२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

इस्लामिक स्टेटका परिवारलाई घर फर्काउँदै अस्ट्रेलिया

विपक्षी दल लिबरलका केही नेताहरू भने सरकारको निर्णयप्रति असन्तुष्ट देखिएका छन्
नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाले सिरियामा रहेका इस्लामिक स्टेट सदस्यका परिवारलाई उद्धार गरेको छ । सिरियास्थित डिटेन्सन सेन्टरमा रहेका ४ महिला तथा १३ बालबालिकालाई केही दिनअघि न्यु साउथ वेल्स ल्याइपुर्‍याइएको छ ।

इस्लामिक स्टेटका परिवारलाई घर फर्काउँदै अस्ट्रेलिया

फिर्ता ल्याइएका सबै अस्ट्रेलियाली नागरिक भए पनि सरकारको यस निर्णयप्रति विपक्षी दल लिबरलका केही नेताले भने असन्तुष्टि जनाएका छन् ।

अस्ट्रेलियाली गृहमन्त्री क्लेयर ओनिलले १७ जनालाई उद्धार गरेर न्यु साउथ वेल्स ल्याइएको एक विज्ञप्तिमार्फत पुष्टि गरेकी छन् । फिर्ता ल्याइएकामा अस्ट्रेलियाबाट इस्लामिक स्टेटको तर्फबाट युद्ध गर्न गएकाहरूको परिवार रहेको समाचार माध्यममा जनाइएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार सिरियाली शिविरमा रहेका उनीहरूलाई बिहीबार उक्त स्थानबाट ३० किलोमिटर इराकी सीमासम्म ल्याएर विमानमार्फत अस्ट्रेलिया फर्काइएको हो । सिरियास्थित रोज डिटेन्सन सेन्टरमा रहेका ६० अस्ट्रेलियालीमध्ये अत्यन्तै जोखिममा रहेका ती १७ जनालाई उद्धार गरिएको अधिकारीहरूले जनाएका छन् । उद्धार कार्य सुरुवाती चरणको भएको र आगामी महिनाहरूमा त्यहाँ रहेका इस्लामिक स्टेटका अन्य सदस्यका अस्ट्रेलियाली परिवारलाई पनि उद्धार गरिने अधिकारीहरूको भनाइ छ ।

उद्धारपछि गृहमन्त्री ओनिलले विज्ञप्ति जारी गर्दै ४ महिला तथा १३ बालबालिकालाई सिरियाको शिविरबाट राष्ट्रिय सुरक्षा संयन्त्रहरूको मूल्यांकनका आधारमा उद्धार गरिएको बताएकी छन् । आफ्नो मुख्य ध्यान सम्पूर्ण अस्ट्रेलियालीको सुरक्षामा केन्द्रित रहेको जनाउँदै ओनिलले उनीहरूलाई घर फर्काउनुअघि सुरक्षा संयन्त्रको सल्लाहलाई मनन गरिएको र समुदायको सुरक्षा, कल्याण लगायतका विषयलाई ध्यानपूर्वक विचार गरेर निर्णय गरिएको बताएकी छन् । उद्धार गरिएकाहरू गैरकानुनी गतिविधिमा संलग्न भएको विषयमा संघीय सुरक्षा निकायका साथै गुप्तचर संस्था, न्यु साउथ वेल्सको प्रहरी, आतंकवादको विरोधमा काम गर्ने न्यु साउथ वेल्स र संयुक्त काउन्टर टेरोरिज्म टिमले अनुसन्धान गर्ने ओनिलको भनाइ छ । त्यसका साथै न्यु साउथ वेल्स सरकारले फिर्ता ल्याइएका महिला तथा बालबालिकालाई विभिन्न सहयोग प्रदान गर्नेसमेत उल्लेख गरिएको छ ।

सरकारले यसपहिले स्कट मरिसन प्रधानमन्त्री रहँदा गरिएको उद्धार प्रक्रियाकै क्रमलाई पछ्याउँदै यो निर्णय गरिएको बताए पनि विपक्षी दल लिबरलका केही नेताले भने सरकारको कदमप्रति असन्तुष्टि जनाएका छन् । पूर्वगृहमन्त्री तथा छाया गृहमन्त्री करेन एन्ड्रुजले उनीहरूले आफ्नो इच्छाले सिरिया गएका र उद्धार गरेर ल्याइएकालाई समेत कानुनअनुसार कारबाही हुनुपर्ने बताएकी छन् । उनले सिरिया जाने उनीहरूको आफ्नो निर्णय भएको बताउँदै उनीहरूमा रहेको कट्टरपन्थी सोच नबदलिएको हुन सक्ने बताएकी छन् ।

यसैगरी, लिबरलका तर्फबाट छाया अध्यागमनमन्त्री डान टिहानले समेत इस्लामिक स्टेटका सदस्यलाई घर फर्काइसकेपछि अस्ट्रेलियाली नागरिकलाई कसरी सुरक्षित राख्ने र उनीहरूलाई कसरी निगरानी गरिन्छ भन्ने विषयमा स्पष्ट हुनुपर्ने बताएका छन् ।

सरकारले सिरियाबाट उद्धार गरेर ल्याइएकाहरूलाई राष्ट्रिय सुरक्षा निकायले नजिकबाट अनुगमन गर्ने जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त शिविरबाट २० भन्दा बढी देशले आफ्ना सयौं नागरिकलाई उद्धार गरिसकेका छन् । अहिलेसम्म अस्ट्रेलियाका साथै अमेरिका, इटाली, जर्मनी, फ्रान्स, नेदरल्यान्ड्स, बेल्जियम, यूके, क्यानडालगायत देशले आफ्ना नागरिक फिर्ता लगेको जनाइएको छ ।

प्रकाशित : कार्तिक १५, २०७९ २२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?