सुध्रिँदै चीन–अस्ट्रेलिया सम्बन्ध

नारायण खड्का

अस्ट्रेलिया — तीन वर्षयता चिसिएको अस्ट्रेलिया–चीन सम्बन्धमा सुधारको संकेत देखिएको छ । अस्ट्रेलियामा ५ महिनाअघि लेबरले सरकार गठन गरेपछि विदेशमन्त्री पेनी वोङ्गले चिनियाँ विदेशमन्त्री वाङ यीसँग पहिलो पटक औपचारिक भेट गरेसँगै दुई देशबीच संवादको क्रम बाक्लो बनेको छ । कम्बोडियामा भइरहेको आसियान सम्मेलनमा प्रधानमन्त्री एन्थोनी अल्बानिजीले आइतबार चिनियाँ प्रधानमन्त्री ली खछ्याङसँग अनौपचारिक भेट गरेका छन् । उक्त भेटसँगै दुई देशबीचको कूटनीतिक सम्बन्धमा थप सुधार आउने विश्लेषण गरिएको छ ।

सुध्रिँदै चीन–अस्ट्रेलिया सम्बन्ध

यसअघि अस्ट्रेलिया सरकारले चिनियाँ टेली कम्युनिकेसन कम्पनी हुवावेलाई अस्ट्रेलियामा ५–जी नेटवर्क विस्तार गर्न नदिने र वैदेशिक हस्तक्षेपसम्बन्धी कानुन पारित गरिएसँगै दुई देशबीच तिक्तता सुरु भएको थियो । त्यसपछि कोरोना भाइरसको उत्पत्तिका विषयमा अनुसन्धान गरिनुपर्ने सवालमा अस्ट्रेलियाले लिएको कडा अडानपछि सम्बन्ध बिग्रेको थियो । कोरोना भाइरसको उत्पत्तिका विषयमा छानबिन हुनुपर्ने माग उठाएपछि रुष्ट चीनले अस्ट्रेलियासँगको अर्बौं डलर बराबरको व्यावसायिक सम्बन्धमा असर पर्ने गरी विभिन्न निर्णय गरेको थियो । चीनले अस्ट्रेलियाबाट आयात गरिने करिब २० अर्ब डलर बराबरको खनिज, मासु, वाइन, जौलगायत आधा दर्जन बढी वस्तुमा कर लगाउनुका साथै रोकसमेत लगाएको थियो ।

त्यसयता समस्या समाधानका लागि अस्ट्रेलियाली पक्षले पहल गर्दै आएको भए पनि त्यसलाई चिनियाँ पक्षले बेवास्ता गर्दै आएको थियो । तर नयाँ सरकार आएपछि वार्ता अघि बढाउँदै अल्बानिजी सरकारले चीनसँगको सम्बन्ध सुधारको पहल थालेको थियो । आफ्नो व्यावसायिक साझेदारमध्येको पहिलो देश भएका कारणसमेत अस्ट्रेलियालाई चीनसँगको सम्बन्धमा सुधार ल्याउन आवश्यक रहेको र चीनले पनि अस्ट्रेलियासँगको कूटनीतिक सम्बन्ध लामो समयसम्म अप्रिय राख्न नसक्ने विज्ञहरूले विश्लेषण गर्दै आएका थिए । सोही क्रममा जी–२० समूहको बैठकमा सहभागी हुन इन्डोनेसियाको बाली पुगेका प्रधानमन्त्री अल्बानिजीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट हुन सक्ने सम्भावनाको संकेत मात्र गरेका छैनन् कि सीसँगको भेट सकारात्मक हुने प्रतिक्रिया दिएका छन् । यसअघि मरिसन सरकारका पालामा चीनले वाइन, मासुलगायत विभिन्न सामग्री निर्यातका रोक लगाएपछि तत्कालीन मन्त्रीहरूले चिनियाँ पक्षसँग वार्ताको कोसिस गरेपनि चीनले बेवास्ता गरिदिएको थियो । विज्ञहरूले व्यावसायिक सम्बन्धमात्र नभई कूटनीतिक रूपमा समेत चीन अस्ट्रेलियाका लागि महत्त्वपूर्ण साझेदार भएकाले सम्बन्धमा आएको तिक्तता लामो समयसम्म राख्न नहुने सुझाव दिएका थिए । अस्ट्रेलियाले व्यावसायिक रूपमा चीनप्रतिको निर्भरतासमेत कम गर्नुपर्ने सुझाव उनीहरूको छ ।

अस्ट्रेलियाली वाइन, मासु, जौ, खनिजलगायतका वस्तुको प्रमुख आयातकर्ता चीनले करमा व्यापक वृद्धि र आयात ठप्प पारिदिएपछि कृषकहरूले समेत चीनसँगको सम्बन्ध सुधारका लागि सरकारलाई दबाब दिँदै आएका छन् । त्यसका साथै अस्ट्रेलियाको अर्थतन्त्रको मुख्य स्रोतका रूपमा रहेको विदेशी विद्यार्थीको संख्यामा चीन पहिलो नम्बरमा रहेका कारणसमेत द्विदेशीय सम्बन्धमा आएको तिक्तता हटाउन सम्बन्धित क्षेत्रका व्यवसायीले अनुरोध गर्दै आएका छन् ।

सन् २०१६ मा अस्ट्रेलियाका तत्कालीन प्रधानमन्त्री माल्कम टर्नबुल र चिनियाँ राष्ट्रपति सीबीच औपचारिक भेटवार्ता भएयता दुई देशका सरकार प्रमुखबीच दोहोरो संवाद हुन सकेको छैन । बालीमा हुने जी–२० समूह र बैंककमा हुन लागेको एपेक सम्मेलनमा सी र अल्बानिजीबीच भेट भएको खण्डमा दुई देशबीचका तिक्तता कम हुने विश्वास लिइएको छ । भेटका विषयमा यकिन नगरिएको भए पनि दुई देशका सरकार प्रमुखबीच भेट गराउन अस्ट्रेलियाका लागि चिनियाँ राजदूत झाओ क्वान लागिपरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अस्ट्रेलियाली विदेशमन्त्री वोङ्गले दुई देशबीचको भिन्नतालाई बुद्धिमानीपूर्वक सम्बोधन गर्नुपर्ने बताउँदै जलवायु परिवर्तनलगायतका मुद्दामा चीनसँग अझ नजिकबाट सहकार्य गरेर काम गर्न सकिने बताएकी छन् । उक्त जी–२० बैठकमा अस्ट्रेलिया तथा चीनका विदेशमन्त्रीस्तरीय वार्ता हुने कार्यक्रम तय भएको समाचारमा जनाइएको छ ।

पछिल्लो समयमा दुई देशबीच संवादको क्रम बढ्दै जानु सकारात्मक भएको बताइएको छ । सिड्नीस्थित युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीस्थित अस्ट्रेलिया तथा चीन रिलेसन इन्स्टिच्युटका निर्देशक जेम्स लरेन्सनले सी र अल्बानिजीबीचको भेट सकारात्मक हुने अल जजिरासँग बताएका छन् । त्यस क्रममा चीनमा बन्दी बनाएका अस्ट्रेलियाली नागरिक र चीनले लगाएको निर्यात प्रतिबन्ध लगायतका समस्या समाधानका लागि पहल हुने उनको भनाइ छ ।

प्रकाशित : कार्तिक २९, २०७९ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?