कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बत्ती निभाउन छापा मार्दै मध्यरातमा फ्रान्सेली जलवायु कार्यकर्ता

ददि सापकोटा

पेरिस — फ्रान्सेली जलवायु कार्यकर्ताहरू रातको समयमा विज्ञापनका बत्ती निभाउन छापा मार्दै हिँड्न थालेका छन् । उनीहरूले राति बल्ने स्टोर बत्ती, होडिङ बोर्ड र अन्य चम्किला बत्ती निभाउँदै रातिराति छापा मार्ने गरेका हुन् ।

बत्ती निभाउन छापा मार्दै मध्यरातमा फ्रान्सेली जलवायु कार्यकर्ता

सरकारले मानिसहरूलाई बिजुलीको प्रयोग कटौती गर्न आग्रह गरेको भए पनि रातभर कम्पनीका चिह्न र विज्ञापनका बत्तीहरू बाल्न भने दिएको भन्दै युवाहरूले राति छापा मारेर निभाउँदै हिँड्ने गरेका हुन् ।

सरकारले त्यस्ता विज्ञापनहरूलाई छुट दिएपछि पेरिस जलवायु कार्यकर्ताहरूले जनता र स्थानीय तहको ध्यान आकर्षित गर्न र नागरिक अवज्ञाको प्रयोग गर्न छापा मार्नुपरेको बताएका छन् ।

पेरिसको प्रमुख कार शो मोन्डियल दे अटोमा शुक्रबार साँझ जलवायु संरक्षण पक्षधर केही कार्यकर्ता पसेर बत्ती निभाएको र ती कारमा बत्ती नबाल्ने सन्देश टाँसेर छोडेका थिए ।

'ठूला उद्योग र कार कम्पनीहरूले प्रदूषक उद्योगको निन्दा गरिरहेका छन् । उनीहरू हरित यातायातको कुरा गरेर आफ्नो छविलाई हरितवादी बनाउन खोजिरहेका छन्, तर उनीहरूले व्यक्तिगत कार स्वामित्वलाई भविष्यको यातायातको रूपमा प्रवर्द्धन गर्न जारी पनि राखिरहेका छन्,' समूहको विज्ञप्तिमा भनिएको छ ।

शनिबार राति ९ बजे जलवायुवादी कार्यकर्ताहरू राति छापा मार्न निस्किनुअघि रणनीतिक ब्रीफिङको लागि भेला भएका थिए ।

'फ्रान्समा एक करोड २० लाख मानिसहरू चिसोमा बस्न बाध्य हुँदैछन्, किनभने तिनीहरूले आफ्नो घर तताउन सक्दैनन् । अर्कोतर्फ हामी यो ऊर्जा पूर्ण रूपमा बेकार विज्ञापन चिह्नहरूमा बर्बाद गर्दैछौं,' आन्दोलनकर्ताहरूको भनाइ छ ।

बाहिरी बत्तीका स्विचहरूमा पुग्न टेलिस्कोपिक पोलहरूसहित भर्‍याङ, पोस्टर र उपकरणहरू वितरण गरेका छन् । प्रहरीले उनीहरूलाई देखे पनि आफूहरू नभाग्ने उनीहरूले बताएका छन् ।

सरकार, स्थानीय निकाय दुवैले जनतामाथि अन्याय गरेकाले कानुनी जोखिम र पक्राउ पर्न सक्ने जोखिम लिन तयार रहेको जलवायुकर्मीहरूको भनाइ छ । उनीहरूले यो अन्यायका विरुद्ध आम जनतालाई जाग्रित गराउने बताएका छन् ।

जनताको घर अँध्यारो हुँदा पनि भेसाई दरबारमा पहिलेका राजाहरूले झलमल्ल बत्ती बालेर बस्ने गरेकाले अनावस्यक रुपमा बत्ती बाल्दा 'से पा भेसाई (यो बेसाई दरबार होइन)' भन्ने गाली गर्ने उक्ति चलेकाले त्यसको पोस्टर बनाएर अभियानकर्ताहरूले भित्ता भित्तामा टाँस्ने गरेका छन् ।

अभियानकर्ताहरूले अप्टिसियनहरू, ज्वेलर्सहरू, अत्तर बुटीकहरू, गहना, गाडी र गद्दा पसलहरू साथसाथै धेरै उज्यालो बिलबोर्डहरूलाई लक्षित गरेका छन् । तिनीहरूलाई स्विच अफ गर्ने र तिनीहरूको आफ्नै पोस्टरहरूले बत्तीका विज्ञापनहरू छोपिदिने गरेका छन् ।

रुसले युरोपमा ग्यास निर्यातमा रोक लगाएपछि दबाबमा रहेको सरकारले जाडो नजिकिँदै गर्दा विशेषगरी घरमा ताप्ने थर्मोस्टेटलाई १९ डिग्री सेल्सियसमा घटाएर ऊर्जा संयमता देखाउन मानिसहरूलाई आग्रह गरेको छ।

सरकारले जुन २०२३ बाट सुरु हुने गरी बिहान एक बजे देखि ६ बजेसम्म प्रकाश चिह्न र विज्ञापन बन्द गरिनुपर्ने एक आदेश पनि जारी गरेको छ ।

पेरिसका सहरका अधिकारीहरूले डिसेम्बरबाट राति पौने १२ बजेदेखि बिहान ६ बजेसम्म संकेत र विज्ञापन बत्ती निभाउन आदेश दिएका छन् । अभियानकर्ताहरूले यसलाई पहिलो चरणको कार्यक्रम भनेका छन् ।

'यो पहिलो चरण हो। यो जागरूकता र रोकथामको बारेमा हो । जसले बत्तीहरू रातभरि बाल्छन्, बर्बादी जारी राख्छन्, हामी दोस्रो चरणमा अगाडि बढ्ने छौं, जुन अलि साहसी हुनेछ । त्यो डिसेम्बरमा सुरु हुनेछ,' उनीहरूले सार्वजनिक गरेका छन् ।

केही पसल मालिकहरूले अभियानलाई समर्थन जनाएका छन् । बत्तीहरू बन्द गर्ने वाचा गर्दै अनावश्यक बत्ती र विज्ञापन देखिएका थलोका बारेमा अभियानकर्तालाई जानकारि दिन थालेको तिनको भनाइ छ ।

प्रकाशित : कार्तिक ६, २०७९ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?