दक्षिण कोरियाले अर्को वर्ष १ लाख १० हजार कामदार लिने- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दक्षिण कोरियाले अर्को वर्ष १ लाख १० हजार कामदार लिने

गोकुल थोकर

दक्षिण कोरिया — दक्षिण कोरियाले सन् २०२३ का लागि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत १ लाख १० हजार कामदार कोरिया ल्याउने भएको छ । शुक्रबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।  

कोरियामा भएको मजदुर अभावलाई कम गर्नका लागि यस वर्ष अघिल्ला वर्षहरुभन्दा झन्डै दोब्बर कामदारलाई ल्याउन लागेको हो । नेपाल, पाकिस्तान, श्रीलंका, बंगलादेश, भियतनाम, फिलिपिन्स, उज्बेकिस्तान, कम्बोडियासहित १६ वटा देशबाट विदेशी कामदार ल्याउने गर्छ ।

कोरियाली सरकारले हरेक वर्ष मजदुर नीति निर्धारण समितिमार्फत कोरिया आउने प्रवासी मजदुरहरुको कोटा निर्धारण गर्ने गर्दछ । बैठकमा सरकार, मजदुर र उद्योगीहरूको प्रतिनिधिहरु सहभागी हुन्छन् । सन् २०२३ का लागि तोकिएको १ लाख १० हजार कामदारमध्ये नयाा कामदार ८९ हजार ९ सय ७० जना तोकिएको छ भने बााकी २० हजार ३० जना कोरियामा एक कार्यअवधि काम गरेका कामदार हुनेछन् । एक वर्ष कुनै कम्पनीमा निरन्तर काम गरे कम्पनीले चाहेमा ‘कमिटेड’ कामदारको रुपमा डाक्न सक्ने नियम रहेको छ । कोरियाली भाषा परीक्षा पास गरेर पहिलो पटक कोरिया आउने नयाा कामदारका रूपमा रहने छन् ।

कामदारमध्ये उत्पादन क्षेत्रमा ७५ हजार जना कामदार आउनेछन् भने कृषि क्षेत्रमा १४ हजार जना कोरिया आउन पाउनेछन् । माछापालनमा ७ हजार, निर्माण क्षेत्रमा ३ हजार, सेवामातर्फ १ हजार कामदार आउन पाउनेछन् । बर्सेनि सात–आठ हजार नेपाली कामदार उत्पादन क्षेत्र र कृषि क्षेत्रमा काम गर्न कोरिया आउने गरेका छन् ।

सन् २०२२ मा ६६ हजार कामदार कोरिया आउन पाउने कोटा निर्धारण गरिएको थियो भने त्यसभन्दा अघिल्लो वर्ष ५६ हजार कामदार आउन पाउने कोटा निर्धारण गरेको भएपनि कोरोना महामारीका कारण धेरै जसो कामदार कोरिया आउनपाएका थिएनन् ।

कोरोना महामारीपछि भने ईपीएसमार्फत कोरिया आउने विदेशी कामदारको संख्या उल्लेखनीय रूपमा बढेको छ । नेपाली कामदार पनि अहिलेसम्म १० हजारभन्दा बढी कोरिया आइसकेका छन् । अझै नेपाललगायतका १६ देशका ३६ हजार ५ सय ४ जना कोरिया आउने प्रतीक्षामा छन् ।

प्रकाशित : कार्तिक ५, २०७९ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्

ईपीएस कामदारलाई पेन्सन बिमामा सहभागी गराउन माग

गोकुल थोकर

सोल — रोजगार अनुमति प्रणाली ईपीएसमार्फत दक्षिण कोरियामा रहेका कामदारहरूले राष्ट्रिय पेन्सन बिमा (खुकमिन एनगुम) मा सहभागी गराउन माग गरेका छन् । श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर र ईपीएस कोरिया शाखाका निर्देशक पुष्प कटुवालसँगको भर्चुअल बैठकका क्रममा कामदारहरूले उक्त माग राखेका हुन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा १६ वटा देशका कामदार आउँछन् । त्यसमध्ये थाइल्यान्ड, फिलिपिन्स, इन्डोनेसिया, श्रीलंका, चीन, भियतनाम र किर्गिस्थानका कामदारले मात्रै कोरियाली राष्ट्रिय पेन्सन बिमा पाइरहेका छन् । ‘पेन्सनमा सहभागी कामदार घर जाँदा हाम्रोभन्दा धेरै राम्रो पैसा पाउँछन् । नेपालले पनि समयमै यो प्रणालीमा सहभागी भएको भए कोरिया आउने हामी कामदार लाभान्वित हुन्थ्यौं,’ दक्षिण कोरियाको योङइनमा काम गर्ने अजय सोडारीले भने ।

कोरियाली राष्ट्रिय बिमामा कामदारको ४.५ प्रतिशत र रोजगारदाताका तर्फबाट ४.५ प्रतिशत गरी ९ प्रतिशत पैसा जम्मा गर्नुपर्ने नियम छ । ‘एउटा कामदारले पाँच वर्ष काम गर्‍यो भने घर जाने समयमा अहिलेकै तलबले पनि १२ लाख रुपैयाँभन्दा बढी पैसा पाउँछ,’ ख्याङ्गीदो नाम्याङमा काम गर्ने पूर्णमान तामाङले भने ।

यस्तो सुविधाका लागि नेपाल सरकारले पहल गर्नुपर्ने कार्यक्रम आयोजकमध्येका एक गुरुदत्त न्यौपानेले बताए । रोजगार अनुमति प्रणाली (ईपीएस) बारे हुन लागेको नयाँ एमओयूमा नेपाली कामदारलाई पनि राष्ट्रिय पेन्सन बिमामा सहभागी गराउने मन्त्री शेरबहादुर कुँवरले आश्वसन दिएका जनाइएको छ ।

प्रकाशित : आश्विन १०, २०७९ २१:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×