३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

२४ वर्षपछि भारतीय कंग्रेसमा गैरगान्धी नेतृत्व

राजेश मिश्र

नयाँ दिल्ली — भारतको विपक्षी पार्टी कंग्रेसमा २४ वर्षपछि गान्धी परिवारभन्दा बाहिरबाट पार्टी अध्यक्षको चयन हुँदैछ । अगामी १७ अक्टोबरमा पार्टी अध्यक्षका लागि हुने चुनावमा सोनिया, राहुल र प्रियंका गान्धीमध्ये कसैले उम्मेदवारी नदिएपछि पार्टीको नेतृत्व गैरगान्धी परिवारमा जान लागेको हो ।

२४ वर्षपछि भारतीय कंग्रेसमा गैरगान्धी नेतृत्व

शुक्रबार उम्मेदवारी दर्ता गराउने अन्तिम समय थियो । अध्यक्ष पदका लागि मिडियामा छाइरहने बौद्धिक छविका शशि थरुर, केएन त्रिपाठी र मल्लिकार्जुन खड्गेले मनोनयन दर्ता गराएका छन् ।

सन् १९९८ देखि आमा-छोरा सोनिया र राहुलले पार्टीको नेतृत्व सम्हाल्दै आएका छन् । बिजेपीले कंग्रेस पार्टी परिवारवादमा चलेको भन्दै त्यस मुद्दालाई निरन्तर उठाउँदै आएको छ । २४ वर्षको अवधिमा २०१७ देखि २०१९ सम्म राहुल पार्टी अध्यक्ष थिए । राहुलको नेतृत्वमा पार्टीले २०१९ को चुनावमा हार बेहोरेपछि उनले अध्यक्ष पदबाट राजीनामा दिएयता अन्तरिम अध्यक्षका रुपमा सोनियाले जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

राहुलमाथि पुनः अध्यक्ष बन्न कार्यकर्ताको तीव्र दवाव थियो । तर, उनले गैरगान्धी परिवारबाट अध्यक्ष बनाउनु पर्ने अडानमा रहे । सोनिया, राहुल र प्रियंका अध्यक्षको प्रतिस्पर्धामा नभएपछि धेरैले अध्यक्ष बन्ने महत्वकांक्षा देखाएका थिए । राजस्थानका मुख्यमन्त्री अशोक गलहोत, मध्यप्रदेशका पूर्वमुख्यमन्त्री दिग्विजय सिंह लगायत नेताहरूले उम्मेदावर बन्ने बताएका थिए ।

तर अन्तिम अवधिमा तीन जनाको उम्मेदवारी परेको हो । गान्धी परिवारले आफूहरू चुनावमा निरपेक्ष रहेको बताइरहे पनि उनी निकट धेरै नेताहरू कर्नाटकका मल्लिकार्जुन खड्गेको प्रस्तावक बसेकाले सोनिया–राहुलको समर्थन पनि उनलाई रहेको अनुमान गरिएको छ । उनी दलित समूदायका हुन् । उनको पक्षमा २४ जना वरिष्ठ नेताहरू प्रस्तावक बसेका छन् ।

थरुरका भने ९ जना प्रस्तावक छन् । उम्मेदवारी मनोनयनका क्रममा मल्लिकार्जुनले प्राप्त गरेको वरिष्ठ नेताहरूको समर्थनले चुनावी महोललाई उनको पक्षमा पारेको देखिएको छ ।

प्रकाशित : आश्विन १४, २०७९ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?