'साँघुरो गल्लीको दुवैतर्फ धेरै नै भीड थियो'- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
इथेवन घटनाका प्रत्यक्षदर्शी नेपालीको भनाइ

'साँघुरो गल्लीको दुवैतर्फ धेरै नै भीड थियो'

कोरियामा हलोविन मनाउँदा १ सय ५१ जनाको मृत्यु
गोकुल थोकर

सोल — दक्षिण कोरियाको राजधानी सोलको इथेवनमा शनिबार सप्ताहन्तको रमाइलो गर्दै हलोविन मनाउन जम्मा भएका युवाहरूमाझ भागदौड हुँदा हालसम्म १५१ जनाको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् । सो स्थानमा रमाइलो गर्न एक लाखभन्दा बढी मानिस जम्मा भएको अनुमान छ ।

मानिस जम्मा भएको साँघुरो ठाउँमा च्यापिएर १ सय ५१ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा ५४ जना पुरुष र ९७ जना महिला रहेका छन् । मृत्यु हुनेमध्ये चीन, उज्वेकिस्तान, इरान र नर्वेका १९ जना रहेका छन् ।

शनिबार राति भएको दुर्घटनामा ४५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने बाँकीको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । अधिकांश मृतक ३० वर्षभन्दा कम उमेरका रहेको कोरियाली अधिकारीहरूले जानकारी दिएका छन् । घटनामा ८२ जना सख्त घाइते भएको र उनीहरूको उपचार भइरहेको अधिकारीहरूले बताएका छन् ।

‘सोलको चर्चित हिल्टन होटलको छेउमा साँघुरो गल्ली छ । त्यही गल्लीको दुवैतिर फैलिएको फराकिलो स्थानमा शनिबार स्ट्रिट कन्सर्ट भइरहेको थियो । मान्छे नै मान्छे थिए । एकाएक दुवैतिर भीड बढेर गल्लीमा बसेको मानिसलाई च्याप्दा त्यस्तो दुर्घटना भएको रहेछ,’ इथेवन नजिकै रेस्टुरेन्ट सञ्चालन गरेर बसेका नेपाली गम्भीरमान श्रेष्ठले भने‚ ‘समाचार सुन्दा पत्याउनै गाह्रो । पहिलेपहिले पनि भीड हुन्थ्यो । कन्सर्ट हुन्थ्यो । तर‚ कोरोनापछिको रात्रिजीवनमा रमाइलो गर्न पहिलेको वर्षभन्दा धेरै युवा निस्केकाले पनि यस्तो घटना भएको हुन सक्छ । समयमै भीड नियन्त्रण गर्न नसक्दा यस्तो घटना भयो ।’

शनिबार राति साढे दस बजे उक्त घटना भएको थियो ।

‘हामी पनि त्यहाँ भरखरै पुगेका थियौं । धेरै क्लबहरूले डान्स पार्टी राखेका थिए । जता पनि मान्छे नै मान्छे थिए । दुर्घटना भएको समयमा हामी पनि नजिकै थियौं । एकाएक एम्बुलेन्स, प्रहरीको साइरन बजाउँदै गाडी ओहोरदोहोर गरेको देखियो । हामीले त आगो लागेछ कि भनेर सोचेका थियौं । पछि मात्र च्यापिएर मानिसको मृत्यु भएको भन्ने थाहा भयो‚’ सोलमा बस्दै आएका नेपाली अजय कार्कीले भने ।

इथेवन कोरियालीमाझ मात्र होइन कोरिया घुम्न आएका विदेशीलाई समेत आकर्षित गर्ने स्थान हो । कोरोना महामारीपछि इथेवन सहरको रौनक केही घटेको थियो । कोभिड-१९ महामारी फैलिएसँगै कोरियाको सरकारले उक्त स्थानमा बेलुकी ९ बजे नै रेस्टुरेन्ट, बार, डिस्कोथेक बन्द गर्नुपर्ने नियम कार्यान्वयनमा ल्याएको थियो । तीन जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन नपाउने नियम बनेको थियो ।

योङसान प्रहरीको अपराध महाशाखाका प्रमुख चोई उल-चेओनले घटनामा लागूऔषधका कारण यस्तो घटना नभएको बताएका छन् । घटनापछि राष्ट्रपति युन सुक-योलले राष्ट्रिय शोक घोषणा गरेका छन् भने कुनैपनि हलोविन कार्यक्रमहरू नगर्न निर्देशन दिएका छन् ।

दक्षिण कोरियामा यसअघि सन् २०१४ मा भएको सेवल नामको पानीजहाज दुर्घटनामा ३ सय २५ जना विद्यार्थीसहित ४ सय मानिसको मृत्यु भएको थियो ।

प्रकाशित : कार्तिक १३, २०७९ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्

दक्षिण कोरियाले अर्को वर्ष १ लाख १० हजार कामदार लिने

गोकुल थोकर

दक्षिण कोरिया — दक्षिण कोरियाले सन् २०२३ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत १ लाख १० हजार कामदार कोरिया ल्याउने भएको छ । शुक्रबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।  

कोरियामा भएको मजदुर अभावलाई कम गर्नका लागि यस वर्ष अघिल्ला वर्षहरुभन्दा झन्डै दोब्बर कामदारलाई ल्याउन लागेको हो । नेपाल, पाकिस्तान, श्रीलंका, बंगलादेश, भियतनाम, फिलिपिन्स, उज्बेकिस्तान, कम्बोडियासहित १६ वटा देशबाट विदेशी कामदार ल्याउने गर्छ ।

कोरियाली सरकारले हरेक वर्ष मजदुर नीति निर्धारण समितिमार्फत कोरिया आउने प्रवासी मजदुरहरुको कोटा निर्धारण गर्ने गर्दछ । बैठकमा सरकार, मजदुर र उद्योगीहरूको प्रतिनिधिहरु सहभागी हुन्छन् । सन् २०२३ का लागि तोकिएको १ लाख १० हजार कामदारमध्ये नयाा कामदार ८९ हजार ९ सय ७० जना तोकिएको छ भने बााकी २० हजार ३० जना कोरियामा एक कार्यअवधि काम गरेका कामदार हुनेछन् । एक वर्ष कुनै कम्पनीमा निरन्तर काम गरे कम्पनीले चाहेमा ‘कमिटेड’ कामदारको रुपमा डाक्न सक्ने नियम रहेको छ । कोरियाली भाषा परीक्षा पास गरेर पहिलो पटक कोरिया आउने नयाा कामदारका रूपमा रहने छन् ।

कामदारमध्ये उत्पादन क्षेत्रमा ७५ हजार जना कामदार आउनेछन् भने कृषि क्षेत्रमा १४ हजार जना कोरिया आउन पाउनेछन् । माछापालनमा ७ हजार, निर्माण क्षेत्रमा ३ हजार, सेवामातर्फ १ हजार कामदार आउन पाउनेछन् । बर्सेनि सात–आठ हजार नेपाली कामदार उत्पादन क्षेत्र र कृषि क्षेत्रमा काम गर्न कोरिया आउने गरेका छन् ।

सन् २०२२ मा ६६ हजार कामदार कोरिया आउन पाउने कोटा निर्धारण गरिएको थियो भने त्यसभन्दा अघिल्लो वर्ष ५६ हजार कामदार आउन पाउने कोटा निर्धारण गरेको भएपनि कोरोना महामारीका कारण धेरै जसो कामदार कोरिया आउनपाएका थिएनन् ।

कोरोना महामारीपछि भने ईपीएसमार्फत कोरिया आउने विदेशी कामदारको संख्या उल्लेखनीय रूपमा बढेको छ । नेपाली कामदार पनि अहिलेसम्म १० हजारभन्दा बढी कोरिया आइसकेका छन् । अझै नेपाललगायतका १६ देशका ३६ हजार ५ सय ४ जना कोरिया आउने प्रतीक्षामा छन् ।

प्रकाशित : कार्तिक ५, २०७९ १३:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×