सिरियाको समुद्रमा डुंगा पल्टिँदा ७० जनाको मृत्यु- विश्व - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिरियाको समुद्रमा डुंगा पल्टिँदा ७० जनाको मृत्यु

एजेन्सी

काठमाडौँ — लेबनानबाट आप्रवासी तथा शरणार्थीहरू चढेको डुंगा सिरियास्थित समुद्री किनारमा दुर्घटना हुँदा कम्तीमा ७० जनाको मृत्यु भएको छ । सिरिया र लेबनानी सरकारका अनुसार उक्त दुर्घटनामा जीवीत उद्धार गरिएका २० जनाको उपचार भइरहेको छ ।

टर्टोसस्थित बसेल अस्पतालमा उनीहरूको उपचार भइरहेको सिरियाली सरकारले जनाएको छ । सिरियाली यातायात मन्त्रालयले मंगलबार लेबनानको उत्तरी मिन्येह क्षेत्रबाट १२० देखि १५० जना यात्रु डुंगामा यात्रा गरिरहेका थिए ।

सिरियाली बन्दरगाहका महानिर्देशक समेर कुब्रुस्लीले शुक्रबार उनीहरूको खोजी कार्य जारी रहेको बताएका छन् । समेर कुब्रुस्लीले तीव्र हावाका कारण उनीहरूको खोजी कार्यमा कठिनाइ भएको बताए । पछिल्लो समय संकटका कारण लेबनान, सिरिया र प्यालेस्टाइनबाट भागेर युरोप प्रवेश गर्नेहरूको संख्या बढ्दो क्रममा छ । उनीहरू यसरी युरोप जानका लागि जोखिम मोलेर समुद्री र अवैध बाटो अपनाउने गर्छन् ।

हाल डुंगा दुर्घटनाको क्रममा भएको मानवीय क्षतिलाई यसरी युरोप जाने क्रममा भएको सबैभन्दा ठूलो घातक दुर्घटनाको रुपमा व्याख्या गरिएको छ । मृत्यु हुनेमध्ये केही उत्तरी लेबनानस्थित अक्करबाट पनि आएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। साथै केही किशोरीहरू पनि थिए ।

लेबनानमा मात्रै दसौं हजार मानिसहरूले आफ्नो जागिर गुमाएपछि यहाँ बेरोजगारी संकट उत्पन्न भएको बताइन्छ । साथै लेबनानी मुद्राको मूल्य घटेपछि पनि यहाँ थुप्रै आर्थिक समस्या बढेको हो । जसले लेबनानमा गरिबी बढेको छ ।

प्रकाशित : आश्विन ७, २०७९ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रकविको ‘ऋतम्भरा’ सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रकवि माधवप्रसाद घिमिरेको महाकाव्य ‘ऋतम्भरा’ सार्वजनिक भएको छ । सोह्रखुट्टेस्थित लेखनाथ साहित्य सदनमा शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मा, घिमिरेकी श्रीमती महाकाली घिमिरेलगायतले महाकाव्यको लोकार्पण गरे ।

‘ऋतम्भरा’ राष्ट्रकवि घिमिरेको बहुप्रतीक्षित र जीवनभरिको तपस्याका रूपमा लिइन्छ । यसको सिर्जनाका निम्ति उनले लगभग ८ दशकको समय लगाएका थिए । आफ्नो जीवनकालमै उनले महाकाव्यलाई पूरा गरेर प्रकाशित गर्ने अठोट लिए पनि पूरा हुन सकेन । महाकाव्यको लेखनी काम पूरा गरे तर आफैंले सार्वजनिक गर्न पाएनन् । दुई वर्षअघि २०७७ भदौ २ मा कोरोना महामारीकै समयमा घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको थियो ।

विश्वमा विज्ञान प्रविधिको विकासपश्चात् अणुशक्ति उत्पादन र सञ्चय गरी अणुयुद्ध थालनी भयो । मानव सभ्यता नै खतरातिर उन्मुख हुन थालेपछि विश्वलाई सही मार्गतिर केन्द्रित गर्ने प्रयत्नस्वरूप ‘ऋतम्भरा’ को रचना भएको घिमिरेले महाकाव्यको भूमिकामा उल्लेख गरेका छन् । वेद, उपनिषद्, वैदिककालीन परम्परा, समय, सत्य, जीवन दर्शनका पक्षहरू यसमा समेटिएका छन् । भूमिकामा उल्लेख भएअनुसार ऋग्वेदमा ऋतसत्य र ध्रुवसत्य अर्थात् चलायमान सत्य र निश्चल सत्य । यिनै तीन मन्त्रलाई ‘ऋतम्भरा’ का मूल आधारका रूपमा घिमिरेले लिएका छन् । उनले महाकाव्यमा काव्य नायिकाका रूपमा राजा रथवीतिकी छोरी ‘ऋतम्भरा’ लाई उभ्याएका छन् भने काव्य नायकका रूपमा श्यावाश्व छन् । जहाँ वैदिक परम्परामा ऋतम्भराको बाल्यकाल, यौवनकाल, दुईबीचको प्रेम, विवाह जस्ता पक्षहरू छन् । उनले उल्लेख गरेका छन्, ‘जुन ज्ञान सुनेर अथवा प्राप्त गरिँदैन र ती दुईभन्दा अन्य विशेष खालको, एक प्रकारको व्यक्तिगत किसिमको हुन्छ, त्यही नै ऋतम्भरा हो ।’

महाकाव्यलाई घिमिरेको इच्छाअनुसार नै साझा प्रकाशनद्वारा नै प्रकाशित गरिएको छ । साझालाई माथि उठाउनुपर्छ भन्ने उनको इच्छाअनुसार नै पुस्तक प्रकाशन गरिएको छोरा राजीव घिमिरेले बताए । ‘साझालाई अप्ठ्यारो परेको छ । यसलाई छोड्नु हुन्न भनेर बुबाले भन्नुहुन्थ्यो,’ उनले भने, ‘जे जस्तो रूपमा छ, त्यस्तै निकाल्नु र साझालाई छाप्न दिनु भन्ने उहाँकै इच्छालाई शिरोपर गर्दै यसलाई ल्यायौं ।’ बुबाकै रूपमा ‘ऋतम्भरा’ लाई ल्याएको उनले सुनाए । आफ्नो बुबाको निधनपछि खाटको तल सिरानीतिर तीन वटा पोकोमा जतनसाथ राखिएको ‘ऋतम्भरा’ को खेस्रा तथा साफी रूपलाई परिवारले लामो समयको पहलपछि पुस्तककार रूपमा ल्याउन सफल भएकामा छोरा राजीवले हर्ष प्रकट गरे । महाकाव्यमा सर्ग १० र १२ मा चार–चार वटा गीतहरू खाली छन् । मन्त्रहरूको सँगालोकै रूपमा रहेको महाकाव्यको यस खाली स्थानमा समेत विशेष अर्थ होला भन्ने उनले अनुमान लगाए ।

साझाका महाप्रबन्धक प्रह्लाद पोखरेल र डा. लेखप्रसाद निरौलाले घिमिरेको महाकाव्यलाई गीतिमन्त्रका रूपमा व्याख्या गरे । महाकाव्यबारे प्रस्ट्याउँदै निरौलाले नेपाली वाङ्मयमा वैदिककालको मन्त्र द्रष्टाका रूपमा रहने बताए । महाकाव्यले घिमिरे कवि मात्र नभएर एक ऋषिका रूपमा जन्म भएको उनले ठहर गरे । उनका अनुसार महाकाव्यमा सत्यको शाश्वत विश्वास, संसार र जीवन दर्शन भेट्टाउन सकिन्छ ।

घिमिरेको महाकाव्यले साझा मात्र नभएर नेपाली वाङ्मय क्षेत्रलाई नै उठाउने कुलपति उप्रेतीले जिकिर गरे । उनले भने, ‘उहाँको यो कृति नेपाली वाङ्मय क्षेत्रका लागि आशीर्वाद हो । यसैबाट साझालाई उठाउने उहाँको चाहना आज मुखरित भएको छ ।’

प्रकाशित : आश्विन ७, २०७९ २१:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×