भारतमा अविवाहितलाई पनि गर्भपतनको अधिकार- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा अविवाहितलाई पनि गर्भपतनको अधिकार

कान्तिपुर संवाददाता

नयाँ दिल्ली — भारतको सर्वोच्च अदालतले अविवाहित महिलाले पनि २४ हप्तासम्म गर्भपतन गराउनसक्ने आदेश दिएको छ । कानुनले उक्त अधिकार विवाहित महिलालाई मात्रै दिएको छ ।

अदालतले विवाहित वा अविवाहित महिलाबीच भेदभाव गरिनुलाई अनुचित भनेको छ । विवाहित महिलाले केही सर्तहरुमा रहेर २० देखि २४ हप्ताभित्रको भर्गलाई पतन गराउन पाउने सुविधा कानुनले दिएको छ ।

अविवाहित महिलाले गर्भधारण गर्न सक्दैन भन्ने मान्यताको जगमा उक्त कानुन टिकेको बताइन्छ । अदालतले लिव–इन–रिलेसनसीप वा एक्लै बस्ने महिलालाई त्यस सुविधा भन्दा बाहिर राख्नुलाई असंवैधानिक ठहर गरेको छ ।

महिला अधिकारको पक्षमा सर्वोच्च अदालतको उक्त फैसलालाई ऐतिहासिक मानिएकको छ । न्यायाधीश डीवाई चंद्रचुडको नेतृत्वमा रहेको बेन्चले विवाहित महिला पनि पतिबाट जबर्जस्ती सम्बन्धको शिकार हुनसक्ने भएकाले बलात्कारको अपराध व्याख्यामा वैवाहिक दुष्कर्मलाई समावेश गर्न पनि आदेश दिएको छ ।

लिभ–इन–टुगेदरमा बसेकी २५ वर्षीया एक महिलाको मागका आधारमा अदालतले उक्त आदेश गरेको हो । महिलाले आफ्नो २४ हप्ताको गर्भलाई पतन गराइपाऊँ भन्दै अदालतसँग आदेश मागेकी थिइन् ।

प्रकाशित : आश्विन १४, २०७९ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्

महाकवि देवकोटाको कविकुञ्ज परिणत भयो संग्रहालयमा

रासस

काठमाडौँ — महाकवि लक्ष्मीप्रसाद देवकोटाले जीवनका महत्वपूर्ण १० वर्ष बिताएको काठमाडौं महानगरपालिका–३० मैतीदेवीस्थित कविकुञ्ज संग्रहालयमा परिणत भएको छ । करिब एक रोपनी एक दाम जग्गासहितको चार तले घर निर्माण गरी नेपाल प्रज्ञा प्रतिष्ठानले कविकुञ्जलाई संग्रहालयका रूपमा स्थापित गरेको हो ।

महाकवि देवकोटाको जीर्ण भइसकेको घर भत्काएर पुरानै स्वरूपमा भवन बनाएर संग्रहालय बनाइएको हो । निर्माण लागत सात करोड ११ लाख रुपैयाँ लागेको प्रतिष्ठानले जनाएको छ ।

संग्रहालयमा महाकवि देवकोटाका पोशाक, पाण्डुलिपिसहित प्रकाशन भएका कृतिलगायत चिजबिज संग्रह गरिएको छ । महाकवि देवकोटाका चिजबिज हुनेलाई प्रतिष्ठानमा बुझाउन पनि आह्वान गरिएको छ । चिजबिज दिनेकै नाममा अभिलेख राखिने जनाइएको छ ।

संग्रहालय उद्घाटन गर्दै प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विसं २०१६ सालमा हराएका महाकवि देवकोटालाई शुक्रबार उनकै कविकुञ्जमा फेला पारिएको बताए । साहित्यिक व्यक्तिका नाममा प्रतिष्ठानले बनाएको यो पहिलो संग्रहालय हो । विश्वमा प्रतिभाका निवासलाई तिनका स्मृतिमा संग्रहालय बनाउने गरिएको छ ।

'विसं २०१६ देखि महाकविको निवासलाई संग्रहालय बनाउनुपर्ने आवाज आज सार्थक भएको छ, यो साहित्यिक क्षेत्रको पवित्र तीर्थस्थल बनेको छ, यसलाई राष्ट्रिय सम्पदाका रूपमा विकास गरिन्छ, यसका बारेमा नकारात्मक टिप्पणी गर्नेले पनि निर्माणमा महत्वपूर्ण योगदान दिएको रूपमा हामीले लिएका छौं', उनले भने ।

संग्रहालय व्यवस्थापनका लागि प्रतिष्ठानले पाँच जना कर्मचारी खटाएको जानकारी पनि कार्यक्रममा कुलपति उप्रेतीले दिए । संग्रहालय दसैं बिदा सकिएपछि असोज २३ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने छ । एक वर्षसम्म संग्रहालय प्रवेश शुल्क नलिने नीति पनि प्रतिष्ठानले लिएको छ ।

कार्यक्रममा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले चीनमा साहित्यकार लुसुनको संग्रहालय देखेर आफूले पनि साहित्यिक व्यक्तित्वका नाममा यस्ता स्थल निर्माण हुनुपर्ने भनी राखेको सोच आज पूरा भएको बताए । सरकारले महाकविको घर प्रतिष्ठानलाई जिम्मा दिएकामा अब त्यसको संरक्षण हुनुपर्ने उनले बताए । महाकविको घर समग्र नेपालीका लागि समर्पण भएको पूर्वकुलपति काइँलाको भनाइ थियो ।

महानगरपालिका वडा नं ३० का अध्यक्ष दलबहादुर कार्कीले अस्तव्यस्त रहेको महाकविको कविकुञ्ज संग्रहालयमा परिणत हुँदा खुसी लागेको बताए । अमूल्य काम भएकामा अब यसको संरक्षणमा पनि सबैको सहयोग रहनुपर्ने उनले सुनाए । कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्‌प्रसाद उपाध्याय, प्रा डा पार्थिवेश्वर तिमल्सिना, महाकवि मार्ग टोल सुधार समितिका अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, महाकवि देवकोटाकी छोरी अम्बिकादेवी देवकोटा रिमाल, महाकविकी पनातिनी मञ्जिला अनिल, प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा देवी नेपाललगायतले महाकवि देवकोटाले नेपाली साहित्यमा पुर्‍याएको योगदानका बारेमा चर्चा गरेका थिए ।

संग्रहालय शुभारम्भसँगै परिसरमा महाकवि देवकोटाको पूर्ण कदको सालिक पनि अनावरण भएको छ । संग्रहालयभित्र महाकवि देवकोटा श्रव्य-दृश्य कक्ष पनि स्थापना गरिएको छ । माथिल्लो तलामा सभाकक्ष राखिएको जानकारी पनि सो अवसरमा गराइयो । संग्रहालय निर्माणका लागि महत्वपूर्ण योगदान गर्नेलाई सो अवसरमा सम्मान पनि गरिएको थियो ।

प्रकाशित : आश्विन १४, २०७९ १७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×