उत्तर कोरियाद्वारा बिहीबार २ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, २ सातामा ६ पटक परीक्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — उत्तर कोरियाले बिहीबार पनि दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । प्योङयाङले २ साताभित्र गरेको यो छैटौं प्रहार हो । बुधबारमात्रै अमेरिका र दक्षिण कोरियाले आयोजना गरेको युद्ध अभ्यासको प्रतिक्रियामा क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका थिए ।

उत्तर कोरियाद्वारा बिहीबार २ वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, २ सातामा ६ पटक परीक्षण

मंगलबार उत्तर कोरियाले जापानी आकाशमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । त्यसलगत्तै अमेरिकाले सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाएको थियो । बैठकमा अमेरिकाले उत्तर कोरियामाथि कडा नाकाबन्दी लगाउन रुस र चीनले रोकेको आरोप लगाएको थियो ।

बैठकमा मस्को र बेइजिङले प्योङयाङलाई 'व्यापक सुरक्षा' दिने गरेको अमेरिकी राजदूतले बताए । चीन र रुसका प्रतिनिधिले भने दण्ड दिनुभन्दा संवाद बढाउनु राम्रो हुने बताए ।

उत्तर कोरियाले मंगलबार प्रहार गरेको क्षेप्यास्त्रको प्रतिक्रियामा बुधबार अमेरिका, जापान र दक्षिण कोरियाले युद्ध अभ्यासको आयोजना गरेका थिए । अमेरिकाले युद्ध अभ्यास र प्रतिबन्धित क्षेप्यास्त्र प्रहार बराबरीको कार्य हुन नसक्ने जनाएको छ । उत्तर कोरियाले भने त्यो अभ्यास शत्रुहरूबाट हुने आक्रमणको तयारीको प्रमाण भएको जनाएको छ ।

दक्षिण कोरिया र जापानले स्थानीय समयअनुसार बिहीबार बिहान ६ बजे प्रहार गरेको पहिलो क्षेप्यास्त्रले करिब १ सय किलोमिटर उचाई लिँदै करिब ३ सय ५० किलोमिटर दूरी पार गरेको जनाइएको छ । जबकि दोस्रो क्षेप्यास्त्रले करिब ५० किलोमिटरको उचाई लिँदै करिब ८ सय किलोमिटरको दूरी पार गरेको थियो ।

उत्तर कोरियाद्वारा गरिएको ब्यालेस्टिक मिसाइल परीक्षणको जवाफमा अमेरिकाले पनि अमेरिकाद्वारा निर्मित 'आर्मी टेक्टिकल मिसाइल सिस्टम' नामक मिसाइल प्रक्षेपण गरेको थियो ।

प्रकाशित : आश्विन २०, २०७९ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?