्रपतीय चुनावमा साँठगाँठ गरेको, परिवारका सदस्यसँगका विवादास्पद व्यवसाय तथा आफ्नो कार्यकाल सकिएपछि सबै चिठीपत्र र कामकाजसँग सम्बन्धित कागजात अभिलेखालयलाई हस्तान्तरण नगरेको लगायत विषयमा अनुसन्धान जारी छ ।

अमेरिकी राष्ट्रपतिले आफ्नो कार्यकाल सकिएपछि कामसँग सम्बन्धित कागजात तथा इमेलहरू राष्ट्रिय अभिलेखालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ । तर ट्रम्पले त्यस्ता सरकारी कागजात घरमा लुकाएका विषयका आरोपबारे संघीय जाँच ब्युरो (एफबीआई) ले अनुसन्धान गरिरहेको छ । यद्यपि, ट्रम्पले आफूमाथि लगाइएका आरोपको खण्डन गर्दै आएका छन् ।

आगामी राष्ट्रपतीय चुनावमा आफूलाई उम्मेदवार बन्नबाट रोक्न ‘न्याय प्रणालीलाई हतियारका रूपमा प्रयोग गरिएको’ ट्रम्पको आरोप छ । तर यस मुद्दामा ट्रम्प दोषी ठहरिएको खण्डमा उनी राष्ट्रपतीय उम्मेदवार बन्न कठिन देखिन्छ । कसैले जानीजानी कुनै पनि सरकारी अभिलेख, कामकारबाही, पुस्तक, नक्सा, कागजात वा अन्य वस्तु गैरकानुनी रूपमा नष्ट गरे, हटाए वा क्षति पुर्‍याए ३ वर्षसम्म कैद सजाय हुने अमेरिकी अपराध कानुनमा उल्लेख छ । त्यस्तो अवस्थामा उनी कुनै पनि संघीय कार्यालयमा काम गर्न अयोग्य हुने जनाइएको छ । त्यसको अर्थ त्यस्तो व्यक्ति राष्ट्रपतीय चुनावमा उम्मेदवार हुन पाउने कतिपय कानुनविद्हरूको तर्क छ । नागरिकता, उमेर र आवासका आधारमा मात्रै कसैलाई राष्ट्रपतिको उम्मेदवार बन्न रोक्न सकिने उनीहरूको भनाइ छ ।

यसअघि अमेरिकाका पूर्वराष्ट्रपति जर्ज डब्लू बुस मादक पदार्थ सेवन गरेर सवारी चलाएको अभियोगमा दोषी ठहर भएका थिए । तर उनी दुई कार्यकाल अमेरिकाको राष्ट्रपति बने । अमेरिकी संविधानमा राष्ट्रपतिका लागि उम्मेदवार बन्न ३५ वर्ष उमेर पुगेको र अमेरिकामा जन्मेर कम्तीमा १४ वर्षदेखि त्यहाँ बसोबास गरिरहेको हुनुपर्ने उल्लेख छ । यसको आधारमा संविधान र कानुन बाझिएको जस्तो देखिन्छ । किनकि संघीय कानुनले फौजदारी अभियोगमा दोषी ठहर भएका व्यक्तिलाई राष्ट्रपतीय चुनामा उम्मेदवार हुन रोक लगाएको छ ।

प्रकाशित : मंसिर १, २०७९ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्

काठमाडौं-१० : केसीको ह्याट्रिक कि नयाँ सांसद ?

गठबन्धन नहुँदा कांग्रेस र माओवादीबीचमै प्रतिस्पर्धा, यसअघि जितेका केसीले गौरव गर्नलायक काम नगरेको एमालेको आरोप
ऋषिराम पौड्याल

काठमाडौँ — २०६४ को संविधानसभा निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले जितेपछि काठमाडौं–१० को धेरै चर्चा भयो । त्यतिबेला १२ हजार मतान्तरले जितेका दाहाल २०७० मा यही क्षेत्रमा ११ हजार मतान्तरले पराजित भए । उनलाई हराएका थिए, कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार केसीले । दाहाललाई हराएर चर्चा बटुलेका केसी २०७४ को निर्वाचनमा पनि विजयी भए । उनी फेरि यही क्षेत्रबाट जितेर ‘ह्याट्रिक’ गर्ने दौडमा छन् । 

अघिल्लो संसदीय निर्वाचनमा एमाले र माओवादी गठबन्धन हुँदा पनि केसीले जितेका थिए । यसपटक कुनै पनि दलबीच यहाँ गठबन्धन नभएकाले आफ्नो जित पक्का भएको उनको दाबी छ । माओवादी केन्द्रकी निवर्तमान सांसद अञ्जना विशंखे पनि चुनावी मैदानमा छिन् । यसपटक दलिततर्फ माओवादी केन्द्रबाट प्रतिनिधिसभाकी प्रत्यक्षतर्फको उम्मेदवार उनी मात्र हुन् । एमालेबाट एक जना दलित उम्मेदवार छन् भने कांग्रेसले उक्त समुदायबाट कसैलाई उठाएको छैन ।

यस क्षेत्रमा एमालेका हिमेश केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापा, नेपाल मजदुर किसान पार्टीका नारायण महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टसहित दलका १५ र ३ स्वतन्त्रसहित १८ जना उम्मेदवार चुनावी मैदानमा छन् । एमाले, माओवादी र राप्रपाका उम्मेदवारहरू केसीको ह्याट्रिक रोक्ने दौडमा छन् । एमाले उम्मेदवार हिमेश यसअघि जित्नेले आफ्नो निर्वाचन क्षेत्रमा गौरव गर्न लायक काम गर्न नसकेको दाबी गर्छन् । दक्षिणकाली सडक वर्षौंदेखि नबनेको प्रसंग जोड्दै उनले भने, ‘त्यहाँका जनताको ठूलो गुनासो छ । घरदैलो कार्यक्रममा यसपटक एमालेलाई मत खसाल्ने वचन दिएका छन् ।’ स्थानीय तहमा एमालेको मत कम भए पनि आधार भत्किनसकेको दाबी उनको छ ।

२०७० मा दाहालको हार र त्यसपछिको चुनावमा पनि जित्न नसक्दा यो क्षेत्रमा माओवादी संगठन कमजोर बनेको छ । माओवादी उम्मेदवार विशंखे मतदाताले अहिले नीतिगत र व्यावहारिक रूपमा आफ्ना समस्याहरूको समाधान खोजेको बताउँछिन् । ‘उनीहरूले राष्ट्रिय राजनीतिको पहुँचमा यो क्षेत्रलाई प्रतिनिधित्व गर्ने नेतृत्व खोजिरहेका छन्,’ विशंखेले भनिन् । मतदाताको काम गर्न योजना र प्रतिबद्धताहरू प्रस्तुत गरिरहेको जानकारी उनले दिइन् । भन्छिन्, ‘मतदाताको रेस्पोन्सबाट म जित्ने अवस्थामा छु ।’ यो क्षेत्रका अर्का प्रतिस्पर्धी उम्मेदवार हुन् बलराम थापा । उनी कांग्रेसबाट राप्रपामा प्रवेश गरेर उम्मेदवार बनेका हुन् । त्यसैले उनले कांग्रेसका केसीको मत काट्ने विश्लेषण गरिएको छ ।

यसअघिको निर्वाचनमा कांग्रेसका केसीले २४ हजार १ सय ९० मत पाएर जित हासिल गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी एमाले–माओवादीका साझा उम्मेदवार माओवादीका हितमान शाक्यले २१ हजार ९ सय ७ मत पाएका थिए । गत स्थानीय तह निर्वाचनको परिणाम पनि कांग्रेसकै पक्षमा छ । काठमाडौं–१० मा दक्षिणकाली, कीर्तिपुर नगरपालिका पूरै तथा चन्द्रागिरि नगरपालिकाको १५ मध्ये ११ वडा छन् ।

गत स्थानीय तहको निर्वाचनमा दक्षिणकाली, चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाको प्रमुख कांग्रेसले जितेको थियो । नगर प्रमुखले पाएको मतका आधारमा करिब ३२ हजार कांग्रेस र साढे २५ हजार एमालेको मत छ । नेकपा एकीकृत समाजवादीले कीर्तिपुरमा ११ सय ५३ मत पाएको थियो । प्रतिनिधिसभामा नेकपा एसका उम्मेदवार नभएकाले उक्त मत कांग्रेसलाई आउने अनुमान गरिएको छ । राप्रपाबाट नगर प्रमुखका उम्मेदवारले करिब २ हजार ५ सय ८० मत प्राप्त गरेका थिए ।

कीर्तिपुरका १० वडामध्ये ९ वटा कांग्रेसले जितेको छ भने एउटा स्वतन्त्रले जितेको छ । स्वतन्त्रले जितेको वडामा कांग्रेस दोस्रो स्थानमा छ । कीर्तिपुरमा कांग्रेसबाट जित्ने वडाध्यक्षहरूको मत ९ हजार ५ सय ४१ छ । एमालेको ६ हजार ३ सय ६१ मत छ । दक्षिणकालीमा ९ वडामध्ये ६ कांग्रेसले र तीन एमालेले जितेको छ ।

यहाँ कांग्रेसका वडाध्यक्षले ६ हजार ६ सय ४३ र एमालेले ५ हजार ४ सय ७० मत पाएको छ । चन्द्रागिरिमा १५ मध्ये ११ वडा काठमाडौं १० निर्वाचन क्षेत्रमा रहेको छ । १ देखि ११ सम्मको वडाध्यक्षमध्ये कांग्रेसले ७ वटा जितेको छ । एमाले र माओवादीले २–२ वटा वडा जितेका छन् । कांग्रेस वडाध्यक्षको मत ९ हजार ७ सय ९२ छ । एमालेको मत ८ हजार ६४ छ 

प्रकाशित : मंसिर १, २०७९ ०८:१९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×