यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली लेखिका एनी अर्नोलाई- विश्व - कान्तिपुर समाचार

यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली लेखिका एनी अर्नोलाई

कान्तिपुर संवाददाता

काठमाडौँ — यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली लेखिका एनी अर्नोलाई प्रदान गरिएको छ । लेखनलाई राजनीतिक कार्य मान्ने अर्नोलाई यस वर्षको पुरस्कार प्रदान गर्ने निर्णय स्वीडिस प्रतिष्ठानले गरेको हो । 

८२ वर्षीया उपन्यासकार अर्नोले आफ्नो लेखनको साठी दशकमा गैरकानुनी गर्भपतनदेखि विवहाइत्तर सम्बन्धसहित विषय बनाएकी छन् । १९०१ मा स्थापना भएको साहित्यतर्फ नोबेल पुरस्कार प्राप्त गर्ने उनी १७ औं महिला लेखक हुन् । निडर भएर आफ्नो व्यक्तिगत कथा भनेवापत उनलाई यस वर्षको साहित्य क्षेत्रको नोबेल पुरस्कार दिइएको हो ।

अर्नोको पुस्तक ‘क्लिन्ड आउट’मा उनको गर्भपतनसहित युवा अवस्थासँग सम्बन्ध राख्ने विषयमा लेखिएको छ भने विवाहित विदेशी कुटनीतिज्ञसँगको सम्बन्धको बारेमा ‘अ सिम्पल प्यासन’ किताबमा लेखिएको छ । 'अ सिम्पल प्यासन' फ्रान्सको धेरै विक्री भएको पुस्तकमा पर्छ ।

फ्रान्स बाहिर भने उनको पहिचान ‘द इयर्स’बाट भयो । फ्रान्सको इतिहासको विषयलाई आफ्नो जीवनसँग जोड्दै उनले प्रयोगात्मक आत्मकथाले लेखेकी थिइन् । सन् २०१९ को बुकर पुरस्कारको सर्ट लिस्टमा सो पुस्तक परेको थियो । लेखक बन्नु अघि अर्नो शिक्षक थिइन् । पुरस्कारमा उनले १ करोड स्विडिस क्रोनर पाउने छिन् ।


प्रकाशित : आश्विन २०, २०७९ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्

दोलखामा खड्ग जात्राको रौनक [तस्बिरहरु]

केदार शिवाकोटी

दोलखा — विजया दशमीको भोलिपल्ट बिहीबार सेतो दौरा, जामा र फेटा गुथेर जमराको माला लगाएका खड्गधारीहरु नाच्दै मन्दिर र मूर्तिहरुको प्राचीन सहर घुम्ने परम्परागत खड्ग जात्रा हर्सोल्लासका साथ दोलखा बजारमा मनाइएको छ । प्राचीन सहर दोलखाका मन्दिर, टोल र डबलीहरुमा टोलटोलबाट निस्केर खड्गधारीहरुले दानवहरुसँग युद्ध गरेको अभिनय गर्दै देखाइने खड्ग जात्रा विजया दशमीको भोलिपल्ट दिनभर प्रदर्शन गरिने चलन छ ।

आ–आफ्नै भूमिकाअनुसार नाच्दै अघि बढेको रोचक दृश्य र प्राचीन युद्धको कलाकौशल हेर्न बाक्लै चहलपहल छ । जात्रामा अभियनयकर्तामध्ये मूल खड्गधारी र उनका अंगरक्षक अघिअघि हुन्छन् । त्रिपुरा सुन्दरी भगवतीले नाबालक छोरा बटुक भैरवलाई घण्ट, डमरु, खड्ग थमाई राँगोको आन्द्राको माला लगाएर युद्धमा सामेल गराएको रोचक नाच पनि जात्रामा देखाइन्छ ।

नवमीका दिन भीमेश्वर र त्रिपुरा सुन्दरीमा बली दिएर लगिएको राँगाको टाउकोलाई राजकुलेश्वर भगवती र बटुक भैरवले खड्ग प्रहार गरेपछि युद्ध जितेको परम्परा छ । त्यसपछि सगुनबाजा बजाउँदै बजार परिक्रमा गरी दिनभर नाचेर विजयउत्सव मनाउने प्रचलन छ । जात्रा सकिएपछि बेलुकीपख त्रिपुरासुन्दरी र राजकुलेश्वरका पुजारीले राजकुलेश्वर मन्दिर अगाडि बसेर खुसियालीमा टीका लगाइदिनुका साथै सामूहिक भोज खाने चलनले अहिलेसम्म निरन्तरता पाएको छ ।


प्रकाशित : आश्विन २०, २०७९ १७:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×