ईपीएस कामदारलाई पेन्सन बिमामा सहभागी गराउन माग- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ईपीएस कामदारलाई पेन्सन बिमामा सहभागी गराउन माग

गोकुल थोकर

सोल — रोजगार अनुमति प्रणाली ईपीएसमार्फत दक्षिण कोरियामा रहेका कामदारहरूले राष्ट्रिय पेन्सन बिमा (खुकमिन एनगुम) मा सहभागी गराउन माग गरेका छन् । श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवर र ईपीएस कोरिया शाखाका निर्देशक पुष्प कटुवालसँगको भर्चुअल बैठकका क्रममा कामदारहरूले उक्त माग राखेका हुन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा १६ वटा देशका कामदार आउँछन् । त्यसमध्ये थाइल्यान्ड, फिलिपिन्स, इन्डोनेसिया, श्रीलंका, चीन, भियतनाम र किर्गिस्थानका कामदारले मात्रै कोरियाली राष्ट्रिय पेन्सन बिमा पाइरहेका छन् । ‘पेन्सनमा सहभागी कामदार घर जाँदा हाम्रोभन्दा धेरै राम्रो पैसा पाउँछन् । नेपालले पनि समयमै यो प्रणालीमा सहभागी भएको भए कोरिया आउने हामी कामदार लाभान्वित हुन्थ्यौं,’ दक्षिण कोरियाको योङइनमा काम गर्ने अजय सोडारीले भने ।

कोरियाली राष्ट्रिय बिमामा कामदारको ४.५ प्रतिशत र रोजगारदाताका तर्फबाट ४.५ प्रतिशत गरी ९ प्रतिशत पैसा जम्मा गर्नुपर्ने नियम छ । ‘एउटा कामदारले पाँच वर्ष काम गर्‍यो भने घर जाने समयमा अहिलेकै तलबले पनि १२ लाख रुपैयाँभन्दा बढी पैसा पाउँछ,’ ख्याङ्गीदो नाम्याङमा काम गर्ने पूर्णमान तामाङले भने ।

यस्तो सुविधाका लागि नेपाल सरकारले पहल गर्नुपर्ने कार्यक्रम आयोजकमध्येका एक गुरुदत्त न्यौपानेले बताए । रोजगार अनुमति प्रणाली (ईपीएस) बारे हुन लागेको नयाँ एमओयूमा नेपाली कामदारलाई पनि राष्ट्रिय पेन्सन बिमामा सहभागी गराउने मन्त्री शेरबहादुर कुँवरले आश्वसन दिएका जनाइएको छ ।

प्रकाशित : आश्विन १०, २०७९ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्

सडक विस्तारले २ विद्यालय पहिरोको जोखिममा

विप्लव महर्जन

सल्यान — सडक विस्तारका क्रममा २ विद्यालय पहिरोको जोखिममा परेका छन् । खलंगा–बालुवासंग्रही सडक निर्माणका क्रममा बन्गाडकुपिण्डे नगरपालिका–८ ज्यामिरेस्थित महादेव आधारभूत विद्यालय र बाग्चौर नगरपालिका–१२ ओखरेनीस्थित बालजागृत आधारभूत विद्यालय पहिरोको जोखिममा परेका हुन् ।

सडक विस्तारका क्रममा दुवै विद्यालयको तल–माथिबाट पहिरो खस्न थालेको हो । पहिरोकै जोखिमका कारण पानी परेको बेला विद्यालय सञ्चालन गर्न समस्या भएको महादेव आधारभूत विद्यालयकी प्रधानाध्यापक कमला आचार्यले बताइन् ।

‘विस्तारका क्रममा विद्यालयले चर्चेको ३ मिटर जग्गा सडकमै पर्‍यो । जसका कारण विद्यालय भवन भत्किने जोखिम बढेको हो,’ उनले भनिन्, ‘सडकमा गाडी चल्दा र डोजर चलाउँदा विद्यालय भवन थर्किने गरेको छ ।’ कक्षा १ देखि ५ सम्म पढाइ हुने यो विद्यालयमा ७० विद्यार्थी छन् । विद्यालयमा दुई वटा पुराना र एउटा नयाँ भवन छ । जसमध्ये पराना दुवै वटा भवन जोखिममा परेको उनले बताइन् ।

विद्यालयमुनिबाट बगेको खोला छेवैबाट सडक खन्दा भवन जोखिममा परेको बालजागृत आधारभूत विद्यालयका प्रधानाध्यापक वीरबहादुर ओलीले बताए । उनका अनुसार ३ वर्षअघि विद्यालयमाथि र मुनि दुवैतिरबाट पहिरो खसेको थियो । उक्त पहिरो रोकथाम नहुँदै सडक खनिएपछि विद्यालय भवन थप जोखिममा परेको हो ।

‘पहिरोबाट बचाउन पक्की पर्खाल तथा तारजाली लगाउन नगरपालिकामा माग गरे पनि बेवास्ता भयो,’ उनले भने, ‘विद्यालय सार्न सके बालबालिका सुरक्षित हुने थिए ।’ २०४६ सालमा स्थापना भएको यो विद्यालयमा पनि ७० विद्यार्थी नै अध्ययनरत छन् ।

प्रकाशित : आश्विन १०, २०७९ २१:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×