फ्रान्समा इन्धन संकट : कर्मचारी हडतालले कठिन बन्दै जनजीवन- विश्व - कान्तिपुर समाचार

फ्रान्समा इन्धन संकट : कर्मचारी हडतालले कठिन बन्दै जनजीवन

ददि सापकोटा

पेरिस — तलब वृद्धि र अन्य सुविधाको माग गर्दै झण्डै दुई सातादेखि चलेको इन्धन प्रशोधन कम्पनीका कर्मचारीहरूको हडतालका कारण फ्रान्सको जनजीवन कठिन बन्दै गएको छ ।

प्रशोधन कम्पनी र इन्धन आपूर्ति डिपोहरूले कर्मचारीको तलब वृद्धि प्रस्ताव अस्वीकार गरेको भन्दै ट्रेड युनियनहरूले हडताल जारी राख्ने अडान शुक्रबार साँझ पनि दोहोर्‍याएका छन् ।

फ्रान्सको सबैभन्दा ठूलो ट्रेड युनियन सीजीटीले शुक्रबार फ्रान्सेली ऊर्जा कम्पनी टोटल ईनर्जीका कर्मचारीहरूको तलब वृद्धि प्रस्तावलाई अस्वीकार गरेपछि ट्रेड युनियनहरूले हडताल लम्ब्याउने घोषणा गरेका हुन् ।

तीन हप्तादेखि जारी हडतालको बीचमा देशभर इन्धन अभाव निम्तिएको छ। इन्धन अभावका कारण शिक्षा, स्वास्थ्य, ब्यापार र खासगरी ग्रामीण भेगहरू अत्यधिक रुपमा प्रभावित भएका छन् ।

अधिकांश इन्धन आपूर्ति डिपोहरू सहरी क्षेत्र र त्यस आसपास रहेको, ग्रामीण क्षेत्रमा अत्यन्त सीमित डिपोहरू रहेकाले ती बन्द भैदिँदा दैनिक जनजीवन चलाउनै मुस्किल परेको भन्दै फ्रान्सेली मिडियाहरूले उल्लेख गरेका छन् ।

औद्योगिक हडतालले फ्रान्सको इन्धन प्रशोधन क्षमतालाई ६० प्रतिशतभन्दा बढीले घटाएको छ र तीनमध्ये एउटा इन्धन स्टेसनले मात्रै आपूर्ति गर्दा इन्धनको लागि नागरिकहरूले संघर्ष गरिरहेका छन् ।

फ्रान्सका सात रिफाइनरीहरूमध्ये ६ वटा बन्द भएकाले देशभरका मोटर चालकहरूले स्टेसनहरूमा ट्याङ्कीहरू भर्न लामो लाइन बसिरहेका छन् । एउटा मात्रै खुलेको रिफाइनरीले सबै स्टेसनमा इन्धन पुर्‍याउन नसक्दा इन्धन स्टेसनहरू एकै दिनमा रित्ता हुने गरेका छन् ।

ट्रेड युनियन सिजिटीले बढ्दो मुद्रास्फीतिका कारण जनजीवन अत्यधिक महँगो भएको र ऊर्जा कम्पनीहरूले पनि नाफा कमाइरहेकाले कर्मचारीहरूलाई १० प्रतिशत तलव वृद्धिको माग गरेको छ । तर फ्रान्सको सबैभन्दा ठूलो उर्जा आपूर्ति कम्पनी टोटल इनर्जीले युनियनको उक्त माग शुक्रबार अस्वीकार गरेको सीजीटीको भनाइ छ । टोटल इनर्जीले आगामी वर्ष देखि ६ प्रतिशत तलव ब्रिद्दी गर्ने प्रस्ताव मेडिया मार्फत् सार्वजनिक गरेको भन्दै युनियनहरू झन आक्रोशित भएका छन् ।

टोटल ईनर्जीको व्यवस्थापन पक्ष प्रतिमहिना २० यूरो वृद्धिको प्रस्ताव लिएर आएको भन्दै त्यसलाई युनियनले पूरै अस्वीकार गरेको टोटल एनर्जीमा युरोपेली कार्य परिषद्का सीजीटी प्रमुख थियरी डेफ्रेस्नेले बिएफएम टेलिभिजन अन्तर्वार्तामा शुक्रबार साँझ बताएका छन् । उनले भनेका छन् 'उक्त प्रस्ताव सुनेपछि हामीलाई उत्तेजित बनाउन खोजेजस्तो लाग्यो । त्यसैले हामीले ढोका ड्याम्म ढोकेर बाहिर निस्कियौं र वार्ताको टेबल छोड्यौं ।'

दुई अन्य प्रमुख युनियनहरू, सीएफडीटी र सिएफई-सीजीसीले भने ७ प्रतिशत तलब वृद्धि र वित्तीय बोनसको प्रतिज्ञा गरेको प्रस्तावमा सहमति जनाएका छन् ।

टोटल ईनर्जी र एस्सो-एक्सोनमोबिलको प्रशोधनहरूमा भएको हडतालले फ्रान्सका तीनमध्ये एकभन्दा बढी पेट्रोल स्टेसनहरूले इन्धनको लागि संघर्ष गरिरहेका छन् । करिब तीन सातादेखि सुरु भएको हडताल लम्बिँदै जाँदा एक सातादेखि गम्भीर बन्दै गएको छ ।

पछिल्लो एक सातादेखि इन्धन डिपोहरूमा मोटर चालकहरूको लामो लाइन लागेको छ । ग्रामीण क्षेत्रका डिपोहरूमा इन्धन नपाएर मानिसहरू पैदल र साइकलमा सवार गर्न लागेका छन् । सरकारी, औधोगिक, शैक्षिक क्षेत्रका महत्तंवपूर्ण बैठक, सभा र सम्मेलनहरू रद्द भइरहेका छन् । जनजीवन दिनदिनै कष्टमय बन्दै गएको छ ।

राष्ट्रपति एमानुयल माक्रोंको निर्देशनमा प्रधानमन्त्री एलिजाबेथ बोर्नले हडताल गरिरहेका कर्मचारीहरूलाई इन्धन स्टेसनहरूमा पेट्रोल आपूर्ति पुनः सुरु गर्न हस्तक्षेप गरेपछि बिहीबार र शुक्रबार दुईवटा एस्सो-एक्स्सोनमोबिल प्रशोधन कम्पनीहरूमा हडताल हटाइएको थियो । तर प्रधानमन्त्रीले हस्तक्षेप गरेको भन्दै कर्मचारीहरू झन क्रुद्द बनेका छन् । ट्रेड युनियनहरूलाई आगोमा घ्यू थप्ने काम गरेको आरोप लागेको छ ।

पछिल्ला तथ्याङ्कहरूले जनताको एक तिहाइभन्दा बढीले कर्मचारी हडताललाई समर्थन गरेको जनाइएको छ । दुई एस्सो-एक्सोनमोबिल प्रशोधन कम्पनीहरूले हडताल त्यागे पनि सामान्य परिचालन स्थितिमा फर्किन दुईदेखि तीन हप्ता लाग्ने जनाएका छन् ।

प्रशोधन कम्पनीहरूमा हड्ताल २० सेप्टेम्बरबाट सुरु भएको थियो । उत्पादन पूर्ण रूपमा रोकिएको थियो । सेप्टेम्बरमा एस्सोको बिक्री मात्रा अगस्टको तुलनामा २५ प्रतिशतले घटेको कम्पनीले जनाएको छ ।

सार्वजनिक क्षेत्रको सबैभन्दा ठूलो सीजीटी युनियनद्वारा प्रतिनिधित्व गर्ने रेलवे कर्मचारी र निजामती कर्मचारीहरूले अर्को हप्ताको बिहीबार हडताल गर्ने पक्षमा मतदान गरेका छन् । यस बाहेक धेरै श्रमिक समूहहरूले राष्ट्रिय दिन भन्दै हडतालमा सहभागी हुनका लागि आह्वान गरेका छन् ।

फ्रंस १ टिभीका अनुसार बिहिबारको हडतालमा सुरक्षा, शिक्षा, यातायात, स्वास्थ्य, सञ्चार लगायत धेरै क्षेत्रका कर्मचारी सहभागी हुने छन् ।

राष्ट्रपति इमानुएल म्याक्रोंका वामपन्थी विपक्षीहरूद्वारा मूद्रास्फीति विरुद्ध आइतबार राष्ट्रव्यापी मार्च आह्वान गरिएको छ । उनीहरूले कर्मचारीहरूको हडताललाई सम्बोधन गर्नुपर्ने भन्दै समर्थन जनाएका छन् । उक्त मार्च पासपछि तनाव बढ्ने डरले त्यस अघि नै सरकारी अधिकारीहरूले कम्पनीहरूलाई वार्ता गर्न दवाव दिइरहेको आरोप सीजीटी लगायत ट्रेड युनियनहरूको छ।

यसैबीच फ्रान्सेली मिडिया रिपोर्टका अनुसार युक्रेनमा बम खसालेका रुसी विमानहरूलाई इन्धन भर्न सहयोग गरेको भन्दै दुईवटा एनजीओहरूले फ्रान्सेली ऊर्जा कम्पनी टोटल एनर्जीविरुद्ध 'युद्ध अपराधमा संलग्नता' को आरोपमा अदालतमा उजुरी दर्ता गरेका छन्।

फ्रान्समा रहेको डार्विन क्लाइम्याक्स गठबन्धन र युक्रेनी समूह रजोम वी स्ट्यान्डले बिहीबार युद्ध अपराध आरोपहरूको अनुसन्धान गर्ने राष्ट्रिय आतंकवाद विरोधी अभियोजकलाई फाइल हस्तान्तरण गरेको फ्रंस २४ ले जनाएको छ ।

प्रकाशित : आश्विन २९, २०७९ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्

महँगी र जलवायु परिवर्तनले ‘गुफा घर’ पस्दै फ्रान्सेली

ददि सापकोटा

पेरिस — फ्रान्सको राजधानी पेरिसबाट ६० किलोमिटर पर ला रोस–गुयोन गाउँका बासिन्दा प्याट्रिक पोटेल गुफामा बस्न थालेका छन् । गुफाको मूल्य कम र तापक्रम सधैं नियन्त्रित रहने भएकाले आफू गुफामा बस्न थालेको उनको भनाइ छ । 


‘तापक्रम वर्षभरि २१ देखि २५ डिग्रीबीचमा रहन्छ । बिजुली र ग्यासको बिल लगभग शून्य छ, आनन्द छ,’ उनले भने । गुफाका साना कोठामा बस्ने हुनाले उनीहरू यसलाई थोग्लोदित मेजों (सानो भुइँ सतहमा उड्ने चराको गुँड) भन्ने गर्छन् । यी गुफाका घरहरू तातो मौसमका शरणस्थल बनेका छन् । भविष्यको जलवायु संकट समाधानको माध्यम भन्नेहरू पनि छन् । फ्रान्सको भाल द्वाज क्षेत्र (विभाग) को थोग्लोदित गाउँका बासिन्दाहरू यो कुरामा विश्वस्त छन् ।

ताता दिनमा थोग्लोदित घरमा प्रवेश गर्नु गुफा फेरि कहिल्यै छोड्न नचाहने जोखिम लिनु जस्तै भएको छ । धेरै शताब्दी पहिले खनेका यी बासस्थानहरूमा कतै पनि एयर कन्डिसनर छैनन् ।

बाहिर तातोले मानिसहरू आकुलब्याकुल भइरहेका बेला यो गुफामा बस्नेलाई भने आनन्द छ । गएका केही वर्षयता जाडोमा निकै ठण्डी हुने र गर्मीमा अत्यधिक तापक्रम हुन लागेपछि प्याट्रिक र उनका केही चिनजानका मानिस पेरिस नजिकबाट गुफातिर सरेका थिए ।

‘आज बाहिरको तापक्रम करिब ३५ डिग्री छ । मेरो गुफामा २२ छ । यहाँ बसेपछि बाहिरको गर्मी सहन निकै गाह्रो हुने रहेछ,’ उनले भने । अधिकांश गुफाहरू पहाडको खोंचमा छन् । गुफाभित्र छन्– भान्छा कोठा, सानो बार, नरम सोफा, सिँढी चढेर उक्लिनुपर्ने दुईतले ओछ्यान ।

त्यसैको छेउमा कम्प्युटरसहितको सानो अफिस, काठका फलेकले बेरेको चर्पी र स्नान कक्ष । सजावटी सामानका लागि भित्तामै किला ठोकेर बनेका साना तख्ता । अधिकांश ७० वर्गमिटरका यी गुफा अपार्टमेन्टमा सबै अटाएका छन् ।

यसले पछिल्लो समयमा पेरिसका केही हुने–खानेहरूलाई ईर्ष्या जगाइदिएको छ । त्योभन्दा महत्त्वपूर्ण, उनले करिब ७ वर्षअघि नेपालबाट ल्याएको हिमाली तोरण (लुङ्ता) भित्तामा सजाएका छन् । यो लुङ्ताका रङमा पाँचखाले जनावर अंकित हुन्छन् । ती कुन रङले के संकेत गर्छन् उनलाई जानकारी पनि छ ।

लुङ्ता राख्नाले शुभकार्य, मनोकांक्षा पूरा गर्ने, पुण्य प्राप्ति हुनेलगायतका विविध फाइदा हुने धार्मिक मान्यताले नेपाली लुङ्ता सजाएको उनी सुनाउँछन् ।

‘यी हिमाली देउता हुन् । म पनि डाँडामा बस्छु । कुनै समस्या पर्दा यी ५ मध्ये एउटा न एउटा देउताले हाम्रो रक्षा गर्छन्,’ उनी हाँस्दै भन्छन् । पाँच जनावरमध्ये गरुडले आयु बढाएर प्राण वृद्धि गर्ने, बाघले सुखशान्ति र समृद्धि बढाउने, मेघले भाग्य अभिवृद्धिको काम गर्ने, सिंहले शुभमंगल वा पुण्य दिने र घोडाले साहस र परिश्रम जनाउने उनले सुनाए ।

‘मलाई कुनै चिन्ता छैन । मेरो भेन्टिलेसनले गुफाको वातावरणलाई राम्रोसँग सन्तुलन मिलाइदिन्छ । म पृथ्वीभित्र सुरक्षित, ढुक्क आश्रय महसुस गर्छु किनकि मलाई सुरक्षा दिने हिमाली देउता छन् । नेपालदेखि आएका छन्,’ विश्वाससाथ उनी भन्छन् ।

क्रिस्चियन फोर्नियर र प्याट्रिक पोटेलका गुफा पुरातन समयमा गाईबस्तुका आश्रयस्थल थिए । लगभग २५० वटा गुफा सबै १५ औं शताब्दीका हुन् । दुर्दुन्य क्षेत्रमा करिब १४ हजार गुफा रहेको जनाइएको छ ।

गत जुलाईमा ल फिगारो दैनिक अखबारले गर्मीको लहरबाट बच्न उपयुक्त निवास भन्दै किन्न सकिने दस गुफाको नामावली सार्वजनिक गर्‍यो । त्यसले धेरैको ध्यान तान्यो । त्यसपछि उत्सुक खरिददकर्ता ला रोस गुयानमामा हतारिएको क्रिस्चियनले बताए । अहिले गुफा हेर्न धेरै मानिसहरू आउन थालेका छन् ।

उनको अतिथि पुस्तिकामा ५२ देशका नागरिकको हस्ताक्षर पुगिसकेको छ । ‘सहरमा भन्दा सस्तो गुफा अपार्टमेन्ट, ९० सेन्टिमिटरको धेरै बाक्लो पर्खालले चिसो र तातो नियन्त्रण गरिदिने, ग्यास र बिजुलीको खासै बिल नउठ्ने र बस्न शान्त हुनाले गुफा किन्नेको आकर्षण बढेको छ,’ क्रिस्चियन भन्छन् ।

गुफामा बस्नेको संख्या बढ्दै जाँदा साना पसल र बियर बार पनि खुल्न थालेका छन् । चहलपहल बढ्दै जाँदा १५ हजार युरोमा किनबेच भएका गुफा गृहको मूल्य अहिले ८० हजार युरो पुगेको छ ।

प्रकाशित : आश्विन २४, २०७९ ०७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×