१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

अस्ट्रेलियामा नेपाल महोत्सव

नेपालको परम्परा र कलासंस्कृति चिनाउन सार्वजनिक यातायात, ग्रोसरी तथा रेस्टुरेन्टमा राखियो विज्ञापन
नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाको पश्चिमी राज्य पर्थ र यसको वरिपरि आजकल नेपालसम्बन्धी प्रचारप्रसार लेखिएका सवारीसाधन गुड्छन् । सहरका मुख्य भागमा राखिएका ठूला स्क्रिनमा समेत नेपालबारेका सामग्री प्रसारण हुन्छन् । राज्यको लोकप्रिय पत्रिकामा हरेक साता नेपालबारे विज्ञापन नै प्रकाशित हुन्छन् ।

अस्ट्रेलियामा नेपाल महोत्सव

सिड्नीबाट करिब ५ घण्टाको हवाई यात्रापछि पुगिने पर्थमा मात्र होइन, सिड्नी, ब्रिसबनलगायतका सहरमा समेत हाल नेपालको प्रचार भइरहेको छ । एनआरएनले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल महोत्सवको तयारीस्वरूप सुरु गरिएका यी विभिन्न प्रचार सामग्रीमा नेपाल महोत्सवलाई प्राथमिकता दिइएको भए पनि यसले समग्रमा नेपालको परम्परा र कलासंस्कृतिबारे प्रचार गरिरहेका छन् । सहरका ग्रोसरी पसल तथा रेस्टुरेन्टका साथै स्थानीय काउन्सिलमा पनि नेपालको पहिचानसहितका प्रचार सामग्री देखिन्छन् । त्यसका साथै, केही व्यक्तिगत सवारीसाधनमा समेत नेपाल महोत्सवबारेका सूचना देख्न सकिन्छ । यसले यहाँ हुन लागेको नेपाल महोत्सवको प्रचारमात्र गरेको छैन कि नेपाली कलासंस्कृति र पर्यटनबारे स्थानीयलाई जानकारी दिइरहेको छ ।

‘हामीले एक महिनाका लागि यहाँ गुड्ने बसको पछाडि र यहाँको लोकप्रिय पत्रिकामा नेपालको झल्को दिने किसिमले करिब १० दिन अघिदेखि नेपाल महोत्सवको विज्ञापन दिइरहेका छौं,’ महोत्सवको तयारीमा जुटेका एनआरएनए पश्चिम अस्ट्रेलियाका संयोजक दीपक बस्नेतले कान्तिपुरसँग भने । महोत्सव अस्ट्रेलियाका विभिन्न सहरमा आयोजना हुने भए पनि पश्चिम अस्ट्रेलियामा अलग तरिकाले प्रचारप्रसारलाई तीव्रता दिइएको उनको भनाइ छ । ‘हाम्रो मुख्य उद्देश्य नै नेपाली कलासंस्कृति, परम्परा र पर्यटन प्रवर्द्धन भएकाले नेपाल चिनाउने कोसिस गरिरहेका छौं,’ उनले भने । त्यस्तै, सिड्नी तथा ब्रिसबनमा करिब एक सातापछि हुन लागेको महोत्सवको प्रचारप्रसारसमेत तीव्र पारिएको आयोजकको भनाइ छ ।

एनआरएनए अस्ट्रेलियाले आफ्नो प्रमुख कार्यक्रमका रूपमा हरेक दुई वर्षमा हरेक राज्यमा नेपाल महोत्सव आयोजना गर्दै आएको छ । एनआरएनएका अनुसार ब्रिसबन, सिड्नी र पर्थमा यही महिनामा हुने महोत्सवको तयारी करिब पूरा भएको छ । अन्य केही राज्यमा कार्यक्रम आयोजनाको तयारी भइरहेको छ । ‘समग्रमा नेपाल महोत्सवको मुख्य उद्देश्य विदेशमा नेपाल चिनाउने, आपसी भाइचारा बढाउने, पर्यटन प्रवर्द्धन गर्ने र यहाँको दोस्रो पुस्तालाई आफ्नो कलासंस्कृतिप्रति जागरुक गराउने नै हो,’ एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले भने ।

यसअघि अस्ट्रेलियाका मेलबर्न, तास्मानिया र डार्बिनमा महोत्सव सम्पन्न भइसकेको छ । नोभेम्बर १३, १९ र २६ मा क्रमशः ब्रिसबन, सिड्नी र पर्थमा महोत्सव आयोजना हुँदै छ । कार्यक्रममा गायक दीपक बज्राचार्य, प्रकाश सपुतलगायतले प्रस्तुति दिने आयोजकले जनाएको छ ।

प्रकाशित : कार्तिक २५, २०७९ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?