करिब १ करोड अस्ट्रेलियालीको तथ्यांक चोरी

नारायण खड्का

अस्ट्रुेलिया — अस्ट्रेलियाका करिब एक करोड जनताको व्यक्तिगत तथ्यांक चोरी भएको छ । यहाँस्थित ठूलोमध्येको दूरसञ्चार सेवा प्रदायक कम्पनी अप्टसले करिब एक साताअघि आफ्ना अनुमानित ९८ लाख ग्राहकबाट तथ्यांक चोरी भएको जनाएको थियो । 

करिब १ करोड अस्ट्रेलियालीको तथ्यांक चोरी

अप्टस सिंगापुरको टेलिकम्युनिकेसन लिमिटेडको सहायक कम्पनी हो । यसले अस्ट्रेलियामा रहेका दसौं लाख जनतालाई आफ्नो सेवा दिँदै आएको छ भने यो अस्ट्रेलियाको दोस्रो ठूलो दूरसञ्चार प्रदायक कम्पनीको रूपमा मानिन्छ । कम्पनीले गत साता एक सूचना जारी गर्दै आफ्ना ग्राहकका विभिन्न व्यक्तिगत तथ्यांक चोरी भएको जनाएको थियो ।

कम्पनीले आफ्ना वर्तमान तथा पूर्वग्राहकबाट उनीहरूको नाम, जन्म मिति, ठेगाना, फोन, इमेल, पासर्पोट तथा लाइसेन्स नम्बर चोरी भएको बताएको थियो । उक्त घटना सार्वजनिक भएपछि अस्ट्रेलियामा साइबर सुरक्षामा चुनौती देखिएको विश्लेषण गरिएको छ ।

यो घटना अस्ट्रेलियाको साइबर इतिहासमा सम्भवतः हालसम्मकै सबैभन्दा ठूलो आक्रमण हुन सक्ने बीबीसीले उल्लेख गरेको छ । घटना सार्वजनिक भएपछि कम्पनीले आफ्नो साइबर सुरक्षालाई अझ दरिलो बनाएको जनाएको छ भने कम्पनीकी मुख्य कार्यकारी अधिकृत केली बेयर रोजमरिनले माफी माग्दै कम्पनीसँग कडा साइबर सुरक्षा प्रणाली रहेको बताएकी छन् ।

उनले साइबर आक्रमण रोक्न नसकेकाप्रति आफू निराश भएको समेत उल्लेख गरेको सञ्चारमाध्यमले जनाएका छन् । साइबर आक्रमणबाट ग्राहकको तथ्यांक चोरी भएपछि गत शनिबार एक व्यक्तिले करिब १५ लाख डलर फिरौतीबापत मागेको बीबीसीले जनाएको छ ।

सिड्नीमा रहेका प्रविधि पत्रकार जेरेमी किर्कले उक्त ह्याकरसँग सम्पर्क गरेको र चोरी गरिएका तथ्यांक सहजै निकाल्न सकिने बताएका बीबीसीले उल्लेख गरेको छ । यसका साथै गत मंगलबार ह्याकरले पुनः १० हजार ग्राहकको तथ्यांक सार्वजनिक गरेको भएपनि तत्कालै उक्त डाटा माफी माग्दै हटाइएको थियो ।

अस्ट्रेलियालाई साइबर सुरक्षाको मामिलामा दरिलो राष्ट्रका रूपमा लिइए पनि घटनापछि साइबर सुरक्षामन्त्री क्लेयर ओनिलले साइबर सुरक्षामा अस्ट्रेलिया निकै पछि रहेकोजस्तो देखिएको प्रतिक्रिया दिएकी छन् । उनले यस किसिमका घटना ठूला र विश्वास गरिएका कम्पनीमा नै हुनु आश्चर्यजनक भएको बताएकी छन् ।

अस्ट्रेलियाली गृहमन्त्रीसमेत रहेकी ओनिलले यस घटनाबाट आफू चिन्तित बनाएको र करिब २८ लाख ग्राहकबाट ठूलो मात्रामा व्यक्तिगत डाटा चोरी हुनु चिन्ताजनक भएको बताइन् ।

प्रकाशित : आश्विन १४, २०७९ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?