रंगशालामा भागदौडका क्रममा इन्डोनेसियामा कम्तीमा १२७ जनाको मृत्यु- विश्व - कान्तिपुर समाचार

रंगशालामा भागदौडका क्रममा इन्डोनेसियामा कम्तीमा १२७ जनाको मृत्यु

कान्तिपुर संवाददाता

काठमाडौं — इन्डोनेसियाको पूर्वी जाभामा फुटबल रंगशालामा दंगा हुँदा कम्तीमा १२७ जनाको मृत्यु भएको छ । पर्सीबाया सुरबायासँग अरिमा फुटबल क्लबले ३–२ ले खेल हारेपछि समर्थकहरु मैदानमा उत्रिएर दंगा सुरु गरेका थिए । खेल सकिएपछि मैदानमा छिरेका उनीहरुलाई सम्हाल्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

सोही क्रममा भागदौड हुँदा कम्तीमा १२७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । घटनामा करिब १८० जना घाइते भएका छन् ।

सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका भिडियोहरुमा खेल सकिएको जनाउमा सिटी बजिसकेपछि समर्थकहरु पिचमा दौडिएको देख्न सकिन्छ । उनीहरुलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । अश्रुग्यासबाट निसासिएका उनीहरुबीच भागदौड सुरु भएको थियो । भिडियोहरुमा प्रहरी र समर्थकहरुबीच घम्साघम्सी परेको समेत देखिन्छ ।

पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्ताका अनुसार घटनामा दुई जना प्रहरीको पनि मृत्यु भएको छ । ‘३४ जनाको रंगशालाभित्रै मृत्यु भएको हो । अरुको उपचारका क्रममा अस्पतालमा मृत्यु भयो,’ उनले भने । उनका अनुसार रंगशालामा अक्सिजनको कमि भएका कारण उनीहरुको मृत्यु भएको हो ।

घटनाबारे इन्डोनेसियन फुटबल एसोसिएसनले अनुसन्धान थालेको छ भने यो घटनाले इन्डोनेसियन फुटबललाई 'कलंकित बनाएको' बताएको छ । घटनापछि यहाँकै मुख्य मानिने लिग बिआरई लिग १ एक साताका लागि रोकिएको छ ।

प्रकाशित : आश्विन १६, २०७९ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्

मार्लोकालाई हराएर बार्सिलोना शीर्षमा

एजेन्सी

म्याड्रिड — रोबर्ट लेवनडोस्कीको एक मात्र निर्णायक गोलको मद्दतले बार्सिलोनाले शनिबार स्पेनी ला लिगामा रियल मार्लोकालाई १–० ले हराएर अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । लिगको सातौं खेलमा लेवनडोस्कीको यो नवौं गोल हो ।


बायर्न म्युनिकबाट बार्सिलोना आएयता उनी लयमा रहेका छन् । यो जितपछि बार्सिलोनाको सात खेलबाट १९ अंक भएको छ । रियल म्याड्रिडको छ खेलबाट १८ अंक छ र उसले आइतबार जितसँगै बार्सिलोनालालाई उछिन्न सक्नेछ ।

शनिबारकै अन्य खेलमा एटलेटिको म्याड्रिडले सेभियालाई २–० ले हरायो र १३ अंकमा पाँचौं स्थानमा उक्लियो । यस्तै रियल भालाडोलिडले गेटाफेलाई ३–२ ले पराजित गर्‍यो भने काडिज र भिल्लारियलबीचको खेल गोलरहित बराबरीमा टुंगियो ।

प्रकाशित : आश्विन १६, २०७९ ०७:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×