युरोपमा बढ्यो दाउराको माग - विश्व - कान्तिपुर समाचार

युरोपमा बढ्यो दाउराको माग 

ददि सापकोटा

पेरिस — रुस–युक्रेन युद्धले ऊर्जा संकट भइरहेका बेला जाडोयाम सुरु भएपछि युरोपभर दाउराको माग तीव्र रूपमा बढेको छ । जर्मनी, अस्ट्रिया, फ्रान्स, बेलायत, नर्वे, स्विडेन, बेल्जियम, इस्टोनिया, रोमानिया, स्विट्जरल्यान्डलगायत अधिकांश देशमा दाउराको माग निकै बढिरहेको छ ।

रुसी ग्यास कटौतीसँगै जाडोयाममा आफ्ना घर तताउन ग्यास र बिजुलीको संकट हुने भयले माग अकासिएको हो । युरोपेली संघ (ईयू) ले जाडोयाममा संकट टार्न ऊर्जा प्रयोगमा १५ प्रतिशत कटौती गर्नुपर्ने चेतावनी दिएको छ । जसका कारण युरोपेलीहरूले काठमा लगानी गरिरहेका हुन् । वैकल्पिक ऊर्जा आपूर्ति खोजिरहेका बेला अस्ट्रियन चेम्बर अफ कमर्सले दाउराको माग तीव्र रूपमा बढ्दै गएको उल्लेख गरेको छ ।

अस्ट्रियामा पानी र घर तताउन गत सालबाट नै काठको माग ३८ प्रतिशतले बढेको छ । रुसी ग्यासको आपूर्ति बन्द भएपछि माग वृद्धि भएको अस्ट्रियन च्याम्बर अफ कमर्सले जनाएको छ । चेक गणतन्त्रमा बिजुलीको बिल सबैभन्दा धेरै बढेपछि दाउरामा आकर्षित भएको बताइएको छ । जुलाई २०२२ को घरेलु ऊर्जा मूल्य सूचकांकले क्रयशक्तिअनुसार समान तरिकाले समायोजन गर्दा चेक गणतन्त्रमा नागरिकले बिजुलीका लागि सबैभन्दा बढी तिरेका छन् । बढ्दो ऊर्जा बिलहरू तिर्न कठिन हुन लागेकाले पनि धेरै संख्यामा युरोपेलीहरू यस जाडोमा घर तताउन दाउरातिर फर्किरहेका छन् ।

फ्रान्समा दाउराको माग जाडो नलाग्दै ३३ प्रतिशतले बढिसकेको थियो । माग अत्यधिक बढ्दै गएपछि गोदामघरहरूले अर्को सालका लागि माग गरेको काठ पनि मगाइसकेको मेडियाहरूले उल्लेख गरेका छन् । दाउराको माग बढ्दै जाँदा वातावरणवादीहरूले प्रकृति विनाशको संकेत भन्दै चिन्ता व्यक्त गरेका छन् । दाउराको अभाव बढ्दै जाँदा निजी र सरकारी वन विनाश हुन सक्ने चिन्ता व्यक्त गरिएको छ । ऊर्जा संकटलाई उल्लेख गर्दै पोल्यान्डको सत्तारूढ दलका प्रमुख, जारोस्लाब काक्जिन्स्कीले मानिसहरूले टायर, प्लास्टिक र त्यस्तै हानिकारकबाहेक सबै चिज जलाउनुपर्ने बताएका छन् । हंगेरीमा दाउराको माग तीव्र बन्दै गएपछि त्यहाँको सरकारले काठका गोलाई बोक्ने प्यालेट निर्यातमा प्रतिबन्ध र सरकारी वनमा काठदाउरा खोज्न प्रतिबन्ध लगाएको छ ।

फ्रंस–२४ का अनुसार काठका टुक्राहरूको मूल्य फ्रान्समा लगभग दोब्बरले बढेर प्रतिटन ६ सय युरो पुगेको छ । बुल्गेरियामा दाउराको मूल्य दोब्बरले बढेर एकसय युरो प्रतिघनमिटर पुगेको छ । पोल्यान्डमा दाउराको मूल्य दोब्बर भएको जनाइएको छ ।

युरोपमा अत्यधिक काठ भित्रिएपछि गत जुलाई महिनामा ईयूले रुसी काठ र टुक्राको आयातमा प्रतिबन्ध लगाएको थियो । तर ईयूको यो प्रतिबन्धले काठदाउरा प्रयोग गर्ने न्यूनस्तरका नागरिकहरूलाई मारमा पार्ने भन्दै अभियानकर्ताहरूले विरोध गरेका छन् । जर्मनीमा दाउरा र कोइलाको मागमा उच्च वृद्धि भएपछि केही नक्कली अनलाइन स्टोरहरूले काठदाउराको दसौं गुणा मूल्य बढाएर बिक्री गरिरहेको भन्दै जर्मन प्रहरीले त्यसलाई ‘घोटालाको विपत्ति’ भनेको छ ।

युरोपियन कन्फेडेरेसन अफ द वुड वर्किङ इन्डस्ट्रिज र युरोपियन अर्गनाइजेसन अफ द समिल इन्डस्ट्रिजले उर्जा संकटपछि काठ नपाउँदा कतिपय उद्योग संकटमा परेका छन् । वुडवर्किङ उद्योगका अनुसार ऊर्जाको मूल्य बढ्न जाँदा काठको मूल्य कम्तीमा दोब्बर हुनुका साथै अन्य लागतहरू पनि बढेको छन् । केही वैज्ञानिक र वातावरणीय संरक्षण कार्यकर्ताहरूले लामो समयदेखि काठ जलाउँदा कोइला जलाउनेभन्दा प्रतिएकाइ ऊर्जाले बढी कार्बन प्रदूषण गराउने बताउँदै आएका छन् ।

प्रकाशित : कार्तिक ३०, २०७९ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्

बत्ती निभाउन छापा मार्दै मध्यरातमा फ्रान्सेली जलवायु कार्यकर्ता

ददि सापकोटा

पेरिस — फ्रान्सेली जलवायु कार्यकर्ताहरू रातको समयमा विज्ञापनका बत्ती निभाउन छापा मार्दै हिँड्न थालेका छन् । उनीहरूले राति बल्ने स्टोर बत्ती, होडिङ बोर्ड र अन्य चम्किला बत्ती निभाउँदै रातिराति छापा मार्ने गरेका हुन् ।

सरकारले मानिसहरूलाई बिजुलीको प्रयोग कटौती गर्न आग्रह गरेको भए पनि रातभर कम्पनीका चिह्न र विज्ञापनका बत्तीहरू बाल्न भने दिएको भन्दै युवाहरूले राति छापा मारेर निभाउँदै हिँड्ने गरेका हुन् ।

सरकारले त्यस्ता विज्ञापनहरूलाई छुट दिएपछि पेरिस जलवायु कार्यकर्ताहरूले जनता र स्थानीय तहको ध्यान आकर्षित गर्न र नागरिक अवज्ञाको प्रयोग गर्न छापा मार्नुपरेको बताएका छन् ।

पेरिसको प्रमुख कार शो मोन्डियल दे अटोमा शुक्रबार साँझ जलवायु संरक्षण पक्षधर केही कार्यकर्ता पसेर बत्ती निभाएको र ती कारमा बत्ती नबाल्ने सन्देश टाँसेर छोडेका थिए ।

'ठूला उद्योग र कार कम्पनीहरूले प्रदूषक उद्योगको निन्दा गरिरहेका छन् । उनीहरू हरित यातायातको कुरा गरेर आफ्नो छविलाई हरितवादी बनाउन खोजिरहेका छन्, तर उनीहरूले व्यक्तिगत कार स्वामित्वलाई भविष्यको यातायातको रूपमा प्रवर्द्धन गर्न जारी पनि राखिरहेका छन्,' समूहको विज्ञप्तिमा भनिएको छ ।

शनिबार राति ९ बजे जलवायुवादी कार्यकर्ताहरू राति छापा मार्न निस्किनुअघि रणनीतिक ब्रीफिङको लागि भेला भएका थिए ।

'फ्रान्समा एक करोड २० लाख मानिसहरू चिसोमा बस्न बाध्य हुँदैछन्, किनभने तिनीहरूले आफ्नो घर तताउन सक्दैनन् । अर्कोतर्फ हामी यो ऊर्जा पूर्ण रूपमा बेकार विज्ञापन चिह्नहरूमा बर्बाद गर्दैछौं,' आन्दोलनकर्ताहरूको भनाइ छ ।

बाहिरी बत्तीका स्विचहरूमा पुग्न टेलिस्कोपिक पोलहरूसहित भर्‍याङ, पोस्टर र उपकरणहरू वितरण गरेका छन् । प्रहरीले उनीहरूलाई देखे पनि आफूहरू नभाग्ने उनीहरूले बताएका छन् ।

सरकार, स्थानीय निकाय दुवैले जनतामाथि अन्याय गरेकाले कानुनी जोखिम र पक्राउ पर्न सक्ने जोखिम लिन तयार रहेको जलवायुकर्मीहरूको भनाइ छ । उनीहरूले यो अन्यायका विरुद्ध आम जनतालाई जाग्रित गराउने बताएका छन् ।

जनताको घर अँध्यारो हुँदा पनि भेसाई दरबारमा पहिलेका राजाहरूले झलमल्ल बत्ती बालेर बस्ने गरेकाले अनावस्यक रुपमा बत्ती बाल्दा 'से पा भेसाई (यो बेसाई दरबार होइन)' भन्ने गाली गर्ने उक्ति चलेकाले त्यसको पोस्टर बनाएर अभियानकर्ताहरूले भित्ता भित्तामा टाँस्ने गरेका छन् ।

अभियानकर्ताहरूले अप्टिसियनहरू, ज्वेलर्सहरू, अत्तर बुटीकहरू, गहना, गाडी र गद्दा पसलहरू साथसाथै धेरै उज्यालो बिलबोर्डहरूलाई लक्षित गरेका छन् । तिनीहरूलाई स्विच अफ गर्ने र तिनीहरूको आफ्नै पोस्टरहरूले बत्तीका विज्ञापनहरू छोपिदिने गरेका छन् ।

रुसले युरोपमा ग्यास निर्यातमा रोक लगाएपछि दबाबमा रहेको सरकारले जाडो नजिकिँदै गर्दा विशेषगरी घरमा ताप्ने थर्मोस्टेटलाई १९ डिग्री सेल्सियसमा घटाएर ऊर्जा संयमता देखाउन मानिसहरूलाई आग्रह गरेको छ।

सरकारले जुन २०२३ बाट सुरु हुने गरी बिहान एक बजे देखि ६ बजेसम्म प्रकाश चिह्न र विज्ञापन बन्द गरिनुपर्ने एक आदेश पनि जारी गरेको छ ।

पेरिसका सहरका अधिकारीहरूले डिसेम्बरबाट राति पौने १२ बजेदेखि बिहान ६ बजेसम्म संकेत र विज्ञापन बत्ती निभाउन आदेश दिएका छन् । अभियानकर्ताहरूले यसलाई पहिलो चरणको कार्यक्रम भनेका छन् ।

'यो पहिलो चरण हो। यो जागरूकता र रोकथामको बारेमा हो । जसले बत्तीहरू रातभरि बाल्छन्, बर्बादी जारी राख्छन्, हामी दोस्रो चरणमा अगाडि बढ्ने छौं, जुन अलि साहसी हुनेछ । त्यो डिसेम्बरमा सुरु हुनेछ,' उनीहरूले सार्वजनिक गरेका छन् ।

केही पसल मालिकहरूले अभियानलाई समर्थन जनाएका छन् । बत्तीहरू बन्द गर्ने वाचा गर्दै अनावश्यक बत्ती र विज्ञापन देखिएका थलोका बारेमा अभियानकर्तालाई जानकारि दिन थालेको तिनको भनाइ छ ।

प्रकाशित : कार्तिक ६, २०७९ १९:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×