थाइल्यान्डको एक शिशु स्याहार केन्द्रमा अन्धाधुन्ध गोली चल्दा ३१ को मृत्यु- विश्व - कान्तिपुर समाचार

थाइल्यान्डको एक शिशु स्याहार केन्द्रमा अन्धाधुन्ध गोली चल्दा ३१ को मृत्यु

मृतकमध्ये २३ बालबालिका रहेको स्थानीय प्रहरीको दाबी
कान्तिपुर संवाददाता

काठमाडौँ — थाइल्याण्डको उत्तर-पूर्वी सहर नोङ बुआ लम्फुस्थित एक प्री-स्कुल शिशु स्याहार केन्द्रमा पूर्वप्रहरीले अन्धाधुन्ध बन्दुक चलाउँदा कम्तीमा ३१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले उल्लेख गरेको छ । घटनास्थल राजधानी बैंककभन्दा करिब ५०० किलोमिटर उत्तर ग्रामिण क्षेत्रमा पर्छ ।

प्रहरीका अनुसार मृतकमा बालबालिका र वयश्य दुवै छन् भने बन्दुक चलाउने व्यक्ति हाल फरार छन् । आक्रमणकारीले गोली चलाउनुका साथै चक्कुसमेत प्रहार गरिएको बताइएको छ । आक्रमणकारीको उद्देश्यबारे केही थाहा हुन नसकेको पनि बीबीसीले जनाएको छ ।

प्रहरीका अनुसार आक्रमणकारी सेतो रंगको टोयोटाको पिकअप गाडीमा भागेका छन् ।

बीबीसीले नै एएफपीलाई उद्धृत गर्दै दिएको जानकारीअनुसार मृतकमध्ये २३ जना बालबालिका रहेको त्यहाँका उच्च प्रहरी अधिकारीले दाबी गरेका छन् ।

साथै, बीबीसीका अनुसार आक्रमणकारी पूर्व प्रहरी लागुऔषध प्रयोगकर्ता रहेको पाइएपछि प्रहरीले गत वर्ष मात्रै बर्खास्त गरेको थियो । थाइ सञ्चार माध्यमका अनुसार भने उनले आफ्नो श्रीमती तथा बच्चाको समेत हत्या गरेका छन् भने उनी मृत फेला परेका छन् ।

प्रकाशित : आश्विन २०, २०७९ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्

नुवाकोटको २ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

कृष्ण थापा

नुवाकोट — प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन गराउन जिल्लामा मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बिहीबार जिल्ला सदरमुकाम विदुरस्थित नुवाकोट अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

विदुर नगरपालिका- २ को प्रिफेब भवनमा कार्यालय स्थापना गरिएको छ । आगामी मंसिर ४ गते आइतबार हुने निर्वाचनका लागि जिल्ला न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले कार्यालयको बोर्ड राखेर कार्यालय उद्घाटन गरेका थिए ।

उक्त कार्यालयले नुवाकोटको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन गराउने छ भने अर्को निर्वाचन क्षेत्र नम्बर १ को कार्यालय तादी गाउँपालिका ३ खरानीटारमा स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत धामीले स्वच्छ र भयरहित वातावरणमा निर्वाचन हुने बताए । मनोनयनदेखि सबै कामकारबाही यही कार्यालयबाट हुनेछ भने अन्य कार्यालयको पनि सुपरिवेक्षण गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचनका लागि नुवाकोटमा मतदानस्थल र मतदान केन्द्र कायम भैसकेका छन् । निर्वाचनमा १ सय ३२ वटा मतदानस्थल र २ सय ८७ वटा मतदान केन्द्र कायम गरिएको छ ।

अधिकांश मतदानस्थल विद्यालयहरूमा, केही स्वास्थ्य चौकी लगायतका भवनमा रहेका छन् । नुवाकोटमा २ लाख ३९ हजार मतदाता छन् ।

प्रकाशित : आश्विन २०, २०७९ १४:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×