२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

नाटोले युक्रेनको प्रतिरक्षा प्रणाली मजबुत पार्ने

रूस र टर्कीका राष्ट्रपतिबीच भेटवार्ता । युक्रेनी राजधानी किभमा भीषण आक्रमण 
एजेन्सी

बसेल्स/किभ — उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) गठबन्धनले युक्रेनको हवाई प्रतिरक्षा प्रणाली मजबुत गराउने घोषणा गरेको छ । त्यसका लागि बेलायत, क्यानडा, फ्रान्स र नेदरल्यान्ड्सले आधुनिक क्षेप्यास्त्र र राडारहरूसहितका हतियार दिने बताएका हुन् । 

नाटोले युक्रेनको प्रतिरक्षा प्रणाली मजबुत पार्ने

जर्मनीले यसअघि नै युक्रेनलाई एउटा उच्च प्रविधिको प्रतिरक्षा प्रणाली सहयोग गरेको थियो भने अमेरिकाले पनि केहि दिनअघि नै त्यस्तो वाचा गरेको थियो । युक्रेनमा पछिल्लो समय रुसले भीषण क्षेप्यास्त्र प्रहार गरेपछि पश्चिमा सैन्य गठबन्धन नाटोको मुख्यालय बेल्जियमको राजधानी ब्रसेल्समा भेला भएका ५० देशका नेताहरूले सहयोगको घोषणा गरेका हुन् । उक्त सम्मेलन अभूतपूर्व भएको युक्रेनी अधिकारीको भनाइ छ ।

रुसी फौजले गत सोमबार र मंगलबार युक्रेनका प्रमुख सहरहरूमा गरेको क्षेप्यास्त्र आक्रमणमा २० जनाको मृत्यु भएको थियो । युक्रेनी अधिकारीका अनुसार रुसले ऊर्जा पूर्वाधार र अन्य गैरसैनिक केन्द्रमा लक्षित गरी कम्तीमा एक सय क्षेप्यास्त्र प्रहार गरेको थियो ।

रुसी आक्रमणपछि कतिपय युक्रेनी सहरमा विद्युत् तथा पानीको संकट उत्पन्न भएको जनाइएको छ । रुसलाई क्राइमियासँग जोड्ने केर्च पुलमा गरिएको विस्फोटको जवाफमा युक्रेनमाथि भीषण क्षेप्यास्त्र आक्रमण गरिएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ छ । केर्च पुलमा भएको प्रहारको जवाफमा युक्रेनमा आक्रमण गरिएको उनको भनाई छ । क्राइमियालाई मस्कोले सन् २०१४ मा आफूमा गाभेको थियो । केर्च पुलमा गरिएको विस्फोटमा युक्रेनको हात रहेको रुसी दाबी भने किभले अस्वीकार गर्दै आएको छ । पुटिनले बिहीबार कजखस्तानमा टर्कीका राष्ट्रपति रेसेप तैयप इर्दोगानसँग भेटवार्ता गरेका छन् । तर दुई नेताबीच भेटवार्ता भएका बेला रुसले युक्रेनी राजधानीमा थप आक्रमणहरू गरेको बीबीसीले जनाएको छ ।

रुसको क्षेप्यास्त्र आक्रमणलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनका लागि थप सैन्य सहयोगको घोषणा गरेका थिए । त्यसका साथै, बेलायतले हवाई प्रतिरक्षासम्बन्धी क्षेप्यास्त्र प्रणाली र सयौं ड्रोनहरू सहयोग गर्ने भएको हो । बेलायती सहयोगमा लामो दूरीमा प्रहार गर्न सकिने १८ वटा हाविज्जर आर्टिलरी गनसमेत रहेका जनाइएको छ । बेलायतले यसअघि नै युक्रेनलाई ६४ वटा त्यस्ता हतियार उपलब्ध गराएको थियो ।

युक्रेनलाई सहयोग गरेका हतियारले रुसी आक्रमणबाट युक्रेनले आफ्नो आकाशको रक्षा गर्न र क्षेप्यास्त्र प्रतिरक्षा बलियो पार्न सघाउने बेलायती रक्षामन्त्री बेन वालेसले भनाइ छ । ब्रसेल्समा बुधबार बोल्दै अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले युक्रेनको सुरक्षाका लागि आफूहरूले सक्ने सबै कुरा गर्ने बताएका बीबीसीले उल्लेख गरेको छ ।

त्यस्तै, फ्रान्सेली राष्ट्रपति एमानुएल माक्रोंले युक्रेनलाई हवाई प्रतिरक्षा प्रणाली सहयोग गर्ने बताए । यद्यपि, उनले उक्त प्रतिरक्षा प्रणालीका विषयका बारेमा भने प्रस्ट पारेनन् । त्यसैगरी, नेदरल्यान्ड्सले युक्रेनलाई डेढ करोड युरो पर्ने हवाई रक्षासम्बन्धी क्षेप्यास्त्र प्रणाली दिने भएको छ । क्यानडाले पनि भूउपग्रह सञ्चार र ड्रोन क्यामेरासहित ४ करोड ७० लाख क्यानाडेली डलर बराबरको सैन्य सहयोग दिने जनाएको छ ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले लामो समयदेखि नाटो तथा अन्य पश्चिमा साझेदार राष्ट्रहरूलाई हवाई प्रतिरक्षा प्रणालीहरू उपलब्ध गराउन आग्रह गर्दै आएका थिए । तर रुसले भने युक्रेनका साझेदारहरूलाई त्यस्ता परिष्कृत हतियार प्रणाली उपलब्ध गराउने कदमविरूद्ध चेतावनी दिँदै आएको छ ।

यसैबीच, युक्रेनले दक्षिणी क्षेत्रमा रुसी नियन्त्रणमा रहेका थप भूभाग फिर्ता लिएको जनाएको छ । पछिल्ला महिनाहरूमा रुसले युक्रेनमाथिको आक्रमण क्रमशः कम पार्दै गएको थियो ।

तर रुसी नियन्त्रणमा रहेका केही सहरमाथि युक्रेनले पुनः कब्जा जमाएपछि रुसले युक्रेनका ४ भूभागमा जनमतसंग्रह गरी ४ वटा क्षेत्रलाई आफ्नो देशमा गाभेको थियो । पाँच दिन लामो जनमतसंग्रहको नतिजाअनुसार भन्दै रुसले युक्रेनको दक्षिण पूर्वमा रहेका रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्रहरू लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सनलाई दस दिनअघि आफूमा गाभेको हो ।

प्रकाशित : आश्विन २८, २०७९ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?