हलोविनमा भागदौड, १५३ को मृत्यु

इथेवनमा शनिबार सप्ताहन्तको रमाइलो गर्न करिब एक लाख जम्मा भएका थिए
गोकुल थोकर

सोल — रात्रिकालीन रमझममा रमाउने थलो हो– दक्षिण कोरियाली राजधानी सोलको इथेवन । यहाँ अनगिन्ती डान्सबार र डिस्कोथेक छन् । विदेशीलाई समेत आकर्षित गर्ने यो ठाउँको तामझाम कोरोना महामारीपछि लगभग हराएको थियो । तीन जनाभन्दा बढी भेला हुन नपाउने र बेलुकी ९ बजे नै रेस्टुरेन्ट, बार, डिस्कोथेक बन्द गर्नुपर्ने नियम सरकारले लगाएको थियो ।

झन्डै तीन वर्ष कडा नियममा बसेको इथेवनमा नयाँ राष्ट्रपति आएसँगै कोरोना संक्रमण घट्यो । नियम पनि खुकुलो पारियो । इथेवनको रात्रिकालीन दैनिकी पुनः कोरोना काल अघिकै जस्तो हुनै लाग्दा भएको भागदौडमा च्यापिएर शनिबार राति १५३ जनाले ज्यान गुमाए ।

सप्ताहान्तको रमाइलो गर्दै हलोविन (भूत भगाउने मान्यतासहित मनाइने पर्व) का लागि एक लाखभन्दा बढीको भेला भएका थिए । अत्यधिक भीड बढेकाले साँघुरो ठाउँमा च्यापिएर धेरैको ज्यान गएको हो । मृत्यु हुनेमा ५६ पुरुष र ९७ जना महिला छन् । घटनामा कम्तीमा २० जना विदेशीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा चीन र इरानका ४/४ जना, रुसका ३ तथा थाइल्यान्ड र नर्वेका १/१ जनासमेत छन् । सोलस्थित अमेरिकी दूतावासले आफ्ना दुई नागरिकको मृत्यु भएको जनाएको छ ।

इथेवन घटनाका प्रत्यक्षदर्शी नेपालीको भनाइ– 'साँघुरो गल्लीको दुवैतर्फ धेरै नै भीड थियो'

त्यस्तै फ्रान्स, अस्ट्रेलिया, भियतनाम, उज्वेकिस्तान, कजखस्तान, अस्ट्रिया र श्रीलंकाका नागरिकले पनि ज्यान गुमाएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । भागदौडमा ४५ जनाको घटनास्थलमै र १०८ जनाको उपचारका क्रममा मृत्यु भएको हो। अधिकारीहरूका अनुसार ज्यान गुमाउनेमध्ये अधिकांश ३० वर्षभन्दा कम उमेरका छन्। घटनामा गम्भीर घाइते भएका ८२ जनाको उपचार भइरहेको छ ।

‘सोलमा हिल्टन होटलको छेउमा साँघुरो गल्ली छ । त्यही गल्लीको दुवैतिरको अलि फराकिलो ठाउँमा स्ट्रिट कन्सर्ट भइरहेको थियो। निकै ठूलो भीड जम्मा भएको थियो, एकाएक दुवैतिर भीड बढेर गल्लीमा रहेका मानिस च्यापिएका हुन्,’ इथेवन नजिकै रस्टुरेन्ट सञ्चालन गरेर बसेका गम्भीरमान श्रेष्ठले भने, ‘समाचार सुन्दा पनि पत्याउनै गाह्रो। पहिले–पहिले पनि भीड हुन्थ्यो। कन्सर्ट हुन्थ्यो। तर, कोरोनापछिको रात्रि जीवनमा रमाइलो गर्न पहिलेको वर्षभन्दा धेरै व्यक्ति निस्केकाले पनि यस्तो घटना भएको हुन सक्छ ।’ घटनापछि राष्ट्रपति युन सुक– योलले राष्ट्रिय शोक घोषणा गरेका छन् । कुनै पनि हलोविन कार्यक्रमहरू नगर्न उनले निर्देशन दिएका छन् ।

प्रकाशित : कार्तिक १४, २०७९ ०६:३४
प्रतिक्रिया
पठाउनुहोस्

एमालेको ‘आक्रामक’ चुनावी अभियान दार्चुलाबाट

अध्यक्ष ओलीले ४० जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने, स्थानीय चुनावभन्दा ६ प्रतिशत मतवृद्धि गर्ने लक्ष्य
मणि दाहाल

काठमाडौँ — एमालले भारतसँग मुख्य सीमा विवाद रहेको जिल्ला दार्चुलाबाट देशव्यापी ‘आक्रामक’ चुनावी अभियान थाल्ने भएको छ । एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले तय गरेको कार्यक्रमअनुसार अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाको खलंगाबाट अभियानको सुरुवात गर्नेछन् ।

ओली नेतृत्वको सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर चुच्चे नक्सा जारी गरेको विषयलाई उपलब्धिका रुपमा लिँदै एमालेले दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो । केन्द्रीय निर्वाचन परिचालन कमिटीले करिब ४० जिल्लाका चुनावी सभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम राखेको छ । पश्चिमबाट सुरु हुने ओली नेतृत्वको देशव्यापी चुनावी प्रचार अभियान पूर्वी नेपालमा पुगेर सम्पन्न हुनेछ ।

‘दिनहुँ कम्तीमा तीनवटा जिल्लाका चुनावी कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नु हुनेछ,’ एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले भने, ‘यो केन्द्रले आयोजना गरेको कार्यक्रम हो । स्थानीय कमिटीहरुले आफ्नो आवश्यकताअनुसार चुनावी कार्यक्रम आयोजना गर्नेछन् ।’

एमालेले सत्ता गठबन्धनविरुद्ध चुनावी अभियान तीव्र पार्ने रणनीति बनाएको छ । उसले खासगरी परमादेशबाट निर्माण भएको सरकारका गतिविधिलाई मुख्य निशाना बनाई अभियान थाल्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका कमजोर आर्थिक वृद्धि, सत्ता सञ्चालनमा देखिएको बेथितिलगायतलाई मुख्य मुद्दा बनाउने जनाएको छ । ओली नेतृत्वको सरकारले जारी गरेको चुच्चे नक्सा, आर्थिक अवस्था र विकास निर्माणलाई उपलब्धिको रुपमा लिँदै एमालेले गठबन्धनलाई कमजोर बनाउने नीति लिएको छ ।

एमालेले तय गरेको कार्यक्रमअनुसार पहिलो दिन दार्चुलाका अतिरिक्त बैतडी र कञ्चनपुरका चुनावी कार्यक्रमलाई ओलीले सम्बोधन गर्नेछन् । ‘पहिलो दिनको कार्यक्रम तय भए पनि जिल्लाहरुलाई के–कस्तो कार्यक्रम आयोजना गर्ने हो भनेर जानकारी माग गरेका छौं, ढिलोमा १६ गतेसम्म कुन–कुन स्थानमा आमसभा हुन्छ भनेर सार्वजनिक गर्नेछौं,’ रिजालले भने । एक दिनका कार्यक्रम हेलिकोप्टरबाट एक–डेढ घण्टामा पुग्न सकिने दूरीमा राख्ने एमालेको तयारी छ । एमालेले चुनावी अभियान सुरु गर्नुअघि मंगलबार घोषणापत्र सार्वजनिक गर्दैछ ।

एमालेले चुनावी अभियानका सबै कार्यक्रम अध्यक्ष ओलीलाई केन्द्रमा राखेर सञ्चालन गर्नेगरी नारा तय गरेको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’ मुख्य नारा हुने प्रचार विभागका सचिव गगन विष्टले बताए । ‘निर्वाचन आयोगले प्रचारप्रसारका लागि केही नियम बनाएको छ, त्यसैअनुसार परिमार्जन गर्न आवश्यक भयो, पहिला उम्मेदवारी दर्तापछि प्रचारप्रसार सुरु भैहाल्थ्यो, अहिले त्यस्तो हुन पाएन,’ रिजालले भने, ‘अन्य माध्यमबाट हामी मतदातासँग जोडिनै रह्यौं ।’

एमालेले प्रधानमन्त्री उम्मेदवार घोषणा गरेका अध्यक्ष ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई चुनावका विषयवस्तुमाथि ‘लाइभ डिबेट’ गर्न चुनौती दिएका थिए, जसको सामाजिक सञ्जालसहित सञ्चारमाध्यमहरुमा चर्चा भएको थियो । यसबीचमा ओलीले मतदातासँग नम्बर मागेर उनीहरुका प्रश्नको उत्तर दिनेदेखि आफूसँग खिचेका सेल्फी सामाजिक सञ्जालमा राख्नेसम्मका काम गरेका थिए । ‘यी सबैलाई मतदातासँग प्रत्यक्ष रुपमा सम्पर्क बनाउने माध्यमको रुपमा हामीले प्रयोग गर्‍यौं,’ रिजालले भने, ‘यसपटक सामाजिक सञ्जालको प्रयोग व्यापक रुपमा बढ्यो । जसबाट बढीभन्दा बढी मतदातामा पुग्न सकिन्छ, त्यसलाई उपयोग गर्ने नीति छ ।’ सामाजिक सञ्जालको प्रयोग उम्मेदवार र स्थानीय कमिटी तथा केन्द्रले फरक–फरक रुपमा गर्दै आएका छन् ।

निर्वाचन आयोगले कात्तिक १७ बाट मात्रै बाह्य प्रचार गर्न पाउने समय निर्धारण गरेको छ । पाँच दलबीच चुनावी गठबन्धन भए पनि एमालेले एक्लै बहुमत ल्याउने दाबी गर्दै आएको छ । एमाले अध्यक्ष ओलीदेखि अन्य नेताहरु एकै स्वरमा प्रत्यक्षतर्फ १ सय र समानुपातिकतर्फ ५० स्थान जित्ने दाबी गर्दै आएका छन् । जसका लागि एमालेले स्थानीय चुनावमा भन्दा ६ प्रतिशत बढी मत ल्याउने गरी तयारी भएको बताउने गरेको छ । ‘अहिले धेरै आन्तरिक कमिटीका बैठकहरू राख्यौं, चुनावलाई लक्षित गर्दै वडादेखि निर्वाचन क्षेत्र, जिल्लासहितका कमिटीहरुको बैठक राख्यौं,’ रिजालले भने, ‘यसपटक युवा तथा विद्यार्थीलाई लक्षित गर्दै बुथ कमिटी पनि बनाएका छौं । त्यो पनि निर्वाचनमा परिचालन हुन्छ । बुथलाई लक्षित गर्दै पहिलो पटक कमिटी बनाएका छौं ।’

राप्रपा, जसपा र अन्य साना दलसँग तालमेल गरेको एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ सय ६५ मध्ये १ सय ४१ क्षेत्रमा उम्मेदवार उठाएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमालेको चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका छन् भने जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीलाई एमालेले सघाउने भएको छ । चुनाव परिचालनका लागि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कमिटी गठन भएको छ भने त्यसको ३४ सदस्यीय सचिवालय निर्माण गरेको छ । पार्टीका उपमहासचिव विष्णु रिमाल दुवै कमिटीको सचिव छन् । उनकै नेतृत्वमा चुनाव परिचालन भइरहेको छ ।

प्रकाशित : कार्तिक १३, २०७९ २२:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×