१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अमेरिका र दक्षिण कोरियाले पनि गरे क्षेप्यास्त्र प्रक्षेपण

कान्तिपुर संवाददाता

काठमाडौँ — उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेसँगै त्यसको जवाफमा अमेरिका र दक्षिण कोरियाले पनि मिसाइल प्रक्षेपण गरेका छन् ।

अमेरिका र दक्षिण कोरियाले पनि गरे क्षेप्यास्त्र प्रक्षेपण

मंगलबार मात्र उत्तर कोरियाले जापानी आकाशमाथिबाट परिक्षण गरेको इन्टरमिडियट रेन्ज ब्यालेस्टिक मिसाइल (आईआरबीएम) यसअघिका मिसाइलको तुलनामा धेरै शक्तिशाली भएको अमेरिकाले बताएको छ । उक्त मिसाइल उत्तर कोरियाको पेनिन्सुला र जापानी भूभागको बीचमा अवस्थित समुद्रमा खसालिएको थियो ।

प्योङयाङले गरेको उक्त परीक्षण जापानको आकाशमाथिबाट गरिएको सन् २०१७ पछिकै यो पहिलो मिसाइल परीक्षण भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

उत्तर कोरियाद्वारा गरिएको ब्यालेस्टिक मिसाइल परीक्षणको जवाफमा अमेरिकाले पनि अमेरिकाद्वारा निर्मित 'आर्मी टेक्टिकल मिसाइल सिस्टम' नामक मिसाइल प्रक्षेपण गरेको छ ।

बुधबार सीएनएनसँग बोल्दै अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले उत्तरले गर्न सक्ने सम्भावित आक्रमणको सामना गर्ने सैन्य क्षमता आफूहरूसँग भएको र त्यसको जवाफ दिन आफूहरू तयार रहेको भन्ने देखाउनका लागि उक्त मिसाइल प्रक्षेपण गरिएको बताएका छन् ।

दक्षिण कोरियाद्वारा प्रक्षेपण गरिएको मिसाइल भने प्रक्षेपण गरिएको केही समयमै दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि ब्यालेस्टिक र परमाणु हतियारको परीक्षण गर्न प्रतिबन्ध लगाए पनि उत्तर कोरियाले भने पटक-पटक यस्ता क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ ।

जापानी प्रधानमन्त्री फुमिओ किशिदाले उत्तर कोरियाली कार्यको कडा शब्द भर्त्सना गरेका छन् । उनले त्यस कार्यलाई 'हिंस्रक' कार्यको संज्ञा दिएका छन् । सो घटनापछि जापानले राष्ट्रिय सुरक्षा परिषद्को बैठकसमेत बोलाएको थियो ।

उत्तर कोरियाले जापान र अमेरिकाको ध्यानाकर्षण गर्नका लागि मिसाइल प्रहार गरेको बताइएको छ । दुवै देशले उत्तर कोरियाका नेता किम जोङ उनलाई कुनै महत्त्व नदिएपछि जापानी आकाशमा मिसाइल प्रहार गरेको हुन सक्ने जापानी अधिकारीहरूले बताएका छन् ।

उत्तर कोरियाले गरेको परीक्षणलाई लिएर जापान सरकारलगायत अन्य मुलुकका सरकारले समेत चासो देखाएका छन् ।

प्रकाशित : आश्विन १९, २०७९ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?