रुस-युरोप ग्यास पाइपलाइनमा चुहावट

एजेन्सीहरू

बर्लिन — रुसबाट युरोपसम्म आपूर्ति हुने २ वटा प्राकृतिक ग्यास पाइपलाइनमा चुहावट भएको छ । रुसी बन्दरगाह शहर सेन्ट पिटर्सबर्गबाट नर्ड स्ट्रिम–१ र नर्ड स्ट्रिम–२ गरी दुई वटा पाइपलाइन प्रणालीमार्फत जर्मनीसम्म ग्यास आपूर्ति हुन्छ । बाल्टिक समुद्र हुँदै जाने करिब १२ सय किलोमिटर लामा ति पाइपलाइनका ३ स्थानमा चुहावट भएको हो ।

रुस-युरोप ग्यास पाइपलाइनमा चुहावट

नर्ड स्ट्रिम–१ मा सोमबारदेखि दुई फरक स्थानबाट ग्यास चुहावट भइरहेको छ । मंगलबार नर्ड स्ट्रिम–२ पाइपलाइनबाट पनि ग्यास चुहावट भई समुद्रमा भुल्काहरू देखिएको डेनिस अधिकारीहरूले जनाएका छन् । उक्त स्थान डेनमार्कको बोर्नहमस्थित तटीय क्षेत्रनजिक पर्छ । ‘समुद्रमा उठेको ग्यासको भुल्का हेर्दा पाइपलाइनमा ठूलो प्वाल परेको हुने आकलन गर्न सकिन्छ,’ डेनिस विद्युत् प्राधिकरण प्रमुखले रोयटर्ससँगको कुराकानीमा भनेका छन्, ‘चुहावट केही दिन या सातासम्मै हुनसक्छ ।’

रुसले बनाएका यी दुवै पाइपलाइन प्रणाली अहिले चालु अवस्थामा छैनन् । नर्ड स्ट्रिम–१ अन्तर्गत पनि दुई वटा समानन्तर पाइपलाइन छन् । मर्मतका लागि भन्दै गत अगस्टदेखि रुसले यी पाइपलाइन बन्द गरेको छ । तर, दुवै पाइपलाइनमा ग्यास भने रहेको बताइएको छ ।

नर्ड स्ट्रिम–२ का सञ्चालकले सोमबार अपराह्न नै पाइपलाइनमा ग्यासको दबाब घटेको सूचना जारी गरेका थिए । त्यसको केही घण्टापछि नै ग्यास चुहावट भएको खबर बाहिरिएको हो । उक्त सूचनापछि डेनिस अधिकारीहरूले बोर्नहमको तटीय क्षेत्रमा रहेका पानीजहाजहरूलाई सतर्कता अपनाउन भनेका थिए । चुहावट भएको क्षेत्रबाट ५ नटिकल माइल वरपर पानीजहाज लैजान निषेध नै गरिएको छ ।

ग्यास चुहावटको कारण भने हालसम्म खुलेको छैन । पाइपलाइन सञ्चालन गर्दै आएको कम्पनी नर्ड स्ट्रिम एजीले समुद्रमुनि पाइपलाइनमा एकैदिनमा अभूतपूर्व क्षति भएको जनाएको छ । कम्पनीले दुवै पाइपलाइन प्रणालीलाई पुनः यथास्थितिमै सञ्चालन गर्न कति समय लाग्छ भन्ने यकिन नभएको पनि स्पष्ट पारेको छ । चुहावटबारे जर्मन, डेनिस र स्विडिस अधिकारीहरूले पनि छानबिन थालेका छन् ।

रुस–युक्रेन युद्ध सुरु भएपछि रुस र युरोपबिच चुलिएको ऊर्जा संघर्षमा यी दुवै पाइपलाइन केन्द्रविन्दुमा छन् । युक्रेनमाथि युद्ध छेडेसँगै त्यसको विरोधमा पश्चिमा राष्ट्रहरूले रुसमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । जसको विरोधमा रुसले ‘ब्ल्याकमेल’ गर्दै युरोपमा ग्यास आपूर्ति कम गरेको युरोपेली संघले आरोप लगाएको थियो । उक्त आरोपको मस्कोले भने प्रतिवाद गर्दै आएको छ । हाल भएको ग्यास चुहावटलाई पनि रुसले पाइपलाइनमा तोडफोड गरी युरोपलाई तर्साउन खोजेको अपुष्ट स्रोत उल्लेख गर्दै जर्मन मिडियाहरुले दाबी गरेका छन् ।

डेनमार्ककी प्रधानमन्त्री मेटी फ्रेडेरिक्सनले भने तत्कालै कुनै निष्कर्षमा पुग्नु अति नै छिट्टो हुन जाने प्रतिक्रिया दिएकी छन् । तर, धेरै स्थानमा एकैसाथ चुहावट हुनुलाई संयोग मात्रै पनि मान्न नसकिने उनको भनाइ छ । क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभले घटनालाई लिएर गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । यसबाट रुसले कुनै आक्रमण गर्नसक्ने सम्भावनालाई भने उनले खारेज गरिदिएका छन् ।

प्रकाशित : आश्विन १२, २०७९ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?