श्वेतचैत्यको ७५०औं वार्षिकोत्सवमा सीपीसी प्रतिवेदनमाथि चर्चा- विश्व - कान्तिपुर समाचार

श्वेतचैत्यको ७५०औं वार्षिकोत्सवमा सीपीसी प्रतिवेदनमाथि चर्चा

लक्ष्मी लम्साल

बेइजिङ — चीनको राजधानी बेइजिङमा चलिरहेको श्वेतचैत्यको ७ सय ५०औं वार्षिकोत्सव सप्ताहमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २०औं महाधिवेशनमा प्रस्तुत प्रतिवेदन कार्यान्वयनसम्बन्धी चर्चा भएको छ ।

नोभेम्बर ७ देखि सुरू भएको श्वेतचैत्य सप्ताहले गत मध्य अक्टोबरमा आयोजित सीपीसीको २०औं महाधिवेशनको प्रतिवेदनलाई आत्मसात गरेको हो। अभियानलाई मूर्त रुप दिनका लागि सीपीसीका अधिकारीहरूले कार्यक्रममा भाग लिएका थिए।

गत मध्य अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनमा पार्टी महासचिव एवं राष्ट्रपति सी चिनफिङले प्रस्तुत गरेको प्रतिवेदनमा सांस्कृतिक अवशेष र सम्पदाको संरक्षणलाई सुदृढ गर्ने, सभ्यताहरूबीचको आदानप्रदान र आपसी सिकाइलाई प्रगाढ बनाउने र चिनियाँ संस्कृतिलाई विश्वमा अझ राम्रोसँग फैलाउन प्रवर्द्धन गर्ने प्रस्ताव प्रस्तुत गरिएको थियो। प्रतिवेदनको सोही भावनालाई पछ्याउँदै समृद्ध तथा रंगीन एसियाली सांस्कृतिक सम्पदालाई बहुआयामिक रूपमा देखाउने प्रस्थान बिन्दुको थालनी ‘२०२२ बेइजिङ श्वेतचैत्य सांस्कृतिक सप्ताह’बाट गरिएको चिनियाँ सञ्चारमाध्यहरूले उल्लेख गरेका छन्।

श्वेतचैत्यमा जारी यस गतिविधिलाई युनेस्कोको भावना समेट्ने कोणबाट पनि चीनले अघि सारेको छ। विश्वका सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण गर्ने अभिप्रायले युनेस्कोद्वारा सन् १९७२ मा यो महासन्धि अघि सारिएको थियो। जारी सांस्कृतिक सप्ताहले युनेस्कोको पेरिस महासभा (१७ अक्टोबर-२१ नोभेम्बर) को ५०औँ वार्षिकोत्सवलाई समेत एकसाथ समेटेको श्वेतचैत्य प्रशासनले जनाएको छ।

‘यो गतिविधि राष्ट्रसंघको विश्व सांस्कृतिक तथा प्राकृतिक सम्पदा संरक्षणसम्बन्धी कन्भेन्सनको स्वर्ण महोत्सव मनाउने सिलसिलाबद्ध कार्यक्रममध्ये चीनका तर्फबाट आयोजित एउटा कार्यक्रम हो’, श्वेतचैत्यस्थित नेपाल-चीन सांस्कृतिक आदानप्रदान केन्द्रकी मिसन प्रमुख खाङ लेइले कान्तिपुरसित भनिन्। उनका अनुसार ‘चीन-नेपाल सांस्कृतिक सम्पदालाई एकसाथ अगाडि बढाऔं’ भन्ने नाराले राष्ट्रसङ्घको सम्पदा संरक्षण र नेपाल-चीन सांस्कृतिक आदानप्रदान र सहकार्यको क्षेत्रलाई अघि बढाउन टेवा पुग्नेछ।

सीपीसी प्रतिवेदन तथा राष्ट्रसङ्घको महासन्धि कार्यान्वयनलाई बल पुर्याउनका लागि सीपीसी बेइजिङ नगर कमिटी प्रचार विभागका प्रथम निरीक्षक वाङ येफेई, चीनको सांस्कृतिक सम्पदा प्रशासनका उपनिर्देशक सिए पिङ लगायत चिनियाँ अधिकारीहरूले सोमबारको उद्घाटन सत्रमा भाग लिएर मन्तव्य दिएका थिए। कोभिड-१९ आइसोलेसनमा रहेका चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले भने भिडियोमार्फत् मन्तव्य राखे। चिनियाँ परराष्ट्र मन्त्रालय एसियाली विभागका उपमहानिर्देशक छन सुङले मित्रतास्वरुप चिनियाँ कालिग्राफी ब्यानर नेपाली दूतावासका इकोनोमिक मिनिस्टर छबिन्द्र पराजुली समक्ष हस्तान्तरण गरे।

समारोहका दौरान श्वेतचैत्य व्यवस्थापन कार्यालय र पाटन सङ्ग्रहालयबीच सहकार्य सम्बन्धी समझदारी (एमओयू)मा हस्ताक्षर भयो। पाटन सङ्ग्रहालयको प्रतिनिधित्व गर्दै बेइजिङस्थित भिभोका फाइभ-जी स्ट्यान्डर्ड एक्सपर्ट राकेश ताम्राकारले एमओयूमा हस्ताक्षर गरिदिए।

नेपाली कलाकार अरनिको निर्मित श्वेतचैत्य परिसरमा दुबै देशका समृद्ध र उत्कृष्ट सांस्कृतिक सम्पदाहरूलाई प्रस्तुत गर्न ६ वटा विषयगत ‘थिम डे’ निश्चित गरिएको छ। साताभरि प्रदर्शनीहरू, प्राज्ञिक आदानप्रदानहरू, सांस्कृतिक मेलाहरू र सार्वजनिक अन्तर्क्रियाहरू गरी झण्डै २० वटा विषयवस्तुमा आधारित विशेष कार्यक्रमहरू चलिरहेका छन्। ७ सय ५०औं श्वेतचैत्य वार्षिकोत्सव सप्ताह १३ तारिख सम्पन्न हुनेछ।

प्रकाशित : कार्तिक २५, २०७९ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्

बेइजिङमा श्वेतचैत्य स्थापनाको ७५०औं वार्षिकोत्सव मनाइँदै

लक्ष्मी लम्साल

बेइजिङ — नेपाल-चीन मित्रताको ऐतिहासिक साक्षी मानिएका नेपाली कलाकार अरनिकोद्वारा निर्मित श्वेतचैत्य स्थापनाको ७५०औं वार्षिकोत्सव बेइजिङमा विभिन्न साताव्यापी कार्यक्रम गरेर मनाइँदै छ । बेइजिङस्थित नेपाली राजदूतावास, बेइजिङ नगरपालिका सिछङ जिल्ला, बेइजिङ नगरपालिका सांस्कृतिक सम्पदा ब्युरो, चिनियाँ कम्युनिस्ट पार्टी बेइजिङ नगर किमिटीका प्रचार विभागका नेताहरू, चीनको राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासनलगायतका प्रतिधिनिहरूको सहभागितामा सोमबार उद्घाटन गरिएपछि साताभरि विभिन्न कार्यक्रमहरू आयोजना हुनेछन् ।  

साप्ताहिक कार्यक्रमहरूमा नेपाल-चीन सांस्कृतिक आदानप्रदान सम्बन्धित गतिविधि रहेको नेपाली दूतावासका इकोनोमिक मिनिस्टर छविन्द्र पराजुलीले कान्तिपुरलाई बताए । महोत्सव अवधिमा श्वेतचैत्य परिसरमा कलाकृति प्रदर्शनीहरू, नेपाली काष्ठकला, हस्तकलाका साथै पेन्टिङहरू देखाइने, स्थलगत प्रत्यक्ष चित्रकला कोरिने, गोष्ठी सम्मेलन गरिने पनि उनले जानकारी दिए । महोत्सव अवधिमा ललितपुरको पाटन सङ्ग्रहालय र श्वेतचैत्य व्यवस्थापन कार्यालय बेइजिङबीच समझदारी (एमओयू)मा हस्ताक्षर गर्ने कार्यक्रम छ। श्वेतचैत्य निर्माणका सिलसिलामा प्रयोग भएको कलाशिल्प तथा नेपाली कलाशैलीद्वारा मठमन्दिर निर्माणलगायत डिजिटल भिडियो प्रदर्शनी गर्ने कार्यक्रम पनि राखिएको छ ।

हु थोङबाट देखिएको श्वेतचैत्य

श्वेतचैत्य स्थापनाको ७५०औं वार्षिकोत्सव यसअघि नै आयोजना गर्ने तयारी भए पनि कोभिड १९ महामारीका कारण स्थगित गरिएको थियो । यो चैत्य १३औं शताब्दीमा युआन राजवंशकालमा बनिएर हालसम्म पनि संरक्षित ऐतिहासिक धरोहर हो । चीनमा रहँदा कलाकार अरनिकोले लगातार ४० वर्षजतिमा ऐतिहासिक सम्पदा निर्माण गरेर नेपाल-चीन मित्रताका प्रमाणहरू छाडेको चिनियाँ इतिहासकारहरु बताउँछन् । चीनका यी जातीय कवि ची ती माच्याका अनुसार युआन राजवंशकालका राजगुरु फाग्पाको चेलासमेत रहेका अरनिकोले नेपाल चीन मित्रतामा गहिरो प्रभाव छोडे। द पेपरको चिनियाँ संस्करणमा प्रकाशित छ कि राजगुरु फाग्पा स्वयंले विभिन्न जातीय समूहबीच सांस्कृतिक एकताका लागि भूमिका खेलेकोमा अरनिकोले तिब्बत, बेइजिङ र वुथाइशानमा बौद्ध मन्दिर बनाएर झनै ठूलो भूमिका खेले ।


अरनिकोको शालिकअघि फोटो खिचाउँदै नेपाली ।

चीनको राजधानी बेइजिङको सी छङ् जिल्लास्थित फुछङमन् उत्तरी मार्गमा यो अवस्थित छ । करिब ५१ मिटर भएको तत्कालीन राजधानी तातुको सर्वाधिक अग्लो टावरलाई कलाकार अरनिकोले सन् १२७१ मा बनाउन सुरु गरेका थिए।

अरनिको शालिकमा लिखित जानकारी

प्रकाशित : कार्तिक २०, २०७९ १५:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×